काठमाडौं । फिनिसर शरद भेषावकरले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ‘कमब्याक’ गर्दैछन् । यहि अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमा छनोट गराउने योजनामा छन् । उनकै शब्दमा भन्ने हो भने,‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ ।’
यसअघि नेपाली टोलीले सन् २०१४ मा ढाकामा विश्वकप खेलेको थियो । त्यसयता, टोलीले त्यतिको ठूलो उपलब्धी हासिल गर्न सकेको छैन । तत्कालीन कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन् । यस पटक टोलीको कप्तानी गर्दैछन् युवा लेग स्पिनर सन्दीप लामिछाने ।
यता प्रशिक्षकसमेत उनै पुबुदु दासानायके नै छन् । उनकै प्रशिक्षणले तत्कालीन समयमा नेपालले विश्वकप खेलेको थियो । सोही टोलीमा रहेका ज्ञानेन्द्र मल्ल र शरद हाल टोलीको साथ छन् ।
प्रशिक्षक पुबुदुले १६ सदस्यीय खेलाडी यस अघिनै घोषणा गरिसकेका छन् । अनुभवी खेलाडी शरद प्रतियोगिताको दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा हात पार्न सके विश्वकपमा पुग्ने आशावादी छन् । ‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ । दुई खेलमा हामीले हाम्रो उत्कृष्ट प्रदर्शन दियौं भने पक्कै छनोट हुनेछौं ।’
३३ वर्षीय दाया हाते ब्याटर शरद भन्छन् । ‘मलाई लाग्छ, यो खेल कमब्याकभन्दा पनि अर्को एउटा खेल खेलेको जस्तो लागेको छ । टिम पनि सन्तुलित छ । सबै खेलाडीहरू युवा छन् । सबै तयार छन् ।’
नेपालले आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित क्यानाडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन् ।
नेपालले ६ फागुनमा आयोजक ओमानसँग, ७ फागुनमा फिलिपिन्ससँग र ९ फागुनमा क्यानाडाविरुद्ध खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
१२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।
ग्लोबल छनोटअघि नेपालले २८ माघबाट चार देशीय टी–२० शृंखला खेल्दैछ । जसअन्तर्गत २८ माघमा ओमान, २९ माघमा संयुक्त अरब इमिरेट्स् (यूएई) र २ फागुनमा आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रशिक्षक दासानायके भन्छन् –टोलीको तयारी योजनाअनुसार नै भइरहेको छ
दासानायके नेपाली टोलीको तयारी योजनाबद्ध तरिकाले भएको र टोली विश्वकप छनोटका लागि आशावादी रहेको बताउँछन् । ‘अभ्यास योजनावद्द रुपमा भईरहेको छ । शुरुमा केही चुनौतीको सामना गर्नुपर्यो । अहिले सबै ठिक छ । टोलीको तयारी सबै राम्रो छ । मैले चाहेको जस्तै भएको छ ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका पुबुदु भन्छन् ।
पावर हिटर लोकेश बम र अलराउन्डर विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । पछिल्ला वर्षहरूमा नेपालले बलिङमा राम्रो प्रदर्शन दिँदै आए पनि ब्याटिङ सुखद् रहन सकेको छैन । तर, यसपटक टोलीले युवा खेलाडीको साथमा राम्रो प्रदर्शन दिँदै आएको छ । कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख जस्ता खेलाडी यसका उदाहरण हुन् ।
टोलीका कप्तान सन्दीप सन् २०१४ मा पूर्व कप्तान पारसले खडा गरेको विरासतलाई अगाडि बढाउने जिम्मेवारी आफूसहित टोलीलाई रहेको बताउँछन् । ‘पारस दाईले आफ्नो नेतृत्वमा खेलाएर एउटा विरासत खडा गरेर छोड्नु भएको छ । त्यो विरासतलाई अगाडि लिएर जाने जिम्मेवारी मेरो मात्रै हैन, सबै टिममाथि छ । त्यो सन् २०१४ को विश्वकप खेलेको क्षणलाई फेरि फिर्ता ल्याएर फेरि विश्वकप खेल्ने मेरो मात्रै हैन पूरा नेपाली जनताको चाहना छ ।’ पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी समाल्न लागेका २१ वर्षीय सन्दीप भन्छन् ।