arrow

राष्ट्रिय सभा निर्वाचन

गठबन्धनमा धोकाबाजी, एक्लै लडेका एमाले उम्मेदवारको कसरी आयो बढी मतभार ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
gathabandhan baithak.jpg
तस्बिर– फाइल

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको मोर्चा खास बलियो देखिएन । आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन कायमै रहे पनि मतदातालाई प्रभाव पार्न कठिन रहेको संकेत गरेकाले बलियो नदेखिएको हो । सात वटै प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले स्वंयले अपेक्षा गरेको भन्दा पनि बढी मत पाएको छ । 

सो मतलाई हेर्ने हो भने आउने निर्वाचनमा गठबन्धन दलमाथि धोका हुने स्पष्ट देखिएको एक एमाले नेताले बताए । उनका अनुसार देशभर एमालेविरुद्ध गरिएको गठबन्धनले जित त निकाल्यो तर त्यो प्रयाप्त होइन । अहिलेको जनमत भरोसायोग्य पनि होइन । अहिले नै एमालेको पक्षमा आएको मतबाट हेर्ने हो भने गठबन्धनका लागि घाटा देखिएको छ । 

हाल गठबन्धनमा रहेका दलहरुमध्ये नेकपा एकीकृत समाजवादी र माओवादीबाट केही मतहरु क्रस भएको अनुमान गरिएको छ । गठबन्धनका उम्मेदवारले जितेको भए पनि आउने भनेको सबै मत गठबन्धनका उम्मेदवारले प्राप्त गरेका छैनन् । एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार एमालेकै चुनाव जितेका नेताहरुले गठबन्धनका उम्मेदवारलाई मत दिएको देखिएन । 

उनका अनुसार गोप्य मतदान भएकै कारण पनि सहज भएको हो । खासगरी एमालेका नेताहरु हार्नेछन् भन्ने जानकारी भए पनि स्थानीय जनप्रतिनिधिहरुको मनसाय पनि बुझ्नु पर्ने अवस्था आएकाले उनीहरुको रुची त्यसमा नदेखिएको बुझिन्छ । नेपाली कांग्रेसका अधिकांश जनप्रतिनिधिहरुको रुची गठबन्धनमा नदेखिएकाले एमालेलाई मत प्राप्त भएको एमाले नेताहरुको दाबी छ । ‘यो गठबन्धनको विषयमा हामीले केही भन्नु छैन, एमालेविरुद्ध उहाँहरुको अन्तिम किस्ता मात्रै हो’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने ।
  
सात वटै प्रदेशमा गठबन्धन दलको स्पष्ट बहुमत देखिएको भए पनि त्यो बहुमत एक नम्बरमा कायम भएन । एमालेको भनाइलाई आधार मान्ने हो भने एमालेले कांग्रेस, एस पार्टी र माओवादीकोसमेत मत पाएको छ । विगतमा एमालेबाटै निर्वाचित भएका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेका कारण पनि एमालेले अपेक्षा गरेको भन्दा बढी मत पाएको छ । 

सो मतकै आधार पनि एमालेविरुद्धको घेराबन्दीलाई स्वंय गठबन्धनमा रहेका नेताहरुले नरुचाएको एमालेको दाबी छ । एमालेविरुद्ध क्लिन स्विपको नीति लिएका गठबन्धन दलका नेताहरुको सो नीतिलाई रोक्न एमाले सोलुखुम्बूका नेता सोनाम ग्याल्जेन सफल भए । त्यतिमात्र होइन गुरु बराललाई आएको मत पनि एमालेका लागि सर्वाधिक नै हो । 

यदि एमालेका एक सांसदले मतदान गर्न पाएको भए उनले निर्वाचन जित्ने थिए । उनलाई पनि एस र माओवादीको मत गएको अनुमान छ । एमालेकै सीटमा गठबन्धनले सीट बाँडफाँड गरेका थिए । निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ । 

एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका हुन् । प्रदेश १ मा जसपा छुटेको छ । जसपाका केन्द्रीय सदस्य आङकाजी शेर्पाले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार भएका हेमराज राईको पराजयलाई राजनीतिक वेश्यावृत्तिको संज्ञा दिएका छन् ।

प्रदेश १ को मतलाई हेर्ने हो भने माओवादी र नेकपा एसले जसपा र कांग्रेसलाई धोका दिएको स्पष्ट देखिन्छ । किनभने कांग्रेसकै मतबाट नेकपा एस विजयी हुने तर कांग्रेसका उम्मेदवार बराबरीमा गोला तान्नुपर्ने अवस्था आएपछि माओवादी र एस पार्टीले धोका दिएको स्पष्ट भएको छ । 

त्यसकारण पनि गठबन्धनमा धोकाधडी उत्पन्न भएको आँकलन गर्न थालिएको हो ।  प्रदेश १ मा एमालेका कूल ४० प्रदेश सांसद रहेकामा एमालेमा शेर्पाले ४२ जना सांसदको मत पाएका थिए । त्यस्तै स्थानीय तहका गठबन्धनका ११ जनाको १९८ मतभारसमेत गरी कूल २९४ मतभार गठबन्धनबाट पाएपछि उनी विजयी भएका थिए । 

एमालेलाई क्लिनस्विप बनाउन कांग्रेस नेतृत्वको गठबन्धनको प्रयास प्रदेश १ मा सफल नभएपछि एमाले उत्साहित भएको छ  । गठबन्धन दलले प्रदेश १ बाहेक सबै प्रदेशमा एमालेलाई एक्लो बनाए पनि एमालेले प्रदेशको नतिजा र अन्य प्रदेशमा आएको अपेक्षाकृत मतबाट भने गठबन्धन भत्किनेमा उत्साहित बनेको छ ।
 
राष्ट्रिय सभाका १९ सांसदको चार वर्षे कार्यकाल सकिएपछि बुधबार भएको मतदानमा एमालेले प्रदेश १ बाहेक अन्य ६ प्रदेशमा भने ७ सिट गुमाएको छ । 



नयाँ