arrow

दक्षिणसँगको सीमामा सडक र पर्खाल बनाउँदै उत्तर कोरिया

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
north-south-korea.jpeg

काठमाडौँ ।उत्तर कोरियाको सेनाले असैन्यीकृत क्षेत्र (डिएमजेड) भित्र सडक र पर्खाल निर्माण गरिरहेको योनहाप समाचार एजेन्सीले शनिबार बताएको छ । उक्त क्षेत्रले उत्तर र दक्षिण कोरियालाई विभाजन गर्दछ । 

दक्षिण कोरियाली एजेन्सी योनहापले अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै डिएमजेडको बीचबाट जाने सैन्य सीमाङ्कन रेखा (एमडिएल) को उत्तरमा निर्माण गतिविधिहरू भइरहेको बताएको छ ।
    
गत साता उत्तर कोरियाली सैनिकहरूले केही समयका लागि एमडिएल पार गरेपछि दक्षिण कोरियाली सेनाले चेतावनीका रूपमा गोलीबारी गरेको घटनाको रूपमा यो रिपोर्ट आएको छ । 
    
दक्षिण कोरियाली अधिकारीहरूले सम्भवतः यो आकस्मिक भएको बताएका छन् । योनहापले एक सैन्य प्रवक्तालाई उद्धृत गर्दै केही उत्तर कोरियालीहरूले औजार बोकेर जाँदै गरेको बताएको छ । 

शनिबार योनहापका अनुसार सैन्य स्रोतले भनेको छ, “हालै उत्तर कोरियाली सेनाले सैन्य सीमाङ्कन रेखा (एमडिएल) र डिएमजेडमा उत्तरी सीमा रेखाको बीचको केही क्षेत्रमा पर्खाल लगाइरहेको छ, जमिन खनिरहेको छ र सडक निर्माण गरिरहेको छ ।”

उनीहरूले के निर्माण गरिरहेका थिए भन्नेबारे स्पष्ट नभएको स्रोतले योनहापलाई बताएको छ । रिपोर्टबारे सोधिएको प्रश्नमा दक्षिण कोरियाली सेनाले विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाली सेनाको गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ र निगरानी गरिरहेका छौँ, थप विश्लेषण आवश्यक छ ।”

सेनाले थप विवरण प्रदान नगरी ‘अपरेसनका साथ अगाडि बढिरहेका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न’ यी कार्यहरूमा दक्षिण कोरियाली प्रतिक्रिया साझा गर्न नसक्ने बताएको छ । 

दक्षिण कोरियाको गुप्तचर एजेन्सीले यसै साता उत्तर कोरियाले दुवै मुलुकलाई जोड्ने रेलवे लाइनका केही भागलाई भत्काइरहेको सङ्केत प्राप्त भएको बताएको थियो । त्यसपछि दुवै कोरियाबीच प्रचार युद्ध बढेको छ । 

उत्तर कोरियाले फोहरले भरिएका एक हजारभन्दा बढी बेलुन दक्षिणतिर पठायो । यसलाई प्योङयाङविरोधी कार्यकर्ताहरूले अर्को तरिकाले पठाएको प्रचार बेलुनहरूको प्रतिशोध भएको बताए । 

त्यसपछि दक्षिण कोरियाले सीमामा जडान गरिएका लाउडस्पिकरहरू प्रयोग गर्दै उत्तरमा के–पप गीत र समाचार प्रसारण पुनः सुरु गर्यो । लाउडस्पिकर अभियानको पुनः सुरुआतले उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङलाई अनिर्दिष्ट ‘नयाँ जवाफी उपाय’ को धम्की दिन उक्सायो । 

उत्तर कोरियाले आफ्नो सीमभित्र सूचना प्रवाहलाई कडाइका साथ नियन्त्रण गर्छ र आफ्ना जनतालाई दक्षिण कोरियाली सामग्री विशेषगरी पप संस्कृतिसम्म पहुँच प्राप्त गर्नेबारेमा अत्यन्त संवेदनशील छ । 

उत्तर कोरियाले यसअघि दक्षिण कोरियाली लाउडस्पिकरविरुद्ध तोप हमला गर्ने धम्की दिएको छ । यो सन् १९५०–५३ को कोरियाली युद्धको समयमा प्रयोग गरिएको मनोवैज्ञानिक युद्ध रणनीति हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ