arrow

नेपाली उद्योगबाट उत्पादित सामान प्रयोग गरेमात्र राष्ट्र समृद्धितर्फ अगाडि बढ्छ – मुख्यमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
269415636_995105611082184_8196686942455802155_n.jpg

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले औद्योगिक क्षेत्र प्रदेश सरकारको मातहतमा आएमा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुलाई २० वर्षसम्म ट्याक्स फ्री गरिदिएर पूर्ण क्षमतामा चलाउन सकिने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १७ औं वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपाली उद्योगबाट उत्पादित सामान प्रयोग गरेमा मात्र राष्ट्र समृद्धितर्फ अगाडि बढ्न सक्ने बताए । 

उनले भने, ‘स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति राज्यले लिनुपर्छ । औद्योगिक क्षेत्रमा रहेका उद्योगहरु रहेको जग्गा भवनको भाडा बढाउनुमात्र ठूलो कुरा नभई पूर्ण क्षमतामा चलाउन सक्ने वातावरण तयार गर्नु महत्वपूर्ण हो ।’

‘हालको अवस्थामा विद्यमान औद्योगिक क्षेत्र धरापमा रहेका छन् भने संघीय सरकार अझ थप औद्योगिक क्षेत्रका लागि डीपीआर तयार गर्दैछ । धेरै नेपाली युवाहरु रोजगारीको शिलशिलामा विदेश गएका छन्’, मुख्यमन्त्री पाण्डेले भने, ‘यस्ता युवालाई आफ्नै देशमा रोजगारीको सिर्जना गराउन सक्नुपर्छ ।’

यसको लागि दक्ष जनशक्ति तयार गर्ने योजना अगाडि सार्न सक्ने उनले बताए । उनले औद्योगिक क्षेत्र उद्योग महासंघले सहयोग रकम संकलन गरी आफ्नो कार्यालय भवन बनाई एक इटा थप गरेकामा खुशी व्यक्त गरे । 

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीहरुको समस्या समाधान गर्न सक्दो सहयोग गर्ने मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले आश्वासन दिए । 

उक्त कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रामहिरा पाठकले हाल औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुले सामना गर्नुपरेका समस्याहरु लगायतका विषय वस्तुहरुलाई समेटी आफ्नो मन्तव्य राखेका थिए । त्यस्तै नेपालका औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुले सामना गर्नुपरेका समस्याहरुको सम्बन्धमा सबै उद्योगीहरुको तर्फबाट पवन मित्तलले मन्तव्य राखेका थिए । 

महासंघका वरिष्ठ उपाध्यक्ष एजाज आलमले धन्यवाद मन्तव्य दिदै औद्योगिक क्षेत्रको व्यवस्थापन प्रदेश सरकार अन्तर्गत जानुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ