- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एक पटक एक राजा भगवान् बुद्धको दर्शन गर्न आफ्नो मनमा आशय जगाउँदै एउटा हातमा आभूषणहरूको थैली अनि अर्को हातमा एउटा राम्रो गुलाफको फूल लिएर गए । भगवान् बुद्धलाई प्रणाम गरेर जसै राजाले आफ्नो हातको रत्नजडित आभूषण भगवान् बुद्धलाई दिन अगाडि बढे, बुद्धले मुस्कुराएर भने, 'यसलाई तल फ्याँकिदेऊ ।'
राजालाई मनमा नराम्रो त लाग्यो, तर भगवान् बुद्धले फ्याँक भनेपछि उनले आभूषण फ्याँकिदिए। राजाले गुलाफमा केही आध्यात्मिकता र प्रकृतिको सौन्दर्य भएको कारण बुद्धलाई अस्वीकार गर्ने छैनन् भन्ने सोचेर फेरि अर्को हातमा समातेको गुलाफको फूल दिन लागे , तर जसै फूल दिन हात अगाडि बढाए, बुद्धले फेरि भने,'यसलाई तल फ्याँकिदेऊ ।'
राजा एकदमै विचलित भए, अशान्त भए। उनले भगवान् बुद्धलाई केही दिन चाहन्थे, तर अब उनकोमा दिने केही चीज रहेको थिएन । तब राजाले सोचे, कुनै चीजहरू भेट चढाउनुभन्दा यदि मैले आफै-आफलाई नै भेट चढाएँ भने धेरै राम्रो होला कि? यो ख्याल आउन साथै राजाले जब आफै-आफलाई भगवान् बुद्धलाई भेट चढाउन चाहे, तर उनले फेरि त्यही भने, यसलाई तल फ्याँकिदेऊ ।
उनको यो सबै क्रियाकलाप भगवान् बुद्धका शिष्यहरूले पनि हेरिरहेका थिए । राजाको स्थिति देखेर सबै हाँस्न थाले । तब राजालाई बोध भयो 'म' आफैँ-आफलाई भेट चढाउँछु, यो शब्द भन्नुमा कति ठुलो अहङ्कार छ। 'म' आफै-आफलाई समर्पित गर्छु, यसो भन्दैमा समर्पण हुन सक्दैन, किनभने 'म' त हटेको छैन, त्यो समर्पण कहाँ भयो?
यो बोध हुनसाथै राजा स्वयं भगवान् बुद्धको चरणमा परे, तब भगवान् बुद्धले उसलाई भने-'बुद्ध शरणं गच्छामि, बुद्ध शरणं गच्छामि' अनि राजालाई आफ्नो सङ्घमा सामेल गरे । एक दिन त्यही राजाले बौद्ध भिक्षुक बनेर सत्यको मार्गको ज्ञान प्राप्त गरे।