arrow

डा. प्रकाशशरण काममा डेडिकेटेड व्यक्ति – प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
prakash-sharan-mahat-3244.gif

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु समक्ष कांग्रेसलाई पहिलो पार्टी बनाउन ध्येयले काममा लाग्न अनुरोध गरेका छन् । 

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतद्धारा लिखित नेपाली ‘कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

देउवाले भने, ‘यस १४ औं महाधिवेशनका क्रममा कार्यकर्तामा अत्यन्त उत्साह देखेको छु । महाधिवेशन सम्पन्न गरेर गाँउमा फर्कदा नेपाली कांग्रेसलाई फस्र्ट पार्टी बनाउन लाग्नुहोस् ।’

‘नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यको लागि पार्टीको यो १४ औं महाधिवेशन अत्यन्तै महत्वपूर्ण छ’, प्रधानमन्त्री देउवाले भने ।  

प्रधानमन्त्री देउवाले सहमहामन्त्री डा.प्रकाशशरण महतले अत्यन्तै मिहेनत गरेर पुस्तक लेखेकामा प्रशंसा गर्दै भने, ‘डा. प्रकाशशरण महत अत्यन्तै डेडिकेटेड व्यक्ति हो । जे काममा लाग्यो लागेको लाग्यै गर्ने ।’

उनले अग्रेजी भाषामा लेखिएको यो पुस्तकलाई नेपाली भाषामा अनुवाद गरेर प्रकाशन गर्न अनुरोध गर्दै भने, ‘अंग्रेजी कमजोर हुनेले पनि यो पुस्तकमा लेखिएका विषयमा जानकारी राख्न पाउनुपर्यो ।’

देउवाले आजदेखि पार्टी महाधिवेशन शुरु हुने उल्लेख गर्दै पार्टीमा भरसक सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास गर्ने र संभव नभएमा स्वच्छ प्रतिस्पर्धा गरिने र त्यसलाई सबैले सहज र स्वभाविक ढंगले लिनुपर्ने कटुता ल्याउन नहुने बताए । 

सभापति देउवाकै नेतृत्वमा आगामी निर्वाचन जित्छौ : डा.महत
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पुस्तकका लेखक तथा नेपाली कांग्रेसका सहमहामन्त्री महतले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीले आगामी निर्वाचनमा तीन वटै तहमा चुनाव जितेर बहुमतको सरकार बनाउने दाबी गरे ।
महतले भने, ‘सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस समावेशी राजनीतिमा प्रवेश गरेको छ । सबै नेपालीलाई बराबरीको हिस्सेदार बनाएको छ । त्यसलाई पूर्णता दिने जिम्मेवारी पूरा गर्न उहाँलाई दोस्रो कार्यकाल भए बल पुग्नेछ ।’

उनले पार्टीमा आफ्नो स्पष्ट बहुमत रहे पनि त्यसको उपयोग गर्दा पार्टीमा विभाजनको रेखा कोरिन नदिन सहमतिका आधारमा पार्टी सञ्चालन गरेर पार्टी सभापति भएकै दिनदेखि देउवाले अत्यन्त बुद्धिमतापूर्ण र दूरदृष्टिपूर्ण काम गर्नुभएको पनि उल्लेख गरे । 

उनले भने, ‘बहुमत,अल्पमतका आधारमा निर्णय गर्दा अन्य पार्टीमा आएको विग्रह हेर्दा सभापतिको विचार सही रहेको पुष्टि हुन्छ ।’

पार्टीका सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसलाई आधुनिक,गतिशील र आमजनतासंग जोडिने बनाउने बाचा गर्दै भने, ‘आफ्नो गाऊँ ठाउँमा बसेर काम गर्ने कार्यकर्ताले पनि केन्द्रका नेताहरुलाई नचिनिकनै कामका आधारमा मूल्यांकन भएको थाहा पाउने पद्धति विकसित गरिनेछ ।’ उनले अब काम भएन भनेर कुरा गरेर दिन कटाउने दिन आउन नदिने बताउँदै भने, ‘आगामी कार्यकालमा पार्टीले काम दिएको दियै गर्नेछ । कार्यक्रम दिनेछ । चिया पसलमा बसेर नेता तथा सहकर्मीहरुको कुरा काट्ने अवसर दिने छैन ।’

उनले पार्टीलाई वैचारिक ढंगले पनि सबल बनाइने उल्लेख गर्दै नेता र कार्यकर्ता एक स्वरले पार्टी र आफ्नो नेतृत्वको सरकारले गरेका कामको पक्षमा उभिने अवस्था तयार पारिने पनि बताए । उनले नेपालको आर्थिक र सामाजिक रुपान्तरण नेपाली कांग्रेसको नेतृत्वमा गरिने दावी पनि गरे । उनले नेपालको आवश्यकता र राष्ट्रहित केन्द्रीत विदेश नीति अवलम्बन गरिने पनि उल्लेख गरे ।

उनले धर्म, संस्कृति, परम्परा, भेषभूषा र भाषामा विविधता भएको नेपालमा नेपाली कांग्रेसले तिनको संरक्षण र सम्बर्धन गर्ने पनि उल्लेख गरे ।

प्रतिबन्धित कालमा कांग्रेसको नीतिको खोजी विमोचित पुस्तक डा. प्रकाशशरण महतले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (अर्थशास्त्र) मा तयार गरेको थेसिसको परिस्कृत रुप हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ