arrow

छोरालाई चीनको राजदूत बनाउन सभामुख सापकोटाको ताकेता

कुन कुन देशमा राजदूत नियुक्ति हुदैछ ?

logo
आकाश शर्मा,
प्रकाशित २०७८ फागुन ४ बुधबार
agni-rupak-sapkota-father-son.jpg

काठमाडौँ। सभामुख अग्नि सापकोटाले पुत्र रूपक सापकोटालाई चीनको राजदूत बनाउन ताकेता गरेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सापकोटालाई राजदूत बनाउन सभामुखले माथिल्लो तहबाट पहुँच प्रयोग गरेका छन्। ‘परराष्ट्र मन्त्री नारायण खड्का भने चीनजस्तो छिमेकी र महत्त्वपूर्ण देशमा ‘काँचो व्यक्ति’ लाई राजदूत बनाउने मुडमा छैनन्–परराष्ट्र स्रोतले भन्यो‘ मन्त्री ज्यु कमसेकम लीलामणि पौडेल जस्तो दख्खल व्यक्तित्वलाई चीन पठाउनु खोज्नु भएको देखिन्छ।’ स्रोतले भन्यो, यसमा प्रधानमन्त्री तहबाट पनि केही दबाब आएको छैन।’ रूपक सापकोटा हाल परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वउपकार्यकारी निर्देशक छन्।

अहिले विभिन्न २० देशमा राजदूत खाली छ। त्यसमध्ये १४ देशमा राजनीतिक नियुक्ति र बाँकी ६ देशमा परराष्ट्र सेवाका कर्मचारीबाट नियुक्ति गर्ने तयारी सरकारको छ। परराष्ट्र सेवा कर्मचारीहरूले भने परराष्ट्र सेवाबाट ७ देशमा नियुक्त गर्न माग गरेका छन्।

राजदूत नियुक्ति सम्बन्धी कार्यविधिमा ५० प्रतिशत राजनीतिक नियुक्ति र ५० प्रतिशत परराष्ट्र सेवाका कर्मचारीहरूबाट नियुक्ति गर्न सकिने व्यवस्था छ। अहिले विभिन्न ३३ देशमा नेपालका दूतावास छन्। ती मध्ये अहिले १० देशका दूतावासमा परराष्ट्र सेवा कर्मचारीहरू राजदूत भई कार्यरत छन्। हाल राजदूत भएका १० र अब ६ जना नियुक्त गरेमा परराष्ट्र सेवाका १६ जना कर्मचारी राजदूत हुनेछन्। तर परराष्ट्र सेवा कर्मचारीहरूले भने अब ७ जना परराष्ट्र सेवाबाट नियुक्त गरी कुल १७ पुर्‍याउन माग गरेका छन्। तर परराष्ट्र सेवाबाट ६ जना मात्र नियुक्ति हुने सम्भावना रहेको परराष्ट्र स्रोतले बतायो। स्रोतका अनुसार माओवादी कोटाबाट पूर्व राजदूत लीलामणि पौडयालको पनि नाम चर्चा छ। पौडेलले पनि चीनमै चाहना राखेका छन्।

विभिन्न देशमा राजदूत नियुक्त हुन सत्तारुढ दलका विदेश विभागका सदस्य, तथा पाटीसँग निकट बुद्धिजीवीहरूले विभिन्न तहबाट प्रयास गरेका छन्। सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) तथा जनता समाजवादी पार्टीले भागबन्डा गरेर राजदुतकोलागि सिफारिस गर्ने तयारी भएको परराष्ट्र स्रोतले बतायो।

परराष्ट्र सेवाबाट वरिष्ठ सहसचिव सरहका कर्मचारीलाई राजदूत बनाउन सकिने कार्यविधिमा व्यवस्था छ तर सत्तारुढ दलसँग पहुँच भएमा जुरिएन सहसचिवहरू पनि राजदूत नियुक्ति भएको परम्परा पनि छ।

परराष्ट्र सेवाका सहसचिवहरू भरतकुमार रेग्मी, धनबहादुर ओली, निर्मलराज काफ्ले, हरिश्चन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, लोकबहादुर थापा र तेजबहादुर क्षेत्री राजदूत हुन प्रयास गरिरहेका छन्। यीमध्ये क्षेत्री सहसचिवमा बढुवा हुनु अघि उपसचिव भएको बेला तत्कालीन परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सचिवालयमा बसेर काम गरेका थिए।

क्षेत्रीलाई सहसचिवमा बढुवा गर्न तत्कालीन परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले पोहर साल सङ्घीय मामिला मन्त्रालयसँग समन्वय नगरी सोझै लोकसेवा आयोगलाई ३ सहसचिवको दरबन्दी थप माग गरी चिठी पठाएका थिए। परराष्ट्रको चिठी गए पछि त्यसमा सहमति जनाउँदै सङ्घीय मामिला मन्त्रालयले आयोगलाई चिठी पठाएको थियो।

सङ्घीय मामिला मार्फत आयोगमा दरबन्दी माग गर्ने नियम छ। क्षेत्रीको हकमा भने यो नियम लागु भएन। हाल चीन, दक्षिण कोरिया, ब्राजिल, इजिप्ट, साउदी अरेबिया, अस्ट्रेलिया, कतार, मलेसिया, जापान, बङ्गलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यानमार, श्रीलङ्का, बहराइन, इजरायल, डेनमार्क, रुस र अस्ट्रियामा राजदूत खाली छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ