arrow

मिडियामा समलिङ्गी/तेस्रोलिङ्गी समुदायका अधिकारका मुद्दालाई अझै प्राथमिकता दिन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
bela-foundation.jpg

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक(समलिङ्गी/तेस्रोलिङ्गी) समुदायका अधिकारका मुद्दालाई नेपाली मिडियाहरुले स्थान दिने गरेको भएपनि त्यो पर्याप्त नभएको आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

बेला फाउण्डेशनको संयोजन तथा ह्यूमन राइट्स फिल्म सेन्टर र हाइ कमीसन क्यानाडाको सहयोगमा भएको अन्तरक्रियामा सहभागीहरुले समलिङ्गी तेस्रोलिङ्गी‘एलजीबीटीआई’ समुदायका लागि मिडियाहरुले प्राथमिकताका साथ समाचारहरु प्रकाशन प्रसारण गर्ने गरेको तर समूदायको अधिकार पूर्ण स्थापित गराउन त्यो पर्याप्त नभएको धारणा राखेका हुन् ।

कार्यक्रममा अनलाइन खबरका सम्पादक एवं पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले मिडियाहरुमा समुदायले स्थान पाईरहेको तर सोही समुदायका व्यक्तिहरुको तदारुकता पनि जरुरी रहेको बताए  ।

उनले भने,‘ मिडियाले यो समुदायका लागि के गर्नुपर्छ, त्यो सम्पादककै टेबलमा आएर ठोकेर भन्नुपर्दछ, अनि मात्र कभरेज हुन्छ । मिडियाले यो लेख्यो, लेखेन् भन्नुभन्दा समुदायका लागि मिडियाले के गर्नुपर्ने हो, के गर्दा ठिक हुन्छ भन्ने लाग्दछ, त्यो प्रष्ट रुपमा मिडियालाई जानकारी गराउनुपर्दछ ।’

सोही समूदायका मुद्दामा कलम चलाउँदै आएका पत्रकार माधव दुलालले समुदायका बिषयमा सरकारी निकायले बोल्न नचाहनु, सरकारलाई यो समुदायले झकझकाउन नसक्नु, प्रष्ट तथ्यांक आउनेगरी जनगणनामा समावेश नगरिनु लगायतका समस्या रहेको औल्याए । उनले भने, ‘हामी पत्रकार साथीहरुले यसमा सहयोग त गरिरहेका छौं तर, यो समुदायमा नै एकरुपता नहुनु, पत्रकारहरुलाई नै धम्काउने लगायतका प्रबृत्तिले पनि गाह्रो भएको छ ।’

अधिवक्ता सुजन पन्तले समुदायका बिषयमा कानुनी हिसाबले धेरै कुराहरु गरेको तर केही अधिकारहरु भने क्रमशः पुरा हुँदै जानेमा जोड दिए । उनले यसरी अधिकार स्थापित हुनुमा एलजीबीटीआई समुदायहरुले गरेका विभिन्न ‘मुमेन्ट’हरुकै कारण स्थापित भएको बताए । कार्यक्रममा मानवअधिकारकर्मी बिष्णु खत्रीले यो समुदायका व्यक्तिहरुलाई पनि पत्रकारका संगठनहरुको नेतृत्व तहमा समेत लैजानुपर्ने भन्दै मिडियामा समुदायका बिषयमा ‘फलोअप’ समाचारहरु आउनुपर्ने जनाए ।

तेस्रोलिङ्गी अधिकारकर्मी एवं नीलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले आफ्नो समुदायका लागि करिब २० बर्षमा धेरै परिवर्तनहरु भएतापनि केहि अधिकारका बिषयहरु परिवर्तन हुने क्रममा रहेको जानकारी गराइन। उनले आफ्ना समुदायका समाचारहरु धेरै आउने गरेको भएपनि कहिलेकांही समाचारलाई पठनीय बनाउने नाममा गलत समाचारहरु समेत आउने गरेको गुनासो गर्दै त्यसमा कमी ल्याउनुपर्ने बबताइन । अझ युटुबमा आउने समाचारहरुले त आफूहरुलाई मानसिक समस्या समेत पर्ने गरेको उनको भनाइ छ । उनी थप्छिन्, ‘आफ्नो भ्युअर बढाउने नाममा हामीलाई मजाकको बिषय बनाउँदा दुःख लाग्छ ।’ नेपाली मिडियाहरुमा आफ्नो समुदायभित्र पनि फरक–फरक पहिचान भएकाहरुलाई फरक किसिमले स्थान दिईनुपर्ने उनको माग छ ।

कार्यक्रममा महिला, बालबालिका समाज कल्याण मन्त्रालयका उपसचिव भरत शर्माले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अधिकारका लागि पहिचानका हिसबाले कानुनहरुको निर्माण भएको भएपनि कार्यान्वयनको पक्ष फितलो भएको स्वीकार गरे ।

उनले यो समुदायका अधिकारका लागि सबैभन्दा पहिला परिवार र समाजले स्वीकार्ने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिदै यसका लागि मिडियाहरुले समाचार सम्प्रेषण गर्नुपर्ने र राज्य र अन्य संस्थाहरुले त्यसमा साथ दिनुपर्ने बताए । जनगणनामा समुदायको तथ्याङ्क संकलनमा कमजोरी भएको बताए ।

कार्यक्रममा लामो समयदेखि समूदायकै बिषयमा कलम चलाईराखेका पत्रकार युवराज गौतमले समलिङ्गी तथा तेस्रोलिङ्गीका बारेमा नेपालको मिडियामा भए गरेका प्रयासहरुको बारेमा कार्यपत्र र अनुभव प्रस्तुत गरेका थिए । उनले मिडिया हाउसहरुको सम्पादकीय नीतिमा समूदायका मद्दाहरु प्राथमिकतामा राखिए मात्र अधिकार स्थापना गराउन सहज हुने निष्कर्ष सुनाए ।

कार्यक्रममा बेला फाउण्डेसनकी अध्यक्ष आरती लम्सालले भविष्यमा पनि यस्ता कार्यक्रमहरुबाट बिभिन्न समुदाय लक्षित बहस कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्वता जनाइन। फाउण्डेशनले आयोजना गरेको कार्यक्रमलाई नयाँ दिल्लीमा रहेको हाई कमिसन क्यानडा र ‘ह्युमन राइर्टस फिल्म सेन्टर’ले सहकार्य गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ