arrow

एक हजार बढी दरबन्दी सिर्जना गर्न डडेलधुरा अस्पतालको माग

logo
राम धामी,
प्रकाशित २०७८ पुष १ बिहिबार
dadheldhura-hospital.jpg

डडेलधुरा । सुदूरपश्चिम प्रदेशमा सङ्घीय सरकार मातहतको विशिष्ट विशेषज्ञ सेवासहितको एक मात्र अस्पताल डडेलधुरा अस्पतालले एक हजार तीन सय ५३ जना कर्मचारी दरबन्दी थप सिर्जना गर्न अनुरोध गरेको छ ।

तत्कालीन टिम अस्पताल र जिल्ला अस्पताल डडेलधुरालाई मर्ज गरेर बनाइएको उपक्षेत्रीय अस्पताललाई सङ्घीय अस्पतालको रूपमा स्तरोन्नति गरिएको लामो समयसम्म कर्मचारी अभाव झेलिरहेको डडेलधुरा अस्पतालले अस्पतालमा उपकरण व्यवस्थापन र भौतिक पूर्वाधार विकास निर्माण भइरहेको भए पनि अस्पतालको उद्देश्य अनुरूप कर्मचारी अभाव हुँदा सेवा विस्तार गर्न सकिरहेको छैन ।

सात सदस्यीय सङ्गठन संरचना एवम् दरबन्दी पुनरावलोकन कार्यदलले तयार गरेको प्रतिवेदनमा पाँच सय बेड वा सो भन्दा बढी शय्याको अस्पताल सञ्चालन गर्नको लागि ठुलो सङ्ख्यामा थप नयाँ दरबन्दी स्वीकृतिका लागि अनुरोध गरेको डडेलधुरा अस्पताल प्रशासनले जनाएको छ । कार्यदलले सहायक स्तरको कर्मचारीदेखि ११औं तहका निर्देशक मातहत हुनेगरि अन्य प्रमुख कन्सल्टेन्टहरू र थप विशेषज्ञ जनशक्ति आवश्यकता रहेको विस्तृत विवरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पहलका लागि अनुरोध गरेको डडेलधुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चेतराज भट्टले बताए ।

‘ओएमएन सर्भे गरेर थप कर्मचारी माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गरेको आठ दिन भयो । मन्त्रालयबाट जबाफ आउन केही समय लाग्छ होला,’ उनले भने,‘कर्मचारी अभावमा सेवा प्रवाहमा निकै कठिनाइ भइरहेकाले थप दरबन्दी सिर्जनागरि कर्मचारी माग गरेका छौ । कर्मचारी अभावमा अस्पतालले उद्देश्य अनुरूपका कुनै पनि सेवा प्रवाह गर्न सकिरहेको छैन ।’

वरिष्ठ अस्पताल नर्सिङ प्रशासक हिराकुमारी निरौलाको संयोजकत्वमा रहेको सङ्गठन संरचना एवम् दरबन्दी पुनरावलोकन कार्यदलले भावी सङ्गठनको विस्तृत अध्ययन तथा छलफल पश्चात् एघारौँ तहको ३८ जना, नौ र दसौं तहको एक सय १५ जना, आठौं तहका एक सय ३२ जना, सातौं र आठौंं तहका ७३ जना, चौथो, पाचौं, छैटौ र सातौ तहका नौ सय ६६ जना प्राविधिक कर्मचारीको दरबन्दी र उपसचिव स्तरको कर्मचारीको प्रशासनिक नेतृत्वमा रहने गरी राजपत्राङ्कित द्वितीय श्रेणीसहित ४० जनाको प्रशासनिक दरबन्दीको प्रस्ताव गरिएको कार्यदलले जनाएको छ । 

हाल तत्कालीन उपक्षेत्रीय अस्पतालको सङ्गठन संरचनामा श्रेणिविहीन कर्मचारीसहित एक सय ९ जनाको दरबन्दी मात्रै रहेको कार्यदलका सदस्य प्रकाशचन्द्र बुढाएरले बताए । अस्पतालले सुदूरपश्चिमका सात पहाडी जिल्लाको रिफरल अस्पतालका रूपमा सेवा प्रदान गर्नुपर्ने भएकाले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका २०७० र स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड बमोजिम थप जनशक्ति माग गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

डडेलधुरा अस्पतालमा चिकित्सा विज्ञान प्रतिष्ठान स्थापनार्थ केही समय अगाडी प्रारम्भिक अध्ययन टोलीले अध्ययन गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएकोले पनि यहाँका सरोकारवालाहरूले डडेलधुरा अस्पताललाई चिकित्सा विज्ञान प्रतिष्ठान वा मेडिकल कलेजको रूपमा सञ्चालनार्थ अविलम्ब पहल थाल्नुपर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ