- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा आगामी फाल्गुनमा हुने भएको छ । क्यानको बिहीबार बसेको बोर्ड बैठकले साधारणसभा १३ र १४ फागुनमा धनगढीमा गर्ने निर्णय गरेको हो ।
यस अघि माघमा साधारणसभा धनगढी गर्ने भनिए पनि २० जिल्ला संघको अधिवेशन नभएका कारण रोकिएको थियो । यस्तै सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।
यता, अनुशासन उल्लङ्घन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय समेत फिर्ता लिइएको छ ।
यस्तै ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप रु १ लाख जनही र महिला खेलाडी ज्योति पाण्डेलाई रु ५० हजार प्रदान गर्ने क्यानके निर्णय गरेको छ ।
यस्तै राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि रु एक लाख पचास हजार सहयोग गर्ने निर्णय गरिएको छ ।
संघले आर्थिक समितिको संयोजकमा रोशन कुमार सिंह, छनोट समितिको संयोजकमा दीपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा कैलाश विस्ट लाई मनोनयन गर्ने निर्णय गरेको छ।