arrow

लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख घिमिरेलाई मार्ने धम्की

घिमिरेद्धारा सुरक्षाको माग

logo
नारायण वली,
प्रकाशित २०७८ मंसिर १८ शनिबार
ghimire.jpg

रुपन्देही । हाल संचालन हुँदै आएको लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी तोकिएको दाङको देउखुरी उपत्यकामा प्रदेश राजधानी सार्न थालेको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई सामाजिक संजाल फेसबुक प्रयोग गरी म्यासेन्जरमा खुलेयाम मार्ने धम्की दिइएको छ। सुबोध बेलबासे नामबाट पठाइएको म्यासेन्जरमा मार्ने धम्कीपूर्ण भाषा प्रयोग गरिएको छ । 

अस्थायी मुकाम बुटवलबाट संचालन हुँदै आएको लुम्बिनी प्रदेश सरकारलाई स्थायी राजधानीबाट संचालन गर्नका लागि लुम्बिनी सरकारले स्थायी राजधानी संरचना निर्माणका लागि दाङमा भौतिक पूर्वाधार विकास प्राधिकरण स्थापना गरेको छ । प्राधिकरणले अहिले स्थायी राजधानीमा तत्काल सरकार संचालन गर्न भौतिक पूर्वाधारको कामलाई गति दिएको छ ।

सुबोध बेलबासे नामको फेसबुक म्यासेन्जरबाट पठाइएको म्यासेजमा प्राधिकरणका प्रमुख घिमिरेलाई ‘बाँच्न मन छ र परिवारको माया छ भने राजधानीको काम तुरुन्त रोक नत्र बुटवल आएपछि दाङ फर्कन पाउदैनस् है’ भन्दै लेखिएको छ । 

यति मात्रै होईन म्यासेजमा ‘‘राजधानी सार्ने नै हो त ? काम छैन पागल जस्तै गरेको छ । अर्थले बजेट रोकिसक्यो ठेकदार काम रोक्न तयार छ सीईओलाई मर्न मन छ हो ? कि अख्तियार लगाएर सक्छौं कि खुकुरी ? अब तेरो दिन सकियो ।’ भनी लेखिएको छ । 

म्यासेज बिहीबार राति ८ बजेर १० मिनेटमा पठाइएको उल्लेख छ । म्यासेजमा लेखिएको छ, ‘तेत्रो सम्झाउन पठाइएको मान्ने त कुरै छैन लातको भूत बातले मान्दैन, हाम्रो ४ सय करोड लगानी छ, साला अपशब्द प्रयोग गर्दै बाँच्न मन छ भने काम रोक नत्र मर्छस् ।’

यस विषयमा हाम्राकुरासँग कुरा गर्दै प्रमुख घिमिरेले भने, ‘म एउटा कर्मचारी हुँ, मैले चाहेर दाङमा राजधानी बन्ने र बुटवल नबन्ने भन्ने हुँदैन । मार्ने धम्कीदेखि अख्तियारसमेत लगाएर नभए खुकुरीसम्मको धम्की दिनु गलत छ । यस विषयमा मैले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा लिखित जानकारी गराएको छु ।’

घिमिरेका अनुसार दाङमा राजधानी ल्याउन वा आउन नदिने नियत भएकाहरुबाटै आफूलाई धम्की आएको आशंका गरेका छन् । ‘राजधानीसँग हरेक व्यक्तिका स्वार्थ जोडिएका हुन सक्छन्, घिमिरेले भने । 

राजधानी आउन नदिने वा ल्याउन नदिनेहरुको समूहबाट धम्की आएको उनको आशंका छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ