arrow

नेपाली चेलीहरुको ऐतिहासिक ‘क्लिन स्विप’, पालो विश्वकप छनोटको

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
nepal-cricket-women-t20-qat.jpg

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले ऐतिहासिक ‘क्लिन स्विप’ गरेको छ । नेपालले कतार विरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिजमा ३–० को जितसहित क्लिन स्विप गरेको हो ।

नेपालले तीन वटै खेलमा शानदार खेल्यो । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा भएका खेलमा घरेलु टोलीमाथि नेपाल हावी भयो । पहिलो खेलमा ११९ रनको कीर्तिमानी जित, दोस्रो खेलमा ६१ रनको जित र तेस्रो खेलमा बिहीबार १०९ रनको जित हासिल गरेको हो । 

नेपालले पहिलो अन्तर्राष्ट्रिय टी–२० सिरिजमै क्लिन स्विप गर्न सफल भएको हो । 

यस्तो रह्यो अन्तिम खेल 
नेपालले दिएको १६५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कतारले ७ विकेटको नोक्सानीमा ५५ रन जोड्न सक्यो । अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रन बनाइन् । 

नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वतीकुमारी चौधरी र सबनम राईले समान १–१  विकेट लिए । 

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ३ विकेटको नोक्सानीमा १६४ रनको कीर्तिमानी योगफल बनायो । नेपालले टी–२० मा बनाएको यो हालसम्मकै उच्च योगफल हो । 

रेकर्ड दर्ता भएको खेलमा सीता राना मगरले नटआउट रहँदै ८२ रन बनाइन् । उनले ७२ बलमा उक्त योगफल जोडेकी हुन् । उनको यो पहिलो टी–२० अर्धशतकसमेत हो ।

यस्तै ज्योती पाण्डेले २४ रन बनाइन् । सरिता मगर १७ रनमा नटआउट रहिन् ।

आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग यो सिरिज खेलेको हो । 

यूएईको दुबईमा आगामी नोभेम्बर २२ देखि २८ सम्म विश्वकप छनोट हुनेछ । नेपालसँगै आयोजक यूएई, हङकङ, भुटान, कुवेत र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । 

कतारविरुद्ध खेलेको खेलको लय अब यूएईमा पनि नेपाली चेलीहरुले देखाउने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ