arrow

परिणाम नआए सबै कर्मचारीलाई जिम्मेवारीबाट हटाइने मन्त्रीको चेतावनी [भिडियो]

अब प्रत्येक १५ दिनमा सहसचिवहरूको कार्य सम्पादनको रिपोर्ट प्रधानमन्त्री आफैँले हेर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
damodar-bhandari-04-28.jpg

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले परिणाम दिने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी समेत दिए । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिने गरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरूलाई सचेत गराए । 

प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुने गरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई भने । 

उनले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरूको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि बताए । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरूले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने बताए । 

उनले भने, ‘यहाँ हिजो मात्रै सम्माननीय प्रधानमन्त्रीज्युले सबै मन्त्रालयसँग अब एमओयू गर्नु हुन्छ । हिजो मात्रै कम्तीमा ५ वटा ३ महिनामा गरिसक्ने कामको खोजी गर्नु भएको छ । हामीले १५ वटा काम देखाएका छौं । अब प्रत्येक १५ दिनमा सहसचिवहरूको कार्य सम्पादनको रिपोर्ट प्रधानमन्त्रीज्यू आफैँले हेर्नुहुन्छ । दैनिक मन्त्रालयका मन्त्रीले, सचिवले, सहसचिवले, सिइयोहरुले अधिकृत लेभलभन्दा माथिका सबैको दैनिकीहरू अब सरकारले हेर्नुहुन्छ । एक दिनमा के गर्नुभयो नयाँ काम भनेर हेरिन्छ । आज दिनभरिको कामको परिणाम के आयो ? त्यसको परिणाममुखी कामहरू, त्यो काम भनेको कागजमा लेखेर भरेको काम होइन, परिणाम आयो कि आएन ? परिणाम आएन भने जिम्मेवारीबाट सबैले छोड्नुपर्ने हुन्छ । मञ्जुर छ नि । अधिकारको खोजी गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने हुन्छ । तपाईँहरू सबैको चाहिने सुविधाको जिम्मा मन्त्रालय लिन तयार छ । तर तपाईँहरूले रिजल्ट दिन तयार हुने कि नहुने ? तपाईँहरूको सबै सेवा सुविधाको जिम्मा सरकारले लिन्छ । मन्त्रालयले लिन्छ । तपाईँहरूका जहाँ समस्या छन्, ती समाधान हुन्छन् । त्यसको जिम्मा म लिन्छु । तर तपाईँहरूले अब रिजल्ट दिने कि नदिने ? तपाईँहरूले रिजल्ट दिनु भयो । सुविधा पुरापुर लिनुहोस् । तपाईँहरूको रिजल्ट दिनु भएन । तपाईँले जिम्मेवारीबाट छोड्नुपर्ने हुन्छ । अहिलेको व्याप्त निराशा, अन्योलतालाई चिर्नुपर्नेछ । सरकारमाथि, सरकारको निकायमाथि यति धेरै प्रश्नहरू छन् । त्यो प्रश्नको सामना हामीले परिणामबाट दिनुपर्नेछ । बिहान आएर हाजिर लगाएर मेरो तलब पाक्यो भन्ने तपाईँहरूले सोच्नुभयो भने त्यसमा पुनर्विचार गरिहाल्नुस् । तपाईँहरूले तीन महिना भित्र परिणाम दिने गरी काम गर्छु भन्नुहुन्छ भने तपाईँहरूले चाहेको सेवा, सुविधा दिन मन्त्रालय तयार छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ