arrow

चिमखोलामा प्रहरी पोष्ट स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
Police Post.jpg

म्याग्दी । भौगोलिक रूपमा दुर्गम र विकट क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । रघुगङ्गा-७ चिमखोला र ८ कुइनेमङ्गलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना भएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले शनिवार पोष्टको शुभारम्भ उद्घाटन गरे ।

पाँच प्रहरी रहने गरी स्थापना गरिएको चौकीलाई स्थायी रूपान्तरण र चौकीमा स्तरोन्नति गरिने प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । शान्ति सुरक्षाका लागि स्थानीयवासी र गाउँपालिकाबाट भएको मागअनुसार प्रहरी पोष्ट स्थापना गरिएको  हो । गाउँपालिकाका अनुसार १४ हजार जनसङ्ख्या भएको रघुगङ्गाको एक तिहाइ जनसङ्ख्या यी दुई वडामा छ ।

“गत वर्ष अजिङ्गर भिरमा सडक खुलेसँगै अपराधजन्य गतिविधि, जलविद्युत् आयोजना निर्माण हुन थालेपछि बाह्य मजदुरको चहलपहल र आर्थिक गतिविधिसँगै सुरक्षा चुनौती बढेको थियो”, प्रनाउ राईले भने, “पोष्ट स्थापनापछि विपद् व्यवस्थापनका साथै धवलागिरि सेन्चुरी र आइसफल पदमार्गको सुरक्षामा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

प्रहरी पोष्ट स्थापनाका लागि ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुदी पावर कम्पनीले तीन कोठे भवन उपलब्ध गराएको छ ।

कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले प्रहरी पोष्ट स्थापनाका लागि तत्कालका लागि भवन र पक्की भवन बनाउन तीन रोपनी जग्गा उपलब्ध गराएको बताए । यसअघि चिमखोला र कुइनेमङ्गलेमा छिमेकी वडा पाखापानीमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मी पुग्नुपर्दथ्यो ।

भौगोलिक विकटता, यातायातको असुविधाका कारण पाखापानीबाट चिमखोला र कुइनेमङ्गलेमा सुरक्षाकर्मी पुग्न पुरै दिन लाग्ने समस्या थियो । आवश्यकता र मागअनुसार सुरक्षा व्यवस्थाका लागि चिमखोलामा प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रानाले बताए । 

जिल्ला न्यायाधीश तेजनारायण पौडेलले लगानीसँगै स्वाभाविक रूपमा विकास भित्रने भएकाले प्रवर्द्धकहरूले क्षति न्यूनीकरण र स्थानीयवासीको आवश्यकता सम्बोधन तथा स्थानीयवासीले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाको निर्णय र मागअनुसार तिप्ल्याङ र चिमखोलामा प्रहरी पोष्ट स्थापना भएको तथा मौवाफाँटमा प्रहरी चौकी स्थापना गर्न भवन निर्माण भएको बताए । 

चिमखोलाका वडाध्यक्ष देउप्रसाद पुन र सदस्य बुद्धिमाया पहरे पुनले जलविद्युत् आयोजना भित्रिएसँगै थपिएको सुरक्षा चुनौती व्यवस्थापनका लागि प्रहरी चौकी आवश्यकता परेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ