- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बनाएको समितिले मङ्गलवार प्रतिवेदन बुझाएको छ । गृहमन्त्री बालकृष्ण खाँणलाई छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका हुन् ।
गौतमको संयोजकत्वमा गठित नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको छानबिन समितिले छानबिनबाट भेटिएका प्रमाणले तीनै स्थानमा आत्महत्या भएको पुष्टि गरेको दाबी प्रतिवेदनमा गरेको छ ।
गृहमन्त्री खाँणको मन्त्रीस्तरीय निर्णयबाट कात्तिक एक गते जिल्ला प्रहरी कार्यालय सुनसरीको पुरुष हिरासत कक्षमा गत असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-५ का २९ वर्षीय मोहम्मख हकिमले झुन्डिएर गरेको आत्महत्या, इलाका प्रशासन कार्यालय टिकापुर कैलालीको हिरासत कक्षमा भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएका सुर्खेतको चौकुने गाउँपालिका-३ बस्ने ३५ वर्षीय धनबहादुर रानाले असोज २५ गते झुन्डिएर गरेको आत्महत्या र कारागार कार्यालय पर्वतमा जबरजस्ती करणी कसुरमा थुनामा रहेका बन्दी जिल्लाको फलेवास नगरपालिका-७ का ५८ वर्षीय दुर्गाराज पाण्डेले झण्डिएर गरेको आत्महत्याबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।
प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या भएको पुष्टि भएको बताए ।
समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदी बन्दीलाई मनोसामाजिक परामर्श दिनुपर्ने, थुनुवालाई निःशुल्क कानुनी परामर्श दिनुपर्ने, हिरासत कक्षमा सुरक्षा निगरानी गर्नु पर्ने, हिरासत कक्षमा राखिएका सिसिटिभीलाई रेकर्डिङ र मोनिटरिङ गर्ने व्यवस्था गर्नु पर्ने लगायतका सुझाव दिएको छ ।