arrow

फिलिपिन्सविरुद्ध नेपालको कीर्तिमानी जित, सेमिफाइनल नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
nepal-t20.jpg
तस्बिर– फाइल

काठमाडौं । टी–२० क्रिकेटमा नेपालले फिलिपिन्सविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । आईसीसी विश्वकप टी–२० क्रिकेटको ग्लोबल छनोटअन्तर्गत शनिबारको खेलमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको छ । 

जारी प्रतियोगितामा यो सबैभन्दा फराकिलो रनको अन्तरको जित हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ३९ रनले हराएको थियो । यो जितसँगै नेपालले सेमिफाइनलको बाटो सजिलो बनाएको छ । 

अब समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडासँग खेल्नेछ । 

नेपालको इनिङ्स
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय १८ रनको योगफल तयार गर्यो ।

दोस्रो ओभरमै ओपनर आशिफ शेखलाई गुमाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल मल्ल पनि मात्रै १२ रन बनाएर पेभेलियन फर्केका थिए । 

यद्यपि, तेस्रो विकेटका लागि ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक सय ७१ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई ठूलो योगफलतर्फ डोहोर्याए । फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रको यो साझेदारी टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा ठूलो हो ।

यसअघि नेपालका पूर्वकप्तान पारस खड्का र आरिफ शेखले २८ सेप्टेम्बर २०१९ मा सिंगापुरविरुद्ध एक सय ४५ रनको साझेदारी गरेका थिए । 

कीर्तिमानी साझेदारी गर्दै कुशल नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । यसअघि पारस र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए ।

फिलिपिन्सविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएका कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित इनिङ खेल्दा दीपेन्द्र ४७ बलमा ६ चौका ४ छक्कासहित ८३ रन बनाएर पेभेलियन फर्के । यस्तै पहिलो बलमै छक्का प्रहार गरेका लोकेश बम ३ बलमा ६ रन बनाएर अविजित रहे ।

फिलिपिन्सको इनिङ्स
दुई सय १९ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको फिलिपिन्सले कमजोर प्रदर्शन गर्यो । फिलिपिन्सले ८ विकेटको क्षतिमा ८२ रनमात्र बनाउन सक्यो । सात रन जोड्दा पहिलो विकेट गुमाएको फिलिपिन्सले लगातार विकेट गुमाउँदै गयो ।

जोर्डन अलेग्राले ३२ बलमा अविजित रहँदै सर्वाधिक २७ रन बनाए । तीन खेलाडीले मात्र दोहोरो रन जोडेको इनिङ्सलाई सस्तैमा रोक्ने क्रममा कप्तान सन्दीप लामिछानेले ९ रन खर्चेर ३ विकेट लिए । 

त्यसतै जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । 

अंक तालिका
लगातार दुई जितसहित नेपाल सेमिफाइनल नजिक पुगेको छ । नेपालले २ खेलमा ४ अंक बटुलेको छ । नेपाल शीर्ष स्थानमा छ । 

आजको अर्को खेलमा क्यानाडा ओमानसँग पराजित भएपछि भने स्थिति रोमाञ्चक बनेको छ । ओमान ९ विकेटले विजयी भयो । 

पहिलो खेलमा फिलिपिन्सलाई एक सय १८ रनले हराएको क्यानाडा दोस्रो खेलमा ओमानसँग कमजोर देखियो । पहिले ब्याटिङ गरेको क्यानाडाले ६ विकेटको क्षतिमा एक सय ५५ रन बनायो । 

जवाफमा ओमानले १८ ओभरमै १ विकेटको क्षतिमा जित निकाल्यो । 

यो खेलपछि अब अन्तिम चरणका खेलबाटै सेमिफाइनलमा पुग्ने दुई टिमको छिनोफानो हुनेछ । 

क्यानाडा २ अंकसहित दोस्रो तथा ओमान २ अंकसहित तेस्रो स्थानमा छ । फिलिपिन्स भने दुवै खेल हारेर पुछारमा छ । फिलिपिन्सको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग सकिएको छ । 

समीकरण हेर्ने हो भने नेपाल सेमिफाइनलमा पुगिसकेको भए पनि अंकगणितीय हिसाबले भने निश्चित गर्न मुस्किल छ । 

नेपालले सोमबार क्यानाडाविरुद्ध खेल्नेछ । सोही दिन ओमान र फिलिपिन्स भिड्ने छन् । 

अर्को समूहमा जर्मनी, आयरल्याण्ड, बहराइन र यूएई रहेका छन् । 

प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ