arrow

अग्नि सापकोटा विरुद्धको व्यक्तिहत्या मुद्दामा फैसला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
agni-sapkota-81-3-18.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्षसहित पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको फैसला आज हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको व्यक्तिहत्याको मुद्धामा आज फैसला गर्दैछ ।  

सापकोटा विरुद्धको मुद्दाको फैसलासँगै सशस्त्र द्वन्द्वका समयमा भएका घटनालाई सत्यनिरुपण आयोगमार्फत निरुपण गर्ने वा फौजदारी न्यायको प्रक्रिया अघि बढ्ने भन्ने तय हुनेछ ।  

सशस्त्र द्वन्द्वका पीडितहरुले उनको मुद्दाको फैसलालाई विशेष चासोका साथ हेरिरहेका छन् । उनीहरुले न्याय मरेको छैन भन्ने अनुभूति कुरिरहेका छन् । त्यस्तै संसदमा विचाराधीन संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले पनि अदालतको फैसलापछि थप गति लिने विश्वास गरिएको छ । 

सापकोटालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन  अदालतलेआदेश दिएमा सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका नाममा हत्या, बलात्कार, अपहरणसहितका मुद्दाका अभियुक्त र आरोपितले उन्मुक्ति पाउने छैनन् । 

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या आरोप छ । उनी विरुद्धको मुद्दामा गत जेठ २३ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले असार १२ का लागि निर्णय सुनाउने समय तोकेको थियो । 

तर संवैधानिक इजलासमा रहेका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत बागलुङको निरीक्षण भ्रमणमा निस्किएपछि सापकोटाको मुद्दा पेसीमै नचढी स्थगित भएको थियो । 

यसअघि व्यक्ति हत्या विरुद्धको किटानी जाहेरीबाट चलेको मुद्दामा विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्याय व्यवस्थापन देखाउँदै अदालतलाई निर्णय गर्न अवरोध खडा गरिएको थियो । विस्तृत शान्ति सम्झौताको १८ वर्ष हुँदा पनि अहिलेसम्म पीडितको पीडामा मल्हम लगाउने कुनै सरकार नभएपछि अदालत पनि अलमलमै रह्यो ।

तर पछिल्लोपटक सर्वोच्च अदालतले गरेको फैसलाले संक्रमणकालीन न्यायका नाममा फौजदारी न्याय निरुपणको प्रक्रिया सधैँ रोकिएर नबस्ने उल्लेख थियो । 

काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामालाई सापकोटासमेतले २०६२ वैशाखमा अपहरण गरी असारमा हत्या गरेको प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

तर प्रहरीले जाहेरी नलिएपछि सर्वोच्चले २०६४ सालमा उक्त निवेदन दर्ता गरेको थियो । सर्वोच्चले हत्या अभियोगमा अनुसन्धान–अभियोजन गर्नू भनी परमादेश जारी गरेको थियो । 

उक्त परमादेशमा अनुसन्धान भएको प्रगति विवरण हरेक महिना सर्वोच्चमा पेस गर्नसमेत आदेश भएको छ । 

त्यही परमादेशका आधारमा २०६५ साउन २७ गते सापकोटाविरुद्ध ज्यान मुद्दाको अभियोग लगाइ काभ्रे प्रहरीमा जाहेरी दर्ता भएको थियो । 

दुःखद पक्ष त के भने खोजी गर्दा अग्नि सापकोटा फेला नपरेको मिसिल अदालतमा पेस भएको थियो । 

अर्थात् उनी फरार सूचीमै रहेका बेलामा दुई पटक मन्त्री र एक पटक सभामुख भइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ