arrow

फुटेको सिसा जोड्ने प्रयास

विप्लवलाई पार्टीमा ल्याउन प्रचण्डको कोसिस, महासचिव पाउलान् ?  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
prachanda-biplab.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा ल्याउने कोसिस गरेका छन् । पार्टी छाडेर गएका नेताहरुलाई माओवादीमै फर्काउने अभियानस्वरुप विप्लवलाई पार्टीमा ल्याउने कोसिस भएको हो । 

पार्टी प्रवक्ता कृष्णबहादुर महराले प्रचण्ड र विप्लवलाई भेटाउने काम गरिरहेका छन् । गत ४ मंसिरमा महराले प्रचण्ड र विप्लवको भेटघाट गराएका थिए । त्यसयता महरा र विप्लव निरन्तर संवादमा रहेका छन् । 

पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्दै माओवादीबाट बाहिरिएका विप्लव सजिलै प्रचण्डको नेतृत्वमा आउने संभावना नभएपछि उनलाई पुस ११–१३ को राष्ट्रिय सम्मेलनबाट महासचिव दिएर भए पनि ल्याउनुपर्छ भन्ने मत बलियो बन्दै गएको माओवादी निकट स्रोतले जनाएको छ ।
 
४ मंसिरमा प्रचण्ड र विप्लवबीच झण्डै २ घण्टा लामो कुराकानी भएको थियो । सो कुराकानीमा तीन वटा विषयमा छलफल भएको बताइएको छ । वर्तमान राजनीतिक परिस्थिति, अमेरिकी सहयोग कार्यक्रम एमसीसी र पूर्वमाओवादीको एकतालाई कसरी समेट्ने भन्ने बारेमा छलफल भएको स्रोतले जनाएको छ । 

संघीय निर्वाचनमा प्रचण्डलाई गठबन्धन दलबाटै धोका हुने आशंका बढ्दै गएपछि प्रचण्ड विस्तारै विप्लवसँग नजिक हुन थालेका हुन् । विप्लवसँग भेटघाट भएको विषयलाई प्रचण्डकै सचिवालयले ४ मंसिर दिउँसो सूचना चुहाएको थियो । 

त्यसबेला पार्टी एकताबारे छलफल भएको जनाएको थियो । विप्लवका साथै उनीनिकट नेताहरूले त्यो सूचनाको कुनै प्रतिवाद गर्न चाहेनन् । प्रचण्डलाई भेटेका विप्लव  मंसिर ५ गते अर्का नेता नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेका थिए । श्रेष्ठ र विप्लवले लामो समयपछिको भेटमा पनि पार्टी एकता र सहकार्यकै विषयमा संवाद भएको थियो । 

यी दुवै भेटमा भएका छलफलले मूर्त रूप लिएको छैन । स्वयं विप्लवका नेताहरुले तत्काल पार्टी एकता भैहाल्ने अवस्था नभएको बताएका छन् । तर एकताको वातावरण बनाउने प्रयासमा भने माओवादी केन्द्रका नेता महरा लागिरहेका छन् । 

‘माओवादीमा अहिले भएका नेताहरु भरलाग्दा नभएको भन्दै महराले विप्लवलाई पार्टीमा ल्याउन चाहनुभएको हो तर यसमा जनार्दन शर्मा, पम्फा भुषालहरु बाधक हुने संभावना छ’, माओवादीका एक स्थायी समिति सदस्यले भने । 

२८ कात्तिकमा विप्लवले माओवादी केन्द्रसँग एकता गर्न सकिने बताएका थिए । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले एकताको सम्भावना रहेको उल्लेख गरे लगत्तै महराले विप्लवलाई मंसिर ४ मा प्रचण्डलाई भेट गराएका थिए ।

‘माओवादी केन्द्रसँग एकता सम्भव छ, हामी गर्ने नै हो तर त्यसका लागि जनताको पक्षमा काम गर्नुपर्छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौँ,’ उनको त्यो भनाइलाई महराले ‘क्यास’ गर्न खोजेको विप्लव समूहका नेताहरुको बुझाइ छ । 

माओवादी केन्द्रका नेताहरूको भनाइमा माओवादीको पुस ११–१३ मा हुने राष्ट्रिय सम्मेलनले विप्लवसँगको एकताका लागि वातावरण बनाउने छ । अर्थात् वैचारिक र राजनीतिक एजेण्डाहरू विप्लवको स्वीकारोक्ति हुने गरी राष्ट्रिय सम्मेलनमा सम्बोधन गरिने छ र नेतृत्वव पनि त्यही अनुसार बनाउने छ । 

माओवादी केन्द्रका एक नेताको भनाइमा विप्लवलाई महासचिवको हैसियतमा पार्टीमा ल्याउने विषयमा शीर्ष नेताहरुबीच छलफल चले पनि हाल महासचिवको दाबी गरेका नेताहरु भने त्यो मान्न तयार भएका छैनन् ।  

माओवादीका नेताहरुले आफूहरुलाई बाइपास गरेर प्रचण्डको उत्तराधिकारीको रूपमा विप्लवलाई अगाडि बढाउने गरी एकता नहुने बताउन थालेका छन् ।  माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा, वर्षमान पुनहरू विप्लवलाई स्वीकार गर्न तयार नहुने अवस्थामा रहेका छन् । 

वर्षमान पुन विदेश उपचार गराइरहेकाले विप्लवलाई पार्टीभित्र ल्याउने विषयमा उनीसँग पनि सल्लाह हुने भएकाले प्रचण्डका लागि तत्कालै महासचिव दिएर ल्याउन खोजे पनि त्यो महराको रहर मात्रै हुने नेताहरुले बताएका छन् । 

यसअघि जनार्दन शर्मासँगको अन्तरद्वन्द्वका कारण हेमन्तप्रकाश ओलीले माओवादी केन्द्र छोड्न बाध्य भएका थिए । त्यसैले पनि अहिले शर्माकै कारण ओली पुनः माओवादी केन्द्रमा फर्किन्छन् कि फर्किंदैनन् भन्ने प्रश्न उत्तिकै रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ