arrow

राष्ट्रिय सभा निर्वाचनको काउन्टडाउन, एमालेलाई प्रदेश १ बाट झिनो आशा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
Parliament_building-1619601493.png

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा संघीय संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले एक्लिँदा भएको ८ सिट गुमाउने निश्चित प्रायः देखिएको छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच प्रतिस्पर्धा हुँदा साविकको पाँच सिट गुमाउने भएको हो । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनको उम्मेदवारीसमेत दर्ता भइसकेको छ ।  

सत्तागठबन्धनमा रहेका दलहरूले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागबण्डा गरेका छन् । यसले एमालेलाई आफ्ना सिट सुरक्षित गर्न कठिन बनाइदिएको छ । सत्तागठबन्धनमा रहेका दलहरूले यसअघि नै राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने सहमति गरेका थिए । राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बिदा हुँदै छन् । 

जसमा एमालेका आठ, माओवादी केन्द्र र एकीकृत समाजवादीका चार–चार, नेपाली कांग्रेसका तीन र मनोनित एक सांसद छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनित हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ । 

प्रदेश १ बाहेक अन्य प्रदेशमा गठबन्धनको अग्रता छ ।  प्रदेश १ मा जम्मा मतभार नौ हजार तीन सय १२ छ । आयोगले प्रकाशित गरेको नामावलीअनुसार यहाँ ९२ जना प्रदेश सभा सदस्य छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय ७२ जना छन । एमालेलाई प्रदेश १ मा झिनो आशा रहेको छ । त्यही अनुसार एमालेका नेताहरुको दौडधुप चलिरहेको छ ।

मनोनिततर्फ एक जनामा कसलाई पठाउने भन्ने टुंगिएको छैन । यसमा माओवादीका रामनारायण बिडारीको पद खाली हुने भएको हो । गठबन्धन दलहरुले रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको हो त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने सहमति गरी उम्मेदवार उठाएका छन् । एमालेसँग भएका आठ सिटमा भने कांग्रेसलाई तीन, जनता समाजवादी पार्टी नेपाललाई दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिएका छन् । 

गठबन्धनको सहमतिअनुसार प्रदेश १ का तीन सिटमध्ये महिलातर्फ एकीकृत समाजवादी, अन्यमा कांग्रेस र अल्पसंख्यकमा जसपाले उम्मेदवारी दिएका छन् । प्रदेश २ का दुई सिटमध्ये महिलातर्फ माओवादी र अन्यमा जसपा, बागमतीका दुई सिटमध्ये अन्यमा कांग्रेस र महिलातर्फ एकीकृत समाजवादी, गण्डकीका तीन सिटमध्ये महिलामा कांग्रेस, अन्य र दलित क्लष्टरमा माओवादीले उम्मेदवारी दिएका छन् । 

त्यस्तै लुम्बिनीका तीन सिटमध्ये पुरुष खुलामा कांग्रेस, महिलामा समाजवादी र दलितमा जनमोर्चा, कर्णालीका तीन सिटमध्ये महिलामा कांग्रेस, अपांगमा माओवादी र खुलामा एकीकृत समाजवादी तथा सुदूरपश्चिमका तीन सिटमध्ये खुलामा कांग्रेस, दलितमा माओवादी र महिलामा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् । 

गठवन्धनमा रहेका जुन–जुन दलको खाली भएको छ, त्यो खाली भएको सिटमा उसकै अधिकार रहेको छ । बाँकीमा बाँडफाँड गरिएको छ । जस्तो कांग्रेसको तीनवटा मात्रै खाली थियो, अब ६ वटा भएको छ । 

माओवादीको चारवटा सिट खाली भएको थियो, अब पाँचवटा भएको छ । एकीकृत समाजवादीको चारवटा खाली थियो, अब पाँचवटा भएको छ । जसपाको खाली थिएन, दुई सिट भएको छ । जनमोर्चाको खाली थिएन, एक सिट भएको छ । यो गठबन्धनमा सबैको सहभागिता रहोस् भन्ने उद्देश्यसहित सीट विभाजन भएको हो । 

एमालेले प्रदेश १ मा खुलातर्फ झापाका मोरङका गुरु बराल र सुमित्रा भण्डारीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, अल्पसंख्यकमा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा उम्मेदवार बनाएको छ । बरालसँग गठबन्धनको तर्फबाट कांग्रेसका गोपालकुमार बस्नेत तथा भण्डारीसँग एकीकृत समाजवादीकी जयन्ती राईले प्रतिस्पर्धा गर्नेछन्  । 

अल्पसंख्यकमा एमालेका शेर्पा र गठबन्धनले तय गरेका टंक राईसँग प्रतिस्पर्धा हुनेछ । त्यस्तै, प्रदेश २ मा गठबन्धनको तर्फबाट महिलातर्फ माओवादीकी उर्मिला अर्यालसँग एमालेकी विना साहले प्रतिस्पर्धा गर्दैछिन् । 

एमालेबाट खुलातर्फ धनुषाका असर्फी भिनवार यादव उम्मेदवार भएका छन् । बागमतीमा खुलातर्फ गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र एकीकृत समाजवादीका गोमा तिमल्सिना उम्मेदवार बनेका छन् ।

पौडेल र तिमल्सिनासँग एमालेबाट उम्मेदवार बनेका ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरकुमारी कुँवर (निरु) दर्लामीले प्रतिस्पर्धा गर्नेछिन् । निरु कुँवर माओवादीबाट एमालेमा आएकी हुन् । गण्डकीमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त तथा एमालेबाट उम्मेदवार बनेकी नवलपुरकी लीला पोखरेल थनेतबीच प्रतिस्पर्धा हुनेछ । 

गण्डकीमै एमालेले खुला पुरुषतर्फ कास्कीका पुण्यप्रसाद पौडेल र दलित कोटामा बाग्लुङका गोविन्दबहादुर नेपालीलाई उम्मेदवार भएका छन् । त्यहाँ गठबन्धनका तर्फबाट माओवादीले खुलामा सुरेश आलेमगर र दलित कोटामा भुवन सुनुवारलाई प्रतिस्पर्धामा उतारेको छ । 

लुम्बिनीमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा उम्मेदवार बनेका छन् भने उनीसँग एमालेबाट दाङका रामदयाल गुप्ताले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेसँग एमालेबाट उम्मेदवार बनेकी बाँकेकी भारती खनालले प्रतिस्पर्धा गर्नेछिन्। 

लुम्बिनीमा दलित कोटामा एमालेले गुल्मीका कृष्णबहादुर सुनारलाई उम्मेदवार बनाएको छ । त्यस्तै कर्णालीमा गठबन्धनबाट खुलातर्फ एकीकृत समाजवादीका उदय बोहरासँग एमालेका चूडामणि शर्मा तथा महिलातर्फ कांग्रेसकी दुर्गाकुमारी गुरुङसँग एमालेबाट जुम्लाकी गंगा थापा महतले प्रतिस्पर्धा गर्नेछिन् । 

त्यस्तै अल्पसंख्यक कोटामा गठबन्धनका तर्फबाट माओवादीका साहसी राजकुमारसँग एमालेका पदमबहादुर माझीले प्रतिस्पर्धा गर्नेछन् । 

सुदूरपश्चिममा गठबन्धनबाट कांग्रेसका नारायण मिश्र र एमालेका डिल्लीराज भट्ट तथा महिलामा मदनकुमारी शाह (गरिमा) र एमालेकी सन्तोषकुमारी शर्माबीच प्रतिस्पर्धा हुनेछ । दलित कोटामा एमालेले बैतडीका नरेश विकलाई उम्मेदवार बनाएको छ, तर गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जगतबहादुर पार्की उम्मेदवार बनेका छन् । 

निर्वाचनमा दुई हजार २५ मतदाता छन् । प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मतदाता हुन् । प्रदेश सांसदको ४८ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १८–१८ हुन्छ । 



नयाँ