arrow

पावर ब्रोकर्सहरु लागे ओली र प्रचण्डबीच संवाद गराउन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
oli-prachanda-final.jpg
तस्बिर– फाइल

काठमाडौं । सत्ता गठबन्धनमा खटपट आएपछि केही ‘पावर ब्रोर्कस’हरुले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद गराउने  कोसिस शुरु गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश गराउने तर माओवादी अध्यक्षले पार्टीको दबाबका कारण तत्काल संसदमा लैजान नचाहेपछि शुरु भएको खटपटको फाइदा उठाउँदै ओली र प्रचण्डबीच संवाद गराउने प्रयास शुरु भएको हो ।

यसका लागि चिनियाँ राजदूतावास, नेपाल–चीनबीच व्यापार गर्ने केही व्यापारीहरु तथा काठमाडौंका व्यापारिक घरानाले यसको पहल गरेका हुन् । एक हप्ताअघि नै यसको प्रयास भएको थियो । तर सो नेकपा एमालेका दोस्रो तहका नेताहरुले यो विषयलाई चाँसो दिएका छैनन् । 

ओली आफैंले पनि प्रचण्डसँग एकल भेटघाटका लागि तयार नभएका कारण रोकिएको छ । ‘एक साताअघि ओली–प्रचण्डको संवाद खुलाउने गरी कुराकानी भएको तर त्यसले कुनै मूर्तरुप पाएको छैन’, स्रोतले भन्यो । 

स्रोतका अनुसार प्रचण्ड निवास खुमलटार र वालकोट गरिरहेको समूहनै संवाद खुलाउन लागेको हो । स्रोतका अनुसार भेटघाटका लागि प्रचण्ड तयार भए पनि ओली तयार नभएपछि त्यो प्रस्ताव अलपत्र परेको छ । ‘व्यापारीको एउटा समूहले ओली र प्रचण्डलाई संवाद गराउन पहल गर्न चिनिया दूतावाससमेत गुहारेका रहेछन्’, स्रोतले भन्यो ।
 
एमसीसीबारे दोहोरो नीति सार्वजनिक भइसकेपछि पार्टीभित्र निकै आलोचना खेपिरहेका प्रचण्ड आफैंले पनि ओलीसँग भेटघाट गर्न चाहिरहेका छन् । एकातर्फ कांग्रेसभित्र निर्वाचनमा गठबन्धन गर्नु नहुने आवाज बलियो बन्दै गएको र अर्कातर्फ एमालेले सत्ता गठबन्धन चाँडै टुटोस् भन्ने चाहाना राखेपछि अप्ठेरोमा परेका प्रचण्डले ओलीसँग संवादको इच्छा व्यक्त गरेको स्रोतको दाबी छ ।

व्यापारीहरु अजयराज सुमार्गी, रामेश्वर थापा र टोपेन्द्र तिमिल्सिना हुन् । दुई जना झापेलीहरु हुन् । उनीहरु चिनियाँ पक्षका हुन् । एक झापेली भने नेपाली कांग्रेस समर्थक भए पनि स्वार्थमा लागेर ओली र प्रचण्डबीच संवाद गराउन लागेको उच्च स्रोतले बताएको छ । 
 
डेढसाता अघि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओसँगको कुराकानी पनि एमसीसीलाई पछि धकेल्ने र सत्ता गठबन्धन टुट्ने अवस्था आए गठबन्धन छाडेर बाहिर निस्कने सम्मको कुराकानी भएको थियो । 

त्यसक्रममा माओवादी केन्द्रलाई आवश्यक पर्ने चुनावी बजेटको समेत व्यवस्था गरिदिने संकेत गरिएको थियो । सभामुख अग्निप्रसाद सापकोटा, माओवादीका नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुनले चिनियाँ पक्षबाट पार्टीभित्र बलियो जनमत तयार गरेका छन् । 

देवप्रसाद गुरुङ, लिलामणी पोखरेल लगायतका नेताहरुले पनि पार्टीभित्र एमसीसी विरोधी जनमत बलियो बनाउँदै लगेका बेला प्रचण्डले एक पटक ओलीसँग भेटघाट गरी संवादहीनताको ‘चेन ब्रेक’ गर्न लागिरहेको स्रोतको दाबी छ । 

डेढ साताअघि ओली भेटघाटका लागि तयार भएमा बानेश्वरस्थित एक व्पापारिक भवनलाई भेटघाटस्थल तय गरिएको थियो । तर ओलीले भेटघाटमा कुनै रुची नदेखाएपछि केही व्यापारीहरु एमाले महासचिव शंकर पोखरेललाई भेट्न पुगेका थिए । 

पोखरेल यस विषयमा स्पष्ट जवाफ नदिएको स्रोतले जनाएको छ । ‘एमालेभित्र एमसीसीको विषयमा उपमहासचिवद्धय विष्णु रिमाल र प्रदीप ज्ञवालीले मात्रै आफ्नो धारणा राखिरहेको र अन्य नेताहरुले मुख नखोलेको अवस्थामा प्रचण्डबाट भेटघाटको प्रस्ताव आएको हो । तर ओलीले यसलाई रुची देखाउनु भएन’, एमाले एक उच्च नेताले भने ।  

सत्ता गठबन्धन बलियो छैन भन्ने संकेत पनि आएको भन्दै एमालेका उच्च नेताले भने, ‘जब केही व्यक्तिहरु ओली र प्रचण्डको संवाद गराउने प्रस्ताव लिएर आउनु भयो त्यसपछि हामीले भन्यो संवाद हुनसक्ला तर गठबन्धन संभव छैन ।’ 

एमाले नेताहरु माओवादीसँग गठबन्धन गर्ने भन्दा पनि सत्ता गठबन्धन भत्काएर एक्लाएक्लै निर्वाचन सहभागी पक्षमा रहेका छन् । तर प्रचण्डलाई भने यसपटक सत्ता गठबन्धनबाटै धोका हुन सक्ने शंका भएपछि ओलीसँगको संवादको कोसिस गरिएको स्रोतले जनाएको छ । यद्यपि यो क्रम जारी रहने ‘पावर ब्रोकर्स’हरुको दाबी छ ।

यसअघिको यही संवादले २०७४ सालको निर्वाचनमा एमाले र माओवादीबीच चुनावी एकता गराएको थियो । त्यसले २०७५ को जेठ ३ गते पार्टी एकता भएर नेकपा पार्टी बनेको थियो । 

तर यिनै दुई नेताहरुको जुँगाको लडाइँले गर्दा पार्टी नै फुट्यो । सर्वोच्च अदालतले २०७७ को फागुन २३ गते पुरानै एमाले र माओवादी केन्द्रमा फर्काइदिएको थियो । 

अब फेरि चुनाव आउँदै गर्दा प्रचण्डलाई भने कांग्रेससँग भन्दा एमालेसँगै एकता गरेर अगाडि बढ्न दबाब आएको बुझिन्छ । 

कांग्रेससँग २०७४ को स्थानीय तहको निर्वाचनका केही स्थानमा चुनावी तालमेल गरेर माओवादीले फाइदा उठाएको थियो । प्रचण्डले आफ्नै छोरी रेणु दाहाललाई चितवन महानगरपालिकाको मेयर बनाएका थिए । उक्त क्षेत्र कांग्रेसको गढ थियो । 



नयाँ