arrow

म्यानमार द्धन्द्धकाे चपेटामा फस्दा 'विश्व हेरेर बसिरहेकाे छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
myanmar-military-coup1.jpg

काठमाडौं । म्यानमारमा जनर्निवाचित सरकार हटाएर सेनाले कु गर्दै सत्त हत्याएको एक वर्ष पूरा भएको छ । सन् २०२१ को फेब्रुअरी १ मा म्यानमारका सेना प्रमुख मिन ओङ ह्लाइङले आङ साङ सुकी नेतृत्वको सरकारलाई हटाउँदै सत्ता कब्जा गरेका थिए ।

सुकी अहिले समेत नजरबन्दमै रहेकी छन्, भने उनलाई अनेकौं आरोपमा दोषी ठहर गराइएको छ । यस्तै, अन्य दजर्नाैं नेताहरुलाई हिरासतमा राखिएको छ ।

सैन्य विद्रोह एक वर्ष पुगेका बेला म्यानमारमा अन्तर्राष्ट्रिय कारबाहीका लागि चर्काे आह्वान बढ्दै गएको छ ।

खासगरी सेनाले पदबाट हटाएकाहरुले बनाएको राष्ट्रिय एकता सरकार (एनयुजी)ले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गरिरहेको छ ।

'विश्वले हेरेर बसिरहनु बाहेक अरु केही गरेको छैन्', एनयूजी सरकारका विदेशमन्त्री जिन मार अङले अल जजीरालाई भनेका छन् ।

'हामीले गत वर्षमा जनताविरुद्ध चरम क्रूरता र अत्याचार देखेका छौं। (सैन्य) शासन स्वीकार नगर्ने भनिरहेका युवा पुस्ताबाट पनि स्पष्ट संकल्प देखेका छौं', उनले भनेका छन् ।

म्यानमारमा पछिल्लो समय सर्वसाधरण, प्रदर्शनकारीहरू र राजनीतिक कार्यकर्ताहरूविरुद्धका आक्रमणहरू बढेका छन् ।

अश्रुग्यास र कुटपिटबाट सुरु भएको जनतामाथिको आक्रमण अहिले हवाई हमला, पूरै गाउँ जलाउनेदेखि देशभर लक्षित गोलीबारी गर्नेसम्म पुगेको छ ।

सेनाको राजनीतिक दमनको सिकार भएकी जिन मार अङलाई सन् १९९८ मा राजनीतिक सक्रियताका कारण २८ वर्षको जेल सजाय सुनाइएको थियो । उनले तीमध्ये नौ वर्ष एकान्त कारावासमा बिताइन् र ११ वर्षपछि रिहा भइन्।

तर, जिन मार आङले वर्तमान हिंसा सन् १९८० र १९९० को दशकको अघिल्लो सैन्य शासनको कालो दशकभन्दा झनै खराब भएको बताएकी छन् ।

म्यानमारमा सैन्य कु भएयता १५ सय भन्दा बढी मानिस मारिएका छन् । ह्युमन राइट्स वाचले कयौं प्रदर्शनकारीहरुलाई मारिएको र मानवताविरोधी अपराध बढेको बताएको छ ।

गाउँहरुमाथि आक्रमण गर्ने घटनाहरु समेत पछिल्लो समय बढेका छन् । म्यानमारको अवस्था नियन्त्रण गर्न र शान्त पार्न सन् २०१३ देखि म्यान्मारमा काम गरिरहेको फोर्टिफाई राइट्सले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई हतियार प्रतिबन्ध लगाउन आह्वान गरिरहेको छ।

फोर्टिफाई राइट्सका क्षेत्रीय निर्देशक इस्माइल वोल्फले भने भिटो शक्ति रहेका चीन र रुसले इच्छा नदेखाउँदा यो कदम सफल नहुने चिन्ता व्यक्त गरेका छन् ।

गत वर्षको अप्रिलमा आसियानसँग सहमति गरेको हिंसा अन्त्य गर्ने योजना कार्यान्वयन गर्न कु गर्ने सेना प्रमुख मिन ओङ ह्लाइङले अहिलेसम्म कुनै प्रतिबद्धता देखाएका छैनन्। संयुक्त राष्ट्रसंघीय कारबाहीको अभावमा म्यानमारमा कयौं आर्थिक गतिविधिहरुमा अन्योल छाएको छ ।

म्यानमारको अवस्था संकटतर्फ धकेलिदै गएको छ भने, हिंसा र मानव दमनका घटना बढेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ