arrow

विद्युत प्राधिकरणका प्रमुख सेनको अनियमितता छानबिनमा ढिलाइ, समितिले बुझायो रिपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
paramardhir-sen-nea.jpg

विराटनगर । नेपाल विद्युत प्राधिकरण कंक्रिट पोल प्लान्ट टंकी सिनवारी मोरङमा स्थापना भएको पोल प्लान्टमा भएको भ्रष्टाचार तथा अनियमिततामाथि छानबिन गरी उक्त कार्यालयका प्रमुख परमारधिर सेनलाई कारबाहीको माग गर्दै गत कार्तिक १२ गते परेको निवेदनमा छानबिनमा ढिलाई भएको छ । 

गत कार्तिक १२ गते अनियमितता र भ्रष्टाचार सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको थियो । त्यसपछि मात्रै पुस ६ गते अख्तियारले नै फिल्ड रिपोर्ट तयार गर्नका लागि चार सदस्यीय समिति बनाएको थियो । रामकुमार यादवको संयोजकत्वमा समिति बनेकामा उक्त समितिले बुधबार (माघ) २६ गतेमात्रै रिपोर्ट बुझाएका छन् । 

हाम्राकुरासँग यादवले फिल्डमै गएर रिपोर्ट तयार गर्दा ढिलाइ भएको बताए । उनले कोरोनाका कारण समयमा रिपोर्ट तयार गर्न नसककिएको बताए । उनले भने, ‘कोरोना लाग्यो कमिटीका साथीहरुलाई । त्यसले गर्दा ढिला भयो ।’

उनले कस्तो रिपोर्ट आयो भन्नेबारे भने बताउन चाहेनन् । गोप्य कुरा भन्न नमिल्ने भनी उनी पन्छिए । 

प्रमुख सेनाका विरुद्ध अख्तियारमा परेको निवेदनमा ‘विभिन्न सात वटा बुँदा बनाएर पेश गरिएको छ । जसमा पहिलो नम्बरमा ‘टेन्डर प्रक्रिया मार्फत गर्नुपर्ने मेशीन तथा उपकरण खरिद र निर्माण कार्यहरुलाई टुक्रा टुक्रा गरी मोटो रकम कमिशन लिइ कोटेशनमार्फत गराएको । यसरी कोटेशनमार्फत गराउँदा प्रचलित बजार भाउभन्दा पाँच गुणा महंगोमा गुणस्तरहीन सामान खरिद गर्ने गरेको’ उल्लेख छ । 

त्यस्तै दोस्रो नम्बरमा ‘ओपीसी ५३ ग्रेडको सिमेन्ट खरिदको टेन्डर गरेकोमा ४३ ग्रेडको सिमेन्ट खरिद गरी गुणस्तरहीन कार्य गराएको । कमसल गुणस्तर भएका कारण सिमेन्ट गोमाममै जमेको अवस्थामा रहेको । निर्माण कार्यको लागि आपूर्ति भएका गिट्टी तथा बालुवा कम गुणस्तरको रहेको तथा तोकिएको परिमाणमा नल्याइ बिलमात्र लिएर भुक्तानी गरेको’ उल्लेख छ । 

त्यस्तै तेस्रो नम्बरमा, ‘प्लान्टमा जडढान भएका क्रेन, बोइलर जस्ता मेशीन तथा उपकरणमा तोकिएको गुणस्तर नभएको तथा क्रेन खरिद गर्दा तोकिएको मापदण्ड विपरीत भएको’ आरोप लगाइएको छ । 

चौथो नम्बरमा ‘पोल प्लान्टमा जडान गरिएका उपकरण तथा जीआई पाइपहरु कवाडीबाट खरिद गरी फिटिङ गराएको, तोकिएको मापदण्ड भन्दा फरक साइजको क्रेन खरिद गरेको । जमीन सम्याउन ठेक्का दिए तापनि काम नगराई बिलमात्र भुक्तानी दिइ अनियमितता गरेको’ आरोप लगाइएको छ ।

पाँचौं नम्बरमा ‘जिल्ला दररेटमा अनावश्यक ढुवानी रकम थप गरी दररेट तोडमोड गरी लागत इष्टिमेट नै बढी गराई ई–बिडिङमार्फत गर्ने खरिदमा समेत सूचना चुहावट गरी बोलपत्रदातालाई मिलेमतोमा बोलपत्र गर्न लगाउने गरेको’ आरोप लगाइएको छ । त्यसमै ‘बोलपत्र फर्म किन्ने बोलपत्रदातालाई मोबाइलबाट धम्की दिइ मिलेमतो गराउन बाध्य पार्ने गरेको । नोभेम्बर १३ मा खुल्ने ठेक्काको लागिसमेत बार्गेनिङ गरिरहेको, मिलेमतो गराउँदा मोटो रकम कमिशन लिने गरेको । कमिशनको रकम लिन मकवानपुर, चित्लाङका साझेदार अर्जुन खत्रीको बैंक खाता प्रयोग गर्ने गरेको’ आरोप लगाइएको छ ।

छैटौं नम्बरमा ‘कार्यालय प्रमुख काठमाडौंमा नै रहने गरेको लेखा प्रमुखलाई काम नदिई कम्प्युटर अपरेटरलाई चेक बनाउन दिएको । स्वार्थ अनुरुप कार्य गरिदिए बापत कम्प्युटर अपरेटर राजेशप्रसाद राजथलालाई अनधिकृत रुपमा काज दिने गरेको । फिल्ड नै नगई भ्रमण भत्ता तथा गाडीको इन्धन बिल पेश गरी लाखौं रुपैयाँ नोक्सान गरी हानी पुर्याएको’ आरोप लगाइएको छ । 

सातौं नम्बरमा ‘हरेक कार्यमा हस्तक्षेप गरी कमिशन उठाउने युनियनका अध्यक्ष र कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो साथी रहेकाले कसैले आफूलाई हल्लाउन नसक्ने भन्दै ठेकेदारलाई धम्की दिने गरेको’ आरोप लगाइएको छ । 

प्रमुख सेनलाई अकुत सम्पत्ति आर्जन गरी काठमाडौंको कोटेश्वर र भक्तपुरको ठिमीमा घर घडेरी जोड्न सफल भएको भन्दै यथाशीघ्र निलम्बन गरी सम्पत्ति छानबिन तथा आवश्यक कारबाही गरी विद्युत प्राधिकरणको सेवामा शुद्धीकरण गर्न आवश्यक रहेको पनि उल्लेख गरिएको छ । 

यता, आरोप लागेका प्रमुख सेनले भने आफूमाथि लागेका आरोप निराधार भएको बताएका छन् । उनले काम गर्दा केही गल्ती हुने तर कुनै खराब नियतले नभएको स्पष्ट पारे । उनले भने, ‘घरै बनाउँदाखेरी थोरै बालुवा र थोरै गिट्टी खेर जान्छ त । त्यो बेलाको कन्डिसनमा केही बोरा सिमेन्ट जमेको हो त्यसको मुजुल्का भा’छ । अरु सबै ठीक छ । बिस्तारै प्लान्ट चल्न थाल्या छ ।’

प्रमुख सेनले थपे, ‘अफिसमा बसेर काम गराउँदा एउटा कागजी प्रक्रिया अन्तर्गतमा बसेर काम गराउनु पर्छ । त्यल्ले गर्दा पनि ढिला हुन्छ । त्यो प्रक्रियालाई छोड्दिउँ त्यसलाई त हामीले लिएर नै जानुपर्छ । अहिले मज्जासँग काम भइरहेको छ । खासै गाह्रो भइरहेको छैन । लगाएको आरोपमा त कहीँकेही सत्यता छैन । म ढुक्क साथ भन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ