arrow

भैरहवा विमानस्थलमा चिनियाँ झण्डा फहराइएकोप्रति युनियनको आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
china-flageee-airport.jpg

काठमाडौं । नेपाल डेमोक्रेट युनियनले यही कार्तिक ६ गते नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी भैरहवा विमानस्थल जाँदा चिनियाँ झण्डा फहराइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनका अध्यक्ष सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै उक्त घट्नाको राष्ट्रपति वा उनको कार्यालयले विरोध नगरेकोबाट घटना राष्ट्रपतिको निम्ति आपत्तिजनक नभएर स्वीकार्य र स्वागतयोग्य रहेको प्रमाणित भएको जनाएका छन् ।

‘त्यसरी चिनियाँ झण्डा फहराएर गरिएको स्वागतलाई राष्ट्रपति भण्डारीले जसरी सहजतासाथ स्वीकार गर्नुभयो, त्यो देश प्रतिको गद्दारीको सबैभन्दा ठूलो र ज्वलन्त प्रमाण हो भन्ने हाम्रो ठहर छ । आजको मितिसम्म पनि राष्ट्रपति वा उहाँको कार्यालयले उक्त घटनाको विरोध नगरेकोबाट सो घटना राष्ट्रपतिको निम्ति आपत्तिजनक नभएर स्वीकार्य र स्वागतयोग्य रहेको प्रमाणित भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

युनियनले नेपाललाई कम्युनिष्ट चीनको पोल्टामा हाल्ने नेपाली कम्युनिष्टहरुको चाहना, चौतर्फी प्रयास र साझा षडयन्त्रलाई राष्ट्रपतिको पदमा रहेर पनि पार्टी राजनीति गर्न तत्पर रहने विद्यादेवी भण्डारीको माध्यमबाट यस घटनाले उदांग पारेको पनि जनाएको छ । त्यस्तै युनियनले राष्ट्रपतिको अक्षम्य अपराध र गद्दारी गरेको भन्दै सरकारले राष्ट्रपति भण्डारीलाई महाभियोग मार्फत तत्काल अपदस्थ गर्न माग समेत गरेको छ ।

‘प्रजातन्त्रप्रेमी एवं राष्ट्रवादी नेपाली जनता चीनको उक्साहट र सक्रियता तथा नेपाली कम्युनिष्टहरुको समर्थनमा भएको यस राष्ट्र विरोधी कार्यलाई कदापि सहन तयार छैनन् । चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल प्रतिनिधी पहिला पहिला नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको विरोधमा हामी विरोध गरेका थियौं तर उनी त नेपाललाई तिब्बत पो बनाउन थालेको रहेछिन’ विज्ञप्तिमा भनिएको छ ।

युनियनले प्रजातन्त्र एवं राष्ट्रियताको पक्षमा नेपाली जनतासँग काँधमा काँध मिलाएर संघर्ष तथा नेतृत्व गर्न तयार रहेको र नेपाललाई चीनको पोल्टामा सुम्पन चाहने नेपाली कम्युनिष्टहरुबाट नेपाललाई मुक्त गराउन जोडदार माग गरेको छ ।

चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको उक्त विमानस्थलमा कामदारहरुले आफ्नो देशको झन्डा राखेको विमानस्थल स्रोतले जनाएको छ ।

चिनियाँ कामदारहरुले कार्यालय, कोठा र बैठक कक्षमा समेत चिनियाँ झन्डा राख्‍ने गरेका छन्। कार्तिक ६ गते विमानस्थलमा बुद्धको मूर्ति अनावरणका क्रममा नेपालसहित चीन र स्पेनको झन्डा राखिएको थियो । ठेकेदार कम्पनीले विमानस्थलमा टाढैबाट देखिने गरी झन्डा नियमित फहराउनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ