- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कूल ३ सय ७२ मतदातामध्ये ९८ प्रतिशतले मतदान गरेका छन् ।
मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सिटका लागि निर्वाचन भएको हो । बिहान साढे १० बजेदेखि जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ । यो प्रदेशमा सत्ता गठबन्धन तथा नेकपा एमाले र लोसपाको गठबन्धनबीच चुनावी प्रतिस्पर्धा रहेको छ।
कुल ३ सय ७२ मत रहेको यस प्रदेशमा ३ सय ६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए । प्रदेशसभातर्फ १ सय २ र स्थानीय तहतर्फ २ सय ६४ मत खसेको प्याकुरेलले जानकारी दिए। स्थानीय तहतर्फ १ सय ३२ महिला र १ सय ३२ पुरुषले मत खसालेका छन्।
प्रदेशसभा सदस्यतर्फ २ जना र स्थानीय तह (प्रमुख, उपप्रमुख) तर्फ ४ जनाले मतदान गरेनन्। स्थानीय तहबाट २ सय ६८ मतदाता रहेका छन् भने प्रदेशसभा तर्फबाट १ सय ४ जना रहेका छन् ।
यहाँ दुई पदका लागि चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनका तर्फबाट पाँच दलका संयुक्त उम्मेदवारका रूपमा निर्मला अर्याल र खालिद् सिद्धिकी छन् । अर्याल नेकपा (माओवादी केन्द्र)की हुन् भने सिद्धिकी जनता समाजवादी पार्टी (जसपा)का हुन् ।
यस्तै, शुरुमा छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि गठबन्धन गरेको छ । यही माघ ६ गते दुवै दलका प्रदेश अध्यक्षले संयुक्त उम्मेदवारका रूपमा रूपा यादव र उसमान अन्सारीको नाम सार्वजनिक गरेका थिए ।