arrow

चुनाव हारेपछि पूर्वराजा ज्ञानेन्द्रविरूद्ध खनिए कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
kamal-thapa6.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित भएपछि अध्यक्ष पदका उम्मेदवार कमल थापाले पराजयलाई सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्ष पदमा आफू पराजित भएपछि थापाले सामाजिक संजालमार्फत आफ्नो प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।’

त्यस्तै उनले पराजित भएपछि पार्टीभित्र नाङ्गो हस्तक्षेप भएको पनि जनाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै थापाले भनेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । धन्यवाद । मैले राहत र उन्मुक्ति पाएको छु ।’

उनले पूर्वराजा ज्ञानेन्द्रप्रति असन्तुष्टि जनाउँदै पराजय आफ्नो लागि पुरस्कार भएको पनि प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना।’

 मतगणना अनुसार लिङ्देनले आफ्ना प्रतिस्पर्धी थापालाई पराजित गरेका हुन् । मतगणनाको प्रारम्भदेखि नै अग्रता लिएका लिङ्देनले थापालाई १६७ मत अन्तरले पराजित गरेका हुन्। मतदानमा लिङ्देनले १ हजार ८४४ मत प्राप्त गरेका थिए भने थापाले १ हजार ६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो।

स्पष्ट रुपमा देखिने गरी लिङ्देनलाई निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको साथ रहेको थियो।

त्यस्तै थापालाई अर्का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले साथ दिएको भनिए पनि राणालेसमेत स्वविवेक प्रयोग गर्न भन्दै आएका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ