arrow

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासंघको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २९ शनिबार
fncci-building-123.jpeg
फाइल तस्बिर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी) आईले निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न माग गरेको छ। बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा संचालन गर्ने कार्यमा सहयोगको अपेक्षा भैरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको भन्दै एफएनसीसीआईले निर्णय फिर्ता लिन माग गरेको हो। 

कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छन्। एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा संचालन हुन सकेका छैनन् भने उत्पादित वस्तुहरुको बिक्री वितरणबाट उठ्नु पर्ने रकमसमेत बजारबाट उठ्न सकिरहेको अवस्था नभएको महासंघले बताएको छ। 

बैकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेको उल्लेख गर्दै महासंघले अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुनः बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता रहेको बताएको छ। 

हरेक त्रैमासमा निक्षेपमा व्याज दर वृद्धि हुँदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग व्यवसाय गर्न सम्भव नभएको महासंघको ठहर छ। 

प्रेस विज्ञप्ति जारी गरी महासंघले भनेको छ, ‘यसरी व्याज दरमा अस्थिरता कायम रहँदा मुलुकमा व्यवसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्थासमेत नहुने हाम्रो बुुझाइ छ। विगतका अनुुभव समेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा हाम्रो बलियो विश्वास छ।’

महासंघ अगाडि भन्छ, ‘व्याजदर वृद्धि लगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा पर्दछ। व्यापार घाटाको दायरा निकै बढिरहेको अवस्थामा पछिल्लो पटक निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको ब्याज दर वृद्धि हुन गइ उद्योग व्यवसाय थप शिथिल हुने र त्यसले आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउनेतर्फ हामी सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउछौं।’
 
महासंघले अनपेक्षित रुपमा गरिएको निक्षेपमा व्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गइ ऋणको ब्याज दरमासमेत वृद्धि हुने शंका गर्ने ठाउँ पर्याप्त देखिएको भन्दै तत्काल उक्त निर्णय स्थगन गर्न राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गरेको छ। 

महासंघले थलिएका उद्योग व्यवसायहरुलाई सुुसंचालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैंक र बैकिङ क्षेत्रसंग आग्रह गर्दै यसका लागि निरन्तर संवाद र सहकार्यमा रहन महासंघ सदैव तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ