arrow

लोकवार्ताः एक अभियान  

logo
शीतल गिरी,   
प्रकाशित २०८१ असार २२ शनिबार
sheetal-giri-81-3-22.jpg

आधुनिक समाज धेरै चिजका लागि लोकको ऋणी छ— यसकारण लोकवार्ता परिषद् अभियानको रूपमा लोकले गर्ने गरेको खेतीपातीको तरिका, बीउबिजन, लोकले बाँसको चोयाबाट बनाउने विभिन्न सामान, लोकल प्रविधिले बनेको खोलाको काठेपुल, लोकको बाजा, लोकको गीत संरक्षण गरिनुपर्छ । सोबारे अध्ययन गरिनु पर्छ र पछिल्ला पुस्ताले यथार्थ थाहा पाउनु पर्छ । हो, यस्तै कार्यलाई अभियान बनाएर हिँड्ने गरेको छ । लोकको बीचमा गएर गरिएको सङ्गोष्ठी धेरै प्रभावकारी हुन्छ भन्ने विद्वानहरूको मत छ ।     

२०७५ सालमा लोकमा पाइने रामकथा र बुद्ध सर्किट भ्रमणलाई अभियान बनाएर अघि बढ्यौं । अनुसन्धानमा अग्रसर अनुसंधाताको एउटा जम्बो टोली लिएर लोकवार्ता अभियानका अध्यक्ष प्रा.डा.प्रेम खत्रीको नेतृत्वमा लुम्बिनीस्थित कोरियन धर्मशालामा चार रात बसेका थियौँ । सातौँ लोकवार्ता राष्ट्रिय सम्मेलन कपिलवस्तुको तौलिहवामा उद्घाटन गरिएको थियो — संयोजक विक्रममणि त्रिपाठीको व्यवस्थापनमा ।     

कपिलवस्तुको तौलिहवास्थित नगरपालिकाको सभाकक्षमा भव्यतापूर्वक उद्घाट्न भयो । त्यहाँ लोकवार्ता विषयक कार्यपत्र प्रस्तुत गर्ने काममात्र गरिएन । लोकवार्ता अभियानको औचित्य बुझाउने कार्य गरियो, स्थानीयसँग नजिकिएर अवधि गीतको मर्म छामियो—     

लोकवार्ताको नाममा अनुसन्धानकर्ता विद्वान सुविधा सम्पन्न ठाउँमा बसी सुनेको भरमा लेखन गर्ने कार्य गरिनु हुन्न । लोकको बीचमा अनुसन्धाता पुग्नुपर्छ । अनुसन्धाताले लोकको माया पाउनु पर्छ । कपिलवस्तु चयन गर्नुको अर्थ हामीले बुद्ध सर्किट भ्रमण गर्ने कार्यक्रम बनाएको हुँदा भ्रमण पनि मजैले गर्यौं । शाक्यवंशको राजधानी कपिलवस्तुमा रहेको दरवारको भग्नावशेषले हामीलाई लोभ्यायो । ईसा पूर्व चौथो शताब्दीमा निर्मित जोडी स्तूप पनि हामीले अवलोकन गर्यौं ।     

कुदानमा रहेको प्राचीन निग्रोधारामाको नामले चिनिने स्थल सिद्धार्थ बुद्ध बनेपछि पहिलोपटक कपिलवस्तु आउँदा राखिएको स्थानमा भुल्यौँ । घुम्दै जाँदा निग्लिहवा पुग्यौँ— कनकमुनि बुद्धको जन्मस्थल । विडुडभले शाक्यहरूको वध गरेको स्थान सगरहवा पनि पुगियो । भवानी भीक्षुको घरको दर्शन गर्ने अवसर जुर्यो र कपिलवस्तुमा रहेका बुद्धसँग जोडिएको अन्य स्थान पनि पुगेका थियौँ । कपिलवस्तुको अर्को प्रख्यात स्थल जगदीशपुरताल— हो अवलोकन गर्न गयौँ । 

थारू संस्कृति हेर्न बुझ्न पाइयो, त्यहाँ गरिएको स्वागत भुल्नु भनेको स्थानीय थारू समुदायबाट पाएको आत्मीयपन अस्वीकार गर्नु हो । जगदीशपुरताल विभिन्न जात जातिका दुर्लभ पक्षीको बासस्थानको रूपमा प्रख्यात छ— सिजनअनुसार विश्वका विभिन्न भागबाट पक्षीहरू आउने गरेका छन् ।     

बुद्ध सर्किट अवलोकन गर्न आएका हामी लुम्बिनीमा बसेका थियौँ । एक दिनको समय हामीले लुम्बिनी भ्रमणको लागि निकाल्यौँ । कहिलेकाहिँ यस्तो पनि हुन्छ ‘बत्ती मुनि अँध्यारो’ जहाँ बसियो त्यही घुम्न नपाउनु ।     
तर हामीले लुम्बिनी मन फुकाएर घुम्यौँ ।     

डा.गितु गिरी नै जब साथमा थिए भने बुद्ध सर्किट घुमाउने र बताउने दायित्व उहाँले लिनुभएको थियो ।     

बिहानपख खाजा खाएर हामी लुम्बिनी घुम्न निस्किएका थियौँ । साढे ११ बजेको समयमा लुम्बिनी बौद्ध विश्वविद्यालयले व्यवस्था गरेको होटेलमा गएर स्वादिष्ट भोजन ग्रहण गर्यौं । भोजन पश्चात बौद्ध विश्वविद्यालयको सभा कक्षमा हाम्रो स्वागत गरियो । भोसु यादवका टोलीले विरहा सुनाएका थिए । विरहालाई व्यावसायीक बनाए पनि, मौलिकपन भने बचाएका रहेछन्, हो संस्कृतिलाई आय आर्जनसँग जोड्न सकियो भनेमात्र बचाउन सकिन्छ । 

वर्तमान समयमा जिविकोपार्जनसँग नजोडिएको संस्कृति गाथा बच्दैन— इतिहासको गर्भमा बिलाउन पुग्छ । लोकगाथामा लोकलाई लोभ्याउन सक्ने सामर्थ रहेको हुन्छ । लोकलाई मनोरञ्जन प्रदान गरेर, आफ्नो संस्कृतिको जानकारी गराउँदै विरहाको माध्यमले आय आर्जन गर्न सकेको भोसु यादवको टोलीलाई जति प्रशंसा गरे पनि कम हो । यस्तै प्रकारले नेपालको ठाउँठाउँबाट लोकसंस्कृतिलाई आय आर्जनको माध्यम बनाउन सक्नु पर्छ र यसको लागि राज्य, स्थानीय तहबाट प्रोत्साहित पनि गर्नुपर्छ । 

अनि निश्चित समयमा सभा सञ्चालन भयो । तोकिएको समयमा सकियो पनि । सो स्थानमा लोकवार्ता विषयक केही कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । अँ बिहान हामीले लुम्बिनी पूर्ण रूपमा घुमिसकेका थिएनौँ । बेलुकीको समय भ्रमण अवलोकनमा लगायौँ, झमक्क रात नपरुन्जेल ।     
लुम्बिनीका विहार कति शान्त     
गौतम बुद्धको सन्देश पनि छ शान्त     
प्रत्येक जीवलाई माया गर         
कसैको चित्त नदुखाउ     
माया भनेको सम्मान हो         
एक अर्काको सम्मान गर ।     

भोलिपल्ट बिहान खाजा खाएर हामीलाई बास दिँदै आएको कोरियन धर्मशालालाई शिर निहुँराएर सम्मान गरेर बुटवलतर्फ लाग्यौँ । निश्चित कार्यक्रममा हिँड्दा समयको ख्याल गर्नैपर्छ । सबैभन्दा पहिले हामी तीनाउ नदीवारी रहेको शिद्धबाबाको ठाउँमा पुग्यौँ । वास्तविक र प्रख्यात शिद्धबाबा थान नदीपारी भीरमा पाल्पा जिल्लामा पर्ने रहेछ, हामीले बारीकै हेरेऊँ— यस्तो कार्य नेपालका प्रायः सबै स्थानीय तहले गर्न सके नेपालमा धार्मिक पर्यटकको भेल उर्लेर आउने विश्वास मनमा साँचेर फर्किएका थियौँ ।     

सिद्धबाबा थान अवलोकन पश्चात कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले बुटवल जीतगढी युद्धमा अदम्य साहस रणकौशल एवं चलाकीपूर्ण पराक्रमले अंग्रेज फौजलाई टिक्नै नदिइ पराजित गरेको किल्ला अवलोकन गर्न गयौँ । अंग्रेजलाई जितेको हुनाले बुटवलको सो किल्लाले जीतगढी नाम पाएको सम्भव छ । तिनाउ नदीको पश्चिमी किनारमा अवस्थित गौरवमय किल्ला अवलोकन गर्नुका साथै विजयी योद्धालाई सम्मान र वीरगतिप्राप्त योद्धालाई भावपुञ्ज श्रद्धाञ्जली चढाएका थियौँ । अनि हामी पूर्वतर्फ रहेको रमणीय, आकर्षक बनबाटिका अवलोकन गर्न गयौँ ।     

आहा चुरेफेदीको यो वनलाई साँच्चैको सदुपयोग गरिएको रहेछ । म यसै भन्न सक्तिन— प्रभात भ्रमणको लागि ढुङ्गा छापेर बाटो बनाइएको, योग साधनाको लागि हरियो चउर, भ्यु टावर मन मोहनी फूलबारी भएको यस उपवनको जति चर्चा गरे पनि कम हुन्छ । 

मगर समुदायका महिलाहरूले उनीहरूको समुदायमा प्रचलित परिकार बटुक सहितको खाजा ख्वाएका थिए, सो आत्मीय व्यवहार र खाजाको स्वादको बारेमा म भन्न चाहन्न । समयको अभावले गर्दा हामी न्यू होराइजन स्कूलले उपलब्ध गराएको खाना खाएर लोकवार्ताको कार्यक्रममा सहभागी भयौँ । न्यू होराइजन स्कूलको विशाल हलमा कार्यक्रम भएको थियो । औपचारिक कार्यक्रममा स्थानीय गायकबाट गीत, कलाकारबाट नृत्य पनि प्रस्तुत गरिएको थियो । 

त्यहाँ लोकवार्ताका केही कार्यपत्र पनि प्रस्तुत गरिएका थिए । कार्यक्रम समापन पश्चात खाजा खाएपछि हामीलाई न्यू होराइजनका विभिन्न शाखाहरू अवलोकन गराउने काम भयो । बुटवल यथार्थमा शिक्षाको हब लाग्यो र त्यसको नेतृत्व न्यू होराइजनले गर्दै गरेको अनुभव भयो । रात्रीकालीन भोजन न्यू होराइजनको होस्टेलमा गरे पश्चात हामी बुटवलको तालिम केन्द्रमा विश्रामको लागि पुग्यौँ । हो त्यहाँ विश्राम गरेर भोलिपल्ट बिहान हामी नवलपरासीतर्फ प्रस्थान गर्यौं ।     

बुटवलबाट बिदा भएर नवलपरासी प्रवेश गरेकोमात्र के थियौँ, सुनवलको सडक छेउँमा रहेको महाकवि देवकोटा क्याम्पसमा स्थानीय आत्मीयजनबाट न्यानो माया पायौँ । स्वागत कार्यक्रममा स्थानीयबाट धेरै कुराहरू थाहा पायौँ, हामीले लोकवार्ता परिषद्को उद्देश्यबारे अवगत गराएका थियौँ । दिवा भोजनको समय पनि भएको हुँदा नवलपरासीका संयोजक डा. धुव भट्टराईले व्यवस्थापन गर्नु भएको होटेलमा गएर भोजन गरियो । कपिलवस्तुमा हामी तराई भाषा–भाषीबीचमा थियौँ भने अहिले पहाडे भाषाभाषीसँग गफिदै छौँ ।     

भोजन पश्चात हामी सुनवल नगरपालिकामा पर्ने भुमहीबजारदेखि करिब चार किलोमिटर उत्तर जङ्गलमा रहेको बाबा बर्दगोरिया थान अवलोकन गर्न गयौँ । पूर्व पश्चिम राजमार्गदेखि उत्तर जङ्गलमा अवस्थित थारू आदिवासीबाट निकै अघिदेखि प्रतिष्ठित बाबा बर्दगोरियाको बारेमा सामान्य जानकारीसम्म लिने काम भयो । अनि त्यहाँबाट हामी लाग्यौँ, सिद्धार्थ मामाघर आउँदा स्नान गर्ने गरेको भनिएको तरगौली ताल अवलोकन गर्न ।     

कोलियग्रामबाट करिब २ किमी पूर्वमा छ यो ताल । समं्राट अशोकले उत्खनन् गर्न नपाएको कोलियहरूले संरक्षण गरेको गौतम बुद्धको अस्तु रहेको रामग्राम स्तुपमा पनि पुगियो । स्तुप नजिक संरक्षण गरिएको कोलि वृक्ष पनि हेर्न पाइयो— पाइएको मात्र होइन कोलि वृक्षको विशेषता भनेको कुष्ट रोग निकोपार्न सक्ने गुण रहेको बारे पनि थाहा पाइयो ।         

अनि हामी लाग्यौँ त्रिवेणी धाम तीर, एकक्षण पर्खनोस्, लोकवार्ता टोली आउँदैछ भनेर बाटोमा दबिल्लाका स्थानीय बाजा गाजा लिएर स्वागत गर्न हाम्रो बाटो हेरिरहेका रहेछन् । लोकमा रमाउने हामी, लोकको स्वागत पाएर मन अति प्रफुल्ल भयो, उनीहरूसँगै बुद्धमंगल ताल हेर्न गयौँ, त्यहाँ केही बेर नाचियो, रमाइलो गरियो ।     

झमक्क साँझ पर्दा हामी त्रिवेणीधाम स्थित गजेन्द्र मोक्ष धाम यानी मुक्तिनाथ बाबाका नामले प्रख्यात स्वामी कमलनयनाचार्यको आश्रममा पुग्यौँ । लोकवार्ता टोली त्यहाँ एकै स्थानमा नभएर बाँडिएर बस्ने व्यवस्था स्थानीय आयोजकले मिलाएअनुसार तुलसी प्रभास, डा.मुकुन्द शर्मा, दिलविक्रम आङदेम्बे, डा. भक्त राई, डा.मधुसुदन गिरी र म रामजानकी मन्दिरको अतिथीशालामा गयौँ खान पान र वासको लागि । भोलिपल्ट बिहान नारायणी नदी डुङ्गाबाट तरेर जङ्गलको बीचमा रहेको वाल्मीकी आश्रममा गयौँ । वाल्मीकी आश्रमलाई जुन रूपमा विकास गरिनु पर्ने हो, त्यस रूमा भएको पाइएन, सानो ठाउँमा अविश्वसनीय तरिकाबाट रामकथा प्रसङ्ग जोडिएको लाग्यो । 

वाल्मीकि आश्रम अवलोकन पश्चात हामी गजेन्द्रमोक्षधाममा आएर भोजन पश्चात कार्यक्रममा सहभागी भयौँ । लोकवार्ता अभियानमा हिडेका हामीले त्रिवेणी धाममा अस्वाभाविक रूपमा स्थानीयको प्रयाप्त उत्साहजनक उपस्थिति पायौँ । हो यहाँ मेरो कार्यपत्र ‘लोकविश्वासमा बाँचेको टुना, मुना, मोहनी’ प्रस्तुत गरेको थिए । कार्यक्रम समापन पश्चात हामी २६ गते साझ बर्दघाटतर्फ लाग्यौँ, सो रात हामीले होटेलमा बितायौँ । भोलिपल्ट बिहान यानी २०७४ असोज २७ गते बर्दघाट क्याम्पसमा भव्य कार्यक्रममा सहभागी भयौँ । यो कार्यक्रम भनेको यस यात्राको समापन कार्यक्रम थियो, कार्यक्रम पश्चात भोजन गरेर हामी काठमाडौँ प्रस्थान गरेका थियौँ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ