- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका माग प्रति स्थानीय सरकारले वास्ता नगरेको भन्दै यहाँको तल्कोट गाउँपालिकाका शिक्षकहरू आन्दोलित भएका छन् । नेपाल सरकारले निर्धारण गरेको तलब भत्ता दिन स्थानीय सरकारले आनाकानी गरेको भन्दै शिक्षकहरू आन्दोलित भएपछि तल्कोट गाउँपालिकाका ३० वटा विद्यालयहरूको पठन पाठन चार दिन देखि ठप्प भएको छ ।
शिक्षकहरूले बिद्यालय बन्द गरि गाउँपालिकामा धर्ना बसेपछि आइतबार देखि गाउँपालिकाको कामकाज समेत बन्द गरेका छन् । शिक्षकहरूले गाउँपालिकाको मुलगेटमा धर्ना बसेर गाउँपालिकाका कर्मचारीहरूलाई गाउँपालिकाको कार्यालयमा जान समेत रोक लगाएर पछि गाउँपालिकाको दैनिक कामकाज समेत प्रभावित बनेको छ ।
नेपाल सरकारको आर्थिक वर्ष ०७८-०७९को नीति तथा कार्यक्रममा विद्यालयहरूमा कार्यरत बाल कक्षा शिक्षक,सहयोगी कार्यकर्ता, गाउँपालिका स्वयम् सेवक शिक्षक ,विद्यालय कर्मचारीहरूलाई सङ्घीय सरकारबाट आठ हजार रुपियाँ र स्थानीय सरकाबाट सात हजार रुपियाँ गरि १५ हजार दिने समावेश गरिएको थियो ।
सङ्घीय सरकाबाट पाउने सुविधा मात्र पाए पछि गाउँपालिकाले दिने सेवा नदिएको भन्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा आन्दोलन गरिएको हो । गाउँपालिकामा कार्यरत सबै शिक्षकहरू अहिले विद्यालय जान छोडेर गाउँपालिकाका कार्यालयमा धर्नामा बसे पछि यहाँका ३० वटा विद्यालयको पढाई चार दिन दिन बन्द रहेको छ ।
नेपाल शिक्षक महासङ्घ तल्कोट गाउँपालिका अध्यक्ष भक्त बहादुर बमले भने, “हामीले स्थानीय सरकारको बजेट विनियोजन प्रक्रिया हुनुभन्दा अगाडी नै शिक्षकहरूले पाउनु पर्ने सुविधा पाउनु पर्ने, स्थानीय पाठ्यक्रम छिटो निर्माण गरिनु पर्ने , शैक्षिक गुणस्तर सुधारका लागी तालिम , सेमिनार गर्नु पर्ने लगायतका माग राखेका थियौ । पटक पटक स्थानीय सरकार ध्यानाकर्षण गरेको भए पनि हाम्रा माग प्रति बेवास्ता गरे पछि विद्यालय ठप्प गरेर गाउँपालिकामा धर्ना बस्नुपर्ने अवस्था आएको हो ।” उनले स्थानीय सरकारले हाम्रा माग प्रति अझै सम्म पनि सुनुवाइ गर्ने छाटकाट देखिएको छैन र वार्ताका लागी कुनै पहल नभएको बताए ।
करोना महामारीका कारण लामो समय देखि बन्द रहेका विद्यालयहरूमा भरखरै पढाई सुरु भएको भए पनि यसरी बिचमा पढाई बन्द हुँदा आफ्ना नानी बाबुहरूको भविष्यमा नराम्रो असर पर्ने भन्दै अभिभावक भने चिन्तित बनेका छन् ।
स्थानीय अभिभावक प्रकाश सिंहले भने, यती लामो समय देखि शिक्षक आन्दोलनमा रहेको सबैले थाहा पाउँदा पाउँदै स्थानीय सरकारको गैर जिम्मेवारी भएको हो । उनले शिक्षकहरूलाई वार्तामा बोलाएर समस्या समाधान गर्न तर्फ स्थानीय सरकारले चासो दिनु पर्ने बताए ।
यता गाउँपालिका अध्यक्ष लाल बहादुर विष्टले भने आफू जिल्ला बाहिर रहेकाले जिल्ला आएपछि वार्ता टोली गठन गरि समस्या समाधान गरिने बताए । उनले शिक्षकहरूका माग प्रति आफू संवेदनशील भएको बताउँदै शिक्षकहरू सँग समन्वय गरि आफू नआउन सम्म आन्दोलन स्थगित गर्न आग्रह गरेको बताए ।
गाउँपालिका भित्र ५९ जना स्वयम् सेवक शिक्षक,२५ जना बाल कक्षा शिक्षक, ३० जना सहयोगी कार्यकर्ता र ४ जना विद्यालय कर्मचारीहरू रहेका छन् ।