arrow

कोभिड रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः तिमिल्सिना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
ganesh_timsinaaa.jpg
फाइल तस्वीर

पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय रहेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा पोखरामा आयोजित ‘कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिमः सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले विभिन्न भेरियन्टका रुपमा देखापरेको कोभिड-१९ ले विज्ञान र प्रविधिलाई समेत चुनौती दिँदै गइरहेको जनाउँदै नेपाल जस्तो मुलुकमा खोपको सहजता र अन्य व्यवस्थापनका कार्यले कोरोना रोकथाम र नियन्त्रणका लागि केही सहज भएको बताए । 

उनले अझै पनि महामारी पूर्ण रुपमा निर्मूल नभइसकेकाले स्वास्थ्य सतर्कतासहित मापदण्ड पालना गरेर मात्र गतिविधिहरु गर्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले पछिल्लो राजनीतिक घटनाक्रमले नागरिकलाई निराश बनाएको जनाउँदै देशको समृद्धि, सुशासन र विकासका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए । 

महामारी रोकथामका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा जनप्रतिनिधि चनाखो भएर गृहकार्य गर्ने र रणनीतिक योजनाहरु बनाउनुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले २०७६ पुस २८ मा नेपालमा पहिलो पल्ट कोभिड-१९ सङ्क्रमित देखा परेको र तत्कालीन समयमा कोभिड परीक्षण रोकथामका कार्य गर्न निकै जटिल र चुनौती रहे तापनि मन्त्रालयले समुदायलाई सुसूचित गराएर महामारी नियन्त्रणका लागि काम गरेको बताए । उनले पिसिआर ल्याब नहुँदा तत्कालीन समयमा हङकङमा परीक्षणका लागि पठाउनु परेको स्मरण गर्दै अहिले नेपालमा १०२ पिसिआर ल्याबहरु रहेको जानकारी दिए । 

डा मिश्राका अनुसार सरकारले २०७७ साल माघ १४ मा खोप कार्यक्रम सञ्चालन गरेकामा हालसम्म तीन करोड ६० लाख ९९ हजार १६९ ले पहिलो र दोस्रो डोज खोप लगाएका छन् । यस्तै,आठ लाख ४२ हजार ५९० जना बुस्टर डोज खोप लगाएका छन् । उनले कूल जनसंख्या ७३ प्रतिशतले पहिलो र ५८ प्रतिशतले दोस्रो डोज लगाएको जानकारी दिए ।  

त्यसैगरी हालसम्म ६४ लाख एक हजार १६ जनामा पिसिआर परीक्षण गरिएको छ भने ११ लाख १३ हजार ५४४ सङ्क्रमित सङ्ख्या रहेको थियो । कोभिड–१९ का कारण ११ हजार ९१३ जनाले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमितको संख्या १४ हजार ४३५ रहेको छ । उनले हाल कोभिड सङ्क्रमण संख्या ओरालो लाग्दै गएको जनाउँदै समुदायस्तरबाटै जनचेतना जगाउन सके आगामी दिनमा महामारीबाट जोगिन सकिने बताए । 

विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले कोभिडले हरेक मानिसको जीवनशैली परिवर्तनका लागि धेरै कुरा सिकाएको बताए । महामारीलाई नकारात्मक रुपमामात्र लिएर निराश हुनुभन्दा महामारीपश्चात् परिवारको महत्वसँगै पारिवारिक पुनःमिलनमा समेत भूमिका खेलेको कुरालाई पनि स्मरण गर्नुपर्ने बताए । 

योग ध्यानको महत्वलाई उजागार गर्दै  चिकित्सा क्षेत्रमा समेत कोभिड-१९ ले क्रान्ति ल्याएको उनको भनाइ छ । महामारीको अवस्थाले शारीरिक, मानसिक साथै आर्थिक अवस्थाको सामना गर्नुपर्ने स्थितिले मानसिक स्वास्थ्यमा समेत असर पारेको र यसतर्फ झन् सचेत हुनुपर्ने आवश्यकता उनले औंल्याए । 

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका रणनीतिक साझेदारी र नेतृत्व सञ्चारका वरिष्ठ परामर्शदाता डा सुनुर वर्मा, आपत्कालीन कार्यक्रमका प्रमुख डा आलिसानगोकोटानो, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना केन्द्रका निर्देशक सुनिलराज शर्मा, मेडिकल अफिसर खोप कार्यक्रमका डा विनोद बुरा र मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख श्री सागर दाहाल लगायतले कोभिड-१९ को समयमा प्रदेशसभाको भूमिका, सामुदायिक संयन्त्रको स्थापना, जनस्वास्थ्यका मापदण्ड, संसद्को भूमिका, मन्त्रालयको रणनीतिक योजनाहरुमा छुट्टाछुट्टै प्रस्तुति राखेका थिए । 

मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादव, मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी लगायतले कोभिड-१९ को विषयमा आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशका सचिव लगायतको उपस्थिति रहेको र लगत्तै यो कार्यक्रम सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गरिने सञ्चार संयोजक छिरिङ गुरुङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ