arrow

विश्व हल्लाउने किम जोङ उनका १० वर्ष : मिसाइल, मृत्यु दण्ड र आर्थिक संकट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
kim-jong-un-2021.jpg

काठमाडौं। १० वर्षअघि उत्तर कोरिया विलापमा रहेको हिउँ परिरहेको बिहान राजधानी प्योङयाङमा आफ्ना बुवाको लास बोकिरहेको गाडीको साइडमा विश्वले देखेको थियो, किम जोङ उनलाई । बुबाको मृत्युपछि किम त्यहाँको राज्य टेलिभिजनबाट उत्तराधिकारीको रूपमा घोषणा गरिएका थिए ।

किम जोङ उनको लामो कालो कोट, उनका दिवङ्गत हजुरबुबा किम इल सुङको याद गराउने कपालको स्टाइल सहितका सार्वजनिक रूपमा देखिएका किम आफ्ना पुर्खाको बिडो थाम्न अघि बढेका थिए ।

त्यतिबेला २६ वर्ष उमेरका किमलाई नपत्याउनेहरूले अहिले उनी लामो समय उत्तर कोरियाको नेतृत्व गर्ने विश्वास गर्छन्। 

पहिलो पटक उत्तर कोरियाका लागि पूर्व अमेरिकी विशेष प्रतिनिधि जोसेफ युनले किमकठोर रहेको धारणा अघि सारेसँगै उनीमाथिको दृष्टिकोण फेरिएको थियो।

सुरुमा चीन, दक्षिण कोरियामा किमको मजाक उडाइने  र अन्तर्राष्ट्रिय समुदाय, अमेरिकालगायतले नपत्याएको जोसेफ युनकाे भनाइ छ।

तर, जब किमले आफ्नो उमेरलाई बेवास्ता गर्दै निर्दयता र निर्णायकता देखाए तबदेखि उनीमाथिको धारणा परिवर्तन हुँदै गयो।

किमले सत्ता बलियो बनाउन आफ्ना सबैभन्दा नजिकका व्यक्तिलाई नै मृत्युदण्ड दिए।

किमका सल्लाहकार समेत रहेका उनका काका एवं शक्तिशाली नेता जंग सोङ थाइकलाई सन् २०१३ मा सरकार ढाल्न खोजेको आरोपमा मृत्युदण्ड दिइयो।

किमका जेठा सौतेनी भाइ किम जोङ नामको सन् २०१७ मा मलेसियाको क्वालालम्पुर विमानस्थलमा नर्भ एजेन्टको प्रयोग गरी हत्या भयो, तर उत्तर कोरियाले यो घटनाको जिम्मेवारी लिएको छैन।

अहिले समेत कोरोना भाइरसको महामारीका कारण उत्तर कोरिया अलग रहिरहँदा किमलाई झनै शक्तिशाली बन्ने अवसर मिलेको विश्लेषकहरूको आङ्कलन छ।

किमको यात्रा

सन् २०१२ मा पहिलो पटक किमले आफ्ना स्वर्गीय हजुरबुवाको जन्मोत्सवमा सार्वजनिक रूपमा भाषण दिएका थिए, जुन उत्तर कोरियाको इतिहासमा महत्त्वपूर्ण दिन हो।

त्यस क्रममा उनी शक्तिशाली समाजवादी देश निर्माण गर्ने आफ्नो मृत बुवाको चाहनालाई अघि बढाउने बाचा गरिरहेका थिए।

त्यसको करिब एक वर्षभन्दा छोटो समयमै सन् २०१३ को फेब्रुअरीमा किमले पहिलो र उत्तर कोरियाले तेस्रो परमाणु हतियारको परीक्षण गर्याे।

किमको यो कदमले विश्वलाई नयाँ कडा सन्देश दियो, खास गरी उनीमाथि गम्भीर नबनेको अमेरिकाले पनि।

त्यसै बेला किमले आणविक कार्यक्रम र अर्थतन्त्रलाई एकै साथ विकास गर्ने 'प्योङजिन' नीतिको घोषणा गरे। 

त्यसयताका केही वर्षमा उत्तर कोरियाले आफ्नो सैन्य क्षमताको व्यापक विकास, अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल, लामो र छोटोदुरिका मिसाइल एवं तीन वटा भूमिगत आणविक विस्फोटसम्म गर्याे।

उत्तर कोरियाका स्रोत साधनसँग दाँजेर हेर्दा त्यहाँको विविधीकरण अचम्मलाग्दो रहेको अन्तर्राष्ट्रिय शान्तिको लागि कार्नेगी एन्डोमेन्ट थिंक टैंककी फेलो अंकित पान्डाको भनाइ छ।

सैन्य विकास भन्दा बाहिर किमले आफ्ना बुवा किम जोङ इल र हजुरबुवा किम इल सङले नसकेको कूटनीतिक विजयी हात पारे।

सन् २०१८ मा किमले सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए। सो भेटमा दुई देशबीचको सम्बन्ध नयाँ किमिसले अघि बढाउने विषयमा छलफल भएको थियो ।

ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनलगायतका विश्व नेताहरूसँगको भेट वार्ताको शृङ्खलाले उत्तर कोरियाको आणविक समस्या समाधान गर्नेतर्फ प्रगति गर्नुका साथै किम र उत्तर कोरियाको विश्वव्यापी स्थानलाई एक नयाँ उचाइ दिएको देखिन्छ ।

गत जनवरीमा कोरियाको वर्कर्स पार्टीको आठौं सम्मेलनबाट किमलाई पार्टीको 'महासचिव' को रूपमा अनुमोदन गरिएको थियो।

किम महासचिव बनेसँगै सम्मेलन गृहको भित्ताबाट उनको बुवा र हजुरबुवाको तस्बिरहरू हटाइएको थियो। यसको अर्थ किम आफ्ना पूर्ववर्तीहरूको स्तरमा पुगेको सङ्केतका रूपमा मानिएको छ।

दक्षिण कोरियाको जासुसी एजेन्सीले आफ्ना देशका सांसदहरूलाई उत्तर कोरियाले आन्तरिक रूपमा 'किमजोङउनवाद' को प्रयोग गर्न थालेको बताएको थियो। यसको अर्थ उत्तर कोरियामा किमको नीतिलाई अँगाल्न थालिएको आङ्कलन गरिएको छ।

यसै महिना त्यहाँको केन्द्रीय समाचार एजेन्सी (केसीएन)ले किमलाई आफ्नो अद्वितीय वैचारिक र सैद्धान्तिक बुद्धिका साथ उज्यालो मार्ग देखाउने उत्कृष्ट शिक्षकका रूपमा वर्णन गरेको थियो।

यसले किमका हजुरबुवा र बुवाको भन्दा किमको आइडियोलोजीलाई अघि सार्न खोजिएको विश्लेषकहरूको बुझाइ छ।

किमका बुवाले सैन्य क्षमतालाई प्राथमिकता राखे झैं किमले नागरिकलाई पहिलो प्राथमिकताको राखेको सेजोङ इन्स्टिच्युटमा उत्तर कोरियाली अध्ययन केन्द्रका निर्देशक चेओङ सेओङचाङको भनाइ छ।

यस्तै किमका हजुरबुवाको समाजवादी राज्य नीति भन्दा पर किमले देशभक्ति र उत्तर कोरियाली राज्यको निर्माणलाई प्राथमिकता दिएको उनको भनाइ छ।

आफ्नो आइडियोलोजिलाई अघि सारे पनि उत्तर कोरियाका लागि आगामी दशक महत्त्वपूर्ण रहने बताइन्छ।

किमले अब, सैन्य क्षेत्रलाई एक उचाइ दिइसकेसँगै अब, मानिसहरूको जीवनस्तर उकास्ने बाचा गरेका छन्। उत्तर कोरियामा प्रत्येक वर्ष १० लाख टन खाद्य अभाव हुने दक्षिण कोरियाको भनाइ छ।

विगत २ वर्षदेखि कोरोना भाइरसको महामारीका कारण उत्तर कोरियाको सिमाना पूर्ण रूपमा बन्द छ।

उत्तर कोरिया चरम आर्थिक सङ्कटमा रहेको खबर बेलाबेला आइरहने गर्छन् तर, त्यस्तो परिस्थितिमा पनि उत्तर कोरिया लचिलो रहेको देखिन्छ। यी सबै समस्याहरूलाई समाधान गरेर आर्थिक स्तर र जीवनस्तर उकास्ने चुनौती अब, किमसँग छ।

यसका लागि उनले अमेरिकी र अन्य प्रतिबन्धसँग लड्नु पर्ने देखिन्छ। तर, अहिले जो बाइडेन प्रशासनले उत्तर कोरियालाई प्राथमिकतामा राखेको भने छैन।

बाइडेन प्रशासनको ध्यान ताइवान र चीनतर्फ बढी देखिन्छ। जे हाेस किमले उत्तर कोरियालाई सैन्य सशक्तीकरणपछि अब, एक अर्को नयाँ उचाइमा लैजाने जिम्मेवारी बोकेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ