क्यानाडालाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा, मंगलबार यूएईलाई जिते विश्वकप खेल्न पाउने
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
763
Shares
काठमाडौं । नेपाल आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको अल अमेरातमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा क्यानाडालाई ८ विकेटले हराउँदै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपाल सतप्रतिशत नतिजासहित सेमिफाइनलमा पुगेको हो । नेपाल ६ अंकसहित समूह विजेता भएको हो । ओमान ४ अंकसहित दोस्रो हुँदै उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।
हारसँगै क्यानाडा र फिलिपिन्स बाहिरिएका छन् ।
अब नेपालले सेमिफाइनलमा समूह एको उपविजेता यूएईसँग मंगलबार खेल्नेछ । यस्तै ओमानले समूह एको विजेता आयरल्याण्डसँग खेल्नेछ ।
फाइनल प्रवेश गर्ने दुई टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने विश्वकपका लागि छनोट हुनेछन् ।
कस्तो भयो नेपाल र क्यानाडाको खेल ?
क्यानाडाले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अविजित रहँदै ३७ बलमा ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३१ बलमा अविजित रहँदै २७ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो । क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे । कप्तान नभनित धलिवालले १८ रन जोडे । रयान पठानले १४ रनको योगदान गरे ।
नेपालका कप्तान सन्दीप लामिछानेले १२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए ।
अविनाश बोहरा र कमल सिंह ऐरीले २–२ तथा कुशल मल्लले एक विकेट लिए ।