arrow

आचारसंहिता विपरीत काम गर्ने पत्रकारमाथि कानूनको पालना गर्न बाध्य पारिन्छ – मन्त्री साह 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन १९ बिहिबार
274089774_300619582059709_4537954864619024163_n.jpg

बर्दिबास । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश भरिका पत्रकारहरूका लागि कल्याण कोष तथा पेन्सन वृत्ति लागु गर्नका लागि मिडिया काउन्सिललाई मन्त्रालयको पूर्ण साथ र सहयोग रहने बताएका छन् ।

बिहीबार सञ्चार मन्त्री साहले मधेस प्रदेशका मिडिया काउन्सिलले महोत्तरीको बर्दिबासमा “सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण” को लागि आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रम बोल्दै पत्रकार आचार संहिताको पालना गर्दै देश र जनताको पक्षमा कलम चलाउने पत्रकारहरूलाई सम्मानसहित पुरस्कृत गर्ने पक्षमा प्रदेश सरकार रहेको जानकारी गराए ।

आचारसंहिता विपरीत काम गर्ने पत्रकारहरूमाथि आचार संहिता अनुसार कारबाही गरेर कानूनको पालना गर्नका लागि बाध्य पारिने पनि बताए । मन्त्री साहले संविधानको पालना गर्नका लागि प्रदेश सरकार पूर्ण प्रतिबद्ध भए पनि सङ्घीय सरकारले कतिपय संवैधानिक प्रावधानहरू कार्यान्वयन नगरेर संविधानको उल्लङ्घन गरेको आरोप लगाए ।

मन्त्री साहले प्रदेश प्रहरी स्थापना तथा परिचालनको अधिकार संविधानले नै प्रदेश सरकारलाई प्रदान गरे पनि हालसम्म पनि प्रहरी ऐन कार्यान्वयन गर्न नदिनका लागि सङ्घीय सरकारले व्यवधान गरिरहेको दाबी  गरे।

मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, लगायतका वक्ताहरूले आचार संहिताको पालनाले मर्यादित पत्रकारिताको विकासमा योगदान दिने गरेको बताए ।

कार्यक्रममा  धनुषा, महोत्तरी तथा सर्लाही जिल्लाका पत्रकारहरू सहभागी भएको सो कार्यक्रममा काउन्सिलले तयार पारेको प्रारम्भिक आचार संहितामाथि छलफल भएको थियो । 



नयाँ