- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आइसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको सेमिफाइनलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ ।
यो खेल जिते नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेटमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।
नेपालले यूएईलाई जित्ने आधार भने बलियो छ । नेपाल समूह बीको विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । नेपालले आयोजक ओमान, सिंगापुर र क्यानाडालाई पराजित गर्न सफल भएको हो ।
नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले र तेस्रो खेलमा क्यानाडालाई ८ विकेटले पराजित गरेको थियो ।
सन्दीप लामिछानेको कप्तानीमा उत्रिएको युवा खेलाडीहरुको बाहुल्य रहेको टिमको मनोबल उच्च छ । जोश पनि उत्तिकै छ ।
यूएई समूह एको उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो । समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह एबाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।
नेपाल र यूएईबीच भएको पछिल्लो चार टी–२० भेटमा दुवै टोलीले समान दुई खेलमा जित निकालेका छन् । पछिल्लो ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।
फाइनल प्रवेश गर्ने टोली आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । अर्को सेमिफाइनलमा आयरल्यान्ड र आयोजक ओमान खेल्नेछन् ।