arrow

प्रशासनतन्त्र

प्रदेश २ मा किन जान्नन् सीडीओ ? सर्लाहीमा फेरिए वर्षमै सात जना

उपसचिव र उपसचिवभन्दा माथिका झण्डै आधा दर्जन कर्मचारीहरु अहिले गृहको बरण्डामा बस्ने गर्छन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
ministry-of-home.jpg
तस्बिर– फाइल

काठमाडौं । सर्लाही जिल्लामा एक वर्षको अवधिमा ७ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । सप्तरीमा एक वर्षको अवधिमा ४ जना फेरिए । सर्लाहीका तत्कालीन प्रजिअ बाबुराम खतिवडा एक हप्ताको बिदामा काठमाडौं आए । काठमाडौ फर्केपछि उनी सरासर गृह मन्त्रालयमा गए । गृहका उच्च कर्मचारीहरूले उनलाई पुनः सर्लाहीमा जान आग्रह गरे । 

उनले सर्लाही नजाने बरु मन्त्रालयको बरण्डामा बस्ने जवाफ फर्काए । गृहका कर्मचारीहरुको केही लागेन । उनी सर्लाहीमा जानै मानेनन्  । गृहले उनको ठाउँमा थानेश्वर गौतमलाई पठायो ।
 
यो घटनाको पुसको पहिलो हप्ता हो । ‘थानेश्वर पनि कति दिनसम्म हो ?’ गृहका कर्मचारीहरु भन्छन्  । एक वर्षको अवधिमा सर्लाहीमा ७ पटक सीडीओ  फेरिए । थानेश्वर अघि मोहनबहादुर जिसी, सुरेन्द्र पौडेल, नारायणप्रसाद भट्राई, हेमराज तामाङ, रामकुमार महतो तथा खतिवडा सर्लाहीको सीडीओ भइसकेका छन् । 

यसैगरी सप्तरीमा एक वर्षको अवधिमा जनार्दन गौतम, जयनारायण आचार्य, फनिन्द्र पोखरेल तथा शंकर आचार्य प्रमुख जिल्ला अधिकारी भएका छन् । अहिले  गौतम प्रजिअ छन् । 

दुृई–दुई महिनामा प्रजिअ परिवर्तन हुँदा सेवा ग्राही मर्कामा पर्ने गर्छन् । यतिमात्र नभइ प्रमुख जिल्ला कार्यालयबाट  हुने कार्यसम्पादन पनि प्रभावित हुन्छ । तर पनि प्रदेश २ मा कर्मचारी जानै चाहन्नन् । गए पनि विभिन्न माध्यम र पहुँच प्रयोग गरेर आफ्नो सरुवा त्यहाँबाट अन्य कार्यालयमा गराउँछन् । 

प्रदेश २ मा अवस्था यस्तो छ । अर्कोतिर गृह मन्त्रालयका उपसचिव र सहसचिव सरहका कर्मचारी काम नपाएर बरण्डामा बस्ने गर्छन् । उपसचिव र उपसचिवभन्दा माथिका झण्डै आधा दर्जन कर्मचारीहरु अहिले गृहको बरण्डामा बस्ने गर्छन् । 

उनीहरुलाई बस्ने कोठाकोसमेत व्यवस्था छैन । गृह स्रोत भन्छ, ‘गृहमा शाखा अधिकृत र शाखा अधिकृतभन्दा मुनिका कर्मचारी अभाव छ । त्यस्ता कर्मचारी झण्डै एक चौथाई जति अभाव छ ।’ 

गृह स्रोतका अनुसार प्रदेश २ मा उच्च कर्मचारी मात्र नभइ शाखा अधिकृत र शाखा अधिकृत मुनिका कर्मचारीहरुको पनि ठूलो संख्यामा अभाव छ । सामान्य मन्त्रालय स्रोतका अनुसार निजामति कर्मचारीहरुको लागि अहिले सबैभन्दा कम आकर्षक ठाउँ प्रदेश २ हो । 

त्यसमा पनि प्रदेश २ मातहतका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी जान मान्दैनन् ।  

सामान्यका एक उपसचिव भन्छन्, ‘खासगरी सेवाग्राहीहरुको बढी भीडभाड हुने ठाउँमा कर्मचारीहरुको आकर्षण घटेको छ । मधेसमा अहिले सिके राउतका कार्यकर्ताहरुले पनि कर्मचारीलाई दुःख दिने गरेको सामान्यका अर्का एक कर्मचारी बताउँछन् । 

‘कुनै कारणवश ५ मिनेट काम ढिलो हुने बित्तिकै  या त सिके राउतका कार्यकर्ता आउँछन् या युटुबर आउँछन् । अनि हामीलाई गाली गलौज र अभद्र व्यवहार गर्न थाल्छन् । त्यस्तो ठाउँमा हामीले कसरी काम गर्ने ?’ प्र्रदेश २ बाट सरुवा मिलाएर सामान्यमा फर्किएका एक कर्मचारीको दुःख यस्तो छ । 

गृहका एक उपसचिव भन्छन्, ‘हामीले जसो तसो गरेर कर्मचारी पठाउँछौ । उता सामान्यले हामीलाई थाहै नदिएर अर्को कार्यालयमा सरुवा गरिदिन्छ । कहाँबाट ल्याउने कर्मचारी ?’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ