arrow

नेपाल सामु फिलिपिन्स कमजोर, दुई सय १९ रनको लक्ष्य कठिन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
nepal-t-20-world-cup-qualifying-2022.jpg

काठमाडौं । कुशल भुर्तेलको शानदार अविजित शतकप्रेरित नेपालले आइसीसी विश्वकप टी–२० क्रिकेटको ग्लोबल छनोटअन्तर्गत शनिबारको खेलमा फिलिपिन्सलाई दुई सय १९ रनको लक्ष्य दिएको छ । 

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१८ रनको योगफल तयार गर्यो ।

दोस्रो ओभरमै ओपनर आशिफ शेखलाई गुमाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल मल्ल पनि मात्रै १२ रन बनाएर पेभेलियन फर्केका थिए । 

यद्यपि, तेस्रो विकेटका लागि ओपनर कुशल र दीपेन्द्रसिंह ऐरीले १७१ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई ठूलो योगफलतर्फ डोर्याए । फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रको यो साझेदारी टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा ठूलो हो ।

यसअघि नेपालका पूर्वकप्तान पारस खड्का र आरिफ शेखले २८ सेप्टेम्बर २०१९ मा सिंगापुरविरुद्ध एक सय ४५ रनको साझेदारी गरेका थिए । 

कीर्तिमानी साझेदारी गर्दै कुशल नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । यसअघि पारस र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए ।

फिलिपिन्सविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएका कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित इनिङ खेल्दा दीपेन्द्र ४७ बलमा ६ चौका ४ छक्कासहित ८३ रन बनाएर पेभेलियन फर्के । यस्तै पहिलो बलमै छक्का प्रहार गरेका लोकेश बम ३ बलमा ६ रन बनाएर अविजित रहे ।

शनिबार जितसहित सेमिफाइनल प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । 

पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो । 

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ