arrow

हिमपातले एक हप्तादेखि बन्द मनाङको सडक खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
humla-snow-fall.jpg
फाइल तस्वीर

मनाङ । भारी हिमपातका कारण एक हप्तादेखि बन्द रहेको मनाङको भित्री सडकखण्डमा आवातजावात सञ्चालन भएको छ । भारी हिमपातपछि पुरिएको सडकको हिउँ पन्छाएपछि सवारीसाधन पुनः सञ्चालनमा आएको छ । 

गत फागुन ८ गते आइतबार बिहानदेखि लगातारको हिमपातले जिल्लाको अधिकांश भेगमा बाक्लो हिउँ जमेको थियो ।

हिउँका कारण सडक अवरुद्ध भएपछि छ दिन लगाएर जिल्लाका सडकका हिउँ हटाएर सवारी आवागमन सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । 

उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिकाको तलेखुदेखि खाङ्सारसम्म हिउँ पन्छाइएको छ । जिल्लाका केही स्थानीयले जेसिबी र जनप्रतिनिधि, प्रहरीको सहयोगमा सडकमा जमेको हिउँ पन्छाएपछि यातायात सञ्चालनमा आएको प्रजिअ आचार्यले बताइन् । उनले भने, “जमेको हिउँ पन्छाएर सडक खुलेपछि आवातजावत हुन थालेको छ । यसले आवातजावतमा सहज बनाउनेछ ।”

हिउँका कारण दैनिक उपभोग्यलगायत खाद्यान्न तथा मालसामान ढुवानीमा समस्या हुँदै आएको थियो । हिउँ पन्छाउन गाउँपालिकाका जनप्रतिनिधि आफै मैदानमा खटिएका आचार्यले बताए । हिमपातले हिमाली क्षेत्रका किसानमा उत्साह छाएको छ । तर सडकमा लामो समयसम्म हिउँ रहँदा स्थानीयले सास्ती खेप्नु परेको उनीहरु बताउँछन् । 

यस्तै हिउँ पन्छाएलगत्तै प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा जिल्लावासीको अवस्थासमेत विभिन्न स्थानमा गएर अनुगमन गरिएको छ । चिसोमा जनजीवनको अवस्थाको निरीक्षण गर्दा अतिविपन्न परिवारलाई न्यानो कपडासमेत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।



नयाँ