- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय सभाको १९ पदका लागि भएको निर्वाचनको मतपरिणामले पाँच दलीय गठबन्धनलाई फाइदा पुर्याएको छ । सत्ताधारी पाँच दलीय गठबन्धनविरुद्ध नेकपा एमाले मैदानमा खडा भएको थियो । जसमा गठबन्धनलाई फाइदा पुगेको छ ।
आगामी फागुन २० गते १९ निर्वाचित र एक राष्ट्रपतिबाट मनोनित (रामनारायण बिडारी) गरी २० जनाको पदावधि सकिँदैछ । जसमा आज १९ जना निर्वाचित हुँदा राष्ट्रपतिले एक जना मनोनित गर्नेछिन् ।
५९ सदस्यीय राष्ट्रिय सभाका १९ सदस्यमा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ गरी १९ सदस्यको पदावधि समाप्त हुँदैछ ।
मत परिणाम यस्तो छ–
लुम्बिनी प्रदेश–
अनुसार लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनले क्लिन स्विप गरेको छ । लुम्बिनीमा तीन वटै सिट गठबन्धनले जितेको छ । निर्वाचनका लागि पाँच दलीय गठबन्धनविरुद्ध नेकपा एमाले एक्लै प्रतिस्पर्धामा थियो । गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा विजयी भएका हुन् ।
एमालेको तर्फबाट उम्मेदवारी दिएका दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार पराजित भए । गठबन्धनका उम्मेदवारले चार हजार तीन सय ७४ मतभार प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले दुई हजार तीन सय १२ मतभार प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशबाट कोमल ओली, दीर्घनारायण पाण्डे र रामलखन चमारको चार वर्षे कार्यकाल सकिदैछ ।
सुदूरपश्चिम प्रदेश
राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । काँग्रेसका तर्फबाट उम्मेदबार बनेका नारायण मिश्रले विजयी भए । मिश्र प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८७२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले एमालेका डिल्लीराज भट्ट पराजय गरेका हुन् । भट्टले प्रदेशतर्फ ६२४ र स्थानीय तहतर्फ १२७२ मतभार प्राप्त गरेका छन् ।
महिला तर्फबाटकी सत्तागठबन्धनकी नेकपा एकीकृत समाजवादीकी गरिमा शाह विजयी भएकी छिन् । शाह प्रदेश सभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् । एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी हुन् ।
दलिततर्फ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जगत पार्की विजयी भए । उनले प्रदेश सभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन् । एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन् ।
बागमती प्रदेश
बागमती प्रदेशको दुई रिक्त पदमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलामा गोमादेवी तिमल्सिना र अन्यमा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसका हुन् ।
तिमल्सिना ४ सय ६३ तथा पौडेल ४ सय ५० मतभारले विजयी भएका हुन् । तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरिन् । नेमकिपाकी उम्मेदवार गीता काफ्लेले १३२ मतभार प्राप्त गरिन् ।
अन्यतर्फ पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन् भने उनका निकटतम एमालेका उम्मेदवार गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा तीन रिक्त पदमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । जसमा नेपाली कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादीका उदय बोहरा विजयी भएका हुन् ।
गुरुङले दुई हजार ९ सय ७० तथा विष्ट र बोहोराले तीन हजार ६ मतभार प्राप्त गरेका छन् । तीन मत बदर भएका छन् ।
पराजित उम्मेदवारहरु नेकपा एमालेका हुन् । गंगा थापा महतले एक हजार ४ सय १६, पदमबहादुर माझीले एक हजार ३ सय ९८ र चूडामणि शर्माले एक हजार ४ सय १६ मतभार प्राप्त गरे ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन् ।
विजयीमा महिलातर्फकी पन्त नेपाली कांग्रेस तथा अन्यतर्फका आले र दलिततर्फका सुनार माओवादी केन्द्रबाट गठबन्धन उम्मेदवार थिए ।
विजयीमा महिलातर्फ पन्तले ३ हजार ८४, आलेले ३ हजार ९६ तथा सुनारले ३ हजार ४८ मत भार ल्याएका हुन् ।
पन्तले निकटतम प्रतिस्पर्धी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरेकी हुन् । पन्त गठबन्धनकी उम्मेद्वार हुन् भने थनेत एमालेबाट उम्मेद्वार बनेकी हुन् । पन्तले तीन हजार ८४ मतभार पाउँदा थनेतले दुई ७२४ मतभार पाइन् । गठबन्धनबाट सात मत क्रस भएको छ ।
प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छोडेका थिए । पन्तले प्रदेश सांसदबाट २९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत पाइन् ।
स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत पाएकी छिन् भने थनेतले ७४ मत पाइन् ।
दलित कोटा पनि गठबन्धनले जितेको छ । गठबन्धनका भुवन सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन् ।
सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए । यो क्लष्टरमा पनि एक सांसदले खाली छोडेका थिए भने दुई जनप्रतिनिधिको मत बदर भएको छ । १ मतपत्र खाली छ ।
प्रदेश १
राष्ट्रिय सभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।
एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन् भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् । तीन मत भने बदर भएको थियो ।
प्रदेश १ बाट नेकपा एमालेले भने खाता खोल्न सफल भएको छ । सोनम ग्याल्जेन शेर्पा अल्पसंख्यक क्षेत्रबाट राष्ट्रिय सभामा निर्वाचित भएका छन् । उनले चार हजार सात सय ३४ मत ल्याए ।
उनका प्रतिद्वन्द्वी गठबन्धन उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का हेमराज राईले ४ हजार ३ सय ६८ मत ल्याए ।
तेस्रो भिडन्त भने रोचक रह्यो । नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेत गोला प्रथाबाट निर्वाचित भए । गठबन्धनबाट उम्मेदवार बनेका बस्नेत र एमाले उम्मेदवार गुरु बरालको समान मत आएपछि गोलाप्रथाबाट बस्नेतको भाग्य चम्किएको हो । यसअघि दुवै उम्मेदवारले समान ४ हजार ४ सय ८८ मत ल्याएका थिए ।
मधेस प्रदेश
मधेस प्रदेशमा सत्तारूढ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल निर्वाचित भएकी छिन् । नेकपा माओवादी केन्द्रकी अर्यालले ६ हजार १ सय ५६ मतभार पाएकी हुन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीकी रूपाकुमारी यादवलाई पराजित गरेकी हुन् । यादवलाई नेकपा एमालेले पनि समर्थन गरेको थियो ।
त्यस्तै सत्ता गठबन्धनका मोहम्मद खलिद सिद्दिकी विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का सिद्दिकीले ६ हजार ६ सय ७८ मतभार सहित विजय हासिल गरेका हुन् ।