- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। रुसले युक्रेनमाथि गरेको आक्रमणले भ्लादिमिर पुटिनको रुसलाई आर्थिक विपत्तितर्फ मात्रै धकेलिरहेको छैन यसको असरले विश्वव्यापी अर्थतन्त्रलाई समेत धम्की दिइरहेको छ। रुस युक्रेन युद्धबाट उत्पन्न हुनसक्ने संकटले वित्तीय बजारलाई हल्लाइरहेको छ। उज्वेक आप्रवासी कामदारदेखि युरोपेली उपभोक्ता र भोकाए यमनी परिवारसम्म सबैको जीवनलाई थप जोखिमपूर्ण बनाउँदैछ।
बढ्दो मुद्रास्फीति, आपूर्ति श्रृंखलाको जटिलता र घट्दो सेयरको मूल्यले पुटिनको सेनाले युक्रेनमा आक्रमण गर्नुअघि नै पनि विश्वव्यापी अर्थतन्त्र धेरै बोझमा फसेको थियो। यस्तोमा युक्रेन संकटले यी खतरालाई झन् बढाएको छ भने सम्भावित समाधानहरूलाई समेत जटिल बनाइदिएको छ।
‘अहिले हामी वास्तवमा अज्ञात क्षेत्रमा छौं’, ग्लोबल बैंकहरूको व्यापार समूह इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्सका कार्यकारी उपाध्यक्ष क्ले लोवेरीले भनेका छन्, ‘हामीलाई थाहा छ कि भविष्यवाणी गर्न नसकिने नतिजाहरु त्यहाँ छन्।’
रुस र युक्रेन अर्थतन्त्रका पावरहाउस नभएमा अहिलेको लागि अर्थतन्त्रमा हुने समग्र विश्वव्यापी क्षति तुलनात्मक रूपमा कम देखिन्छ। ऊर्जा, बहुमूल्य धातु, गहुँ र अन्य वस्तुहरूको निर्यातकर्ताको रूपमा महत्त्वपूर्ण रहेका रुस र युक्रेनले विश्वको कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत भन्दा कम हिस्सा ओगटेका छन्।
विश्वका प्रमुख अर्थतन्त्र अमेरिकाको रुससँगको व्यापार ०.५ प्रतिशत र चीनको करिब २.४ प्रतिशत मात्रै छ। अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अर्थशास्त्री एडम स्लेटरले अमेरिका, चीन र उदीयमान विश्वका अधिकांश क्षेत्रमा पर्ने प्रभावहरू सीमित हुनसक्ने बताएका छन्। यस्तै उनले यस वर्ष वैश्विक जीडीपीमा ०.२ प्रतिशतको गिरावट आउने अनुमान गरेका छन्। तर पनि रुस तेल, प्राकृतिक ग्याँस र धातुहरूको एक महत्त्वपूर्ण निर्यातकर्ता हो। यी वस्तुहरुको मूल्यवृद्धिले विश्वभर आर्थिक क्षति पुर्याउने निश्चित छ।
युरोपले खपत गर्ने प्राकृतिक ग्याँसको ४० प्रतिशत र तेलको करिब २५ प्रतिशत रुसबाटै आपूर्ति हुन्छ। रुस युक्रेनबीचको युद्धले युरोपेली महाद्वीपको लागि मुद्रास्फीति, अर्को आर्थिक झड्का वा दुवैको सम्भावनालाई उल्लेखनीय रुपमा बढाएको छ।
आर्थिक घेराबन्दी
पुटिनको आक्रामकताबाट आक्रोशित, संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूले रुसी अर्थतन्त्रलाई लक्षित गर्दै गम्भीर प्रतिबन्ध लगाएका छन्। पश्चिमा मुलुकहरुले प्रमुख रुसी बैंकहरुलाई स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट हटाएका छन्। रुसमा उच्च प्रविधिको निर्यात सीमित गरेका छन् भने मस्कोको विदेशी मुद्रा भण्डारको प्रयोगलाई गम्भीर रूपमा प्रतिबन्धित गरेका छन्।
विश्वले रुसलाई आर्थिक घेराबन्दीमा हालेको हाई फ्रिक्वेन्सी इकोनोमिक्सका प्रमुख अर्थशास्त्री कार्ल वेनबर्गको भनाइ छ। यी प्रतिबन्धहरूको असर रुसमा तुरुन्तै देखिएको छ।रुसी मुद्रा रुबलको भाउ कीर्तिमानी न्यून बिन्दुमा झरेको छ। निक्षेपकर्ताहरू समस्याग्रस्त बैंकिङ प्रणालीबाट आफ्नो पैसा निकाल्ने प्रयासमा एटीएम लाइनमा बसेका छन्। गुगल पे र एप्पल पेबाटसमेत बञ्चित रुसीहरू मेट्रो रेल लाइनका टिकट बुथहरूमा अड्किएका थिए।
इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्सले रुसी अर्थतन्त्र यस वर्ष दोहोरो अंकको संकुचन हुनसक्ने अनुमान गरेको छ। जुन २००९ को ठूलो मन्दीको वर्ष ७.८ प्रतिशतले घटेको भन्दा पनि बढी हुनेछ। अर्कातर्फ युक्रेनी अर्थतन्त्रको पतन ५० देखि ६० प्रतिशतले हुनसक्ने अक्सफोर्डका अर्थशास्त्रीहरुको अनुमान छ।
युरोपको लागि कठिन समय
रुसमा उर्जा निर्भरताका कारण युरोपको अर्थतन्त्र पनि अहिले जोखिममा परेको छ। युद्ध शुरु भएपछि प्राकृतिक ग्यासको मूल्य २० प्रतिशतले बढेको छ। जुन सन् २०२१ बढेको मूल्य भन्दा करिब ६ गुणाले बढी हो। ग्यासको मूल्य बढ्दा मुद्रास्फीति उच्च हुन पुगेको छ। बढ्दो ग्यासको मूल्यले माग विनाश गरिरहेको अर्थशास्त्रीहरुको भनाइ छ।
यसको मतलब धेरै ग्यास प्रयोग गर्ने उद्योग जस्तै मल कारखानाले ग्याँसका लागि उच्च मूल्य तिरिहेका छन् भने उत्पादन घटेको छ। कृषकहरुले मेसिनरी चलाउन र मल किन्न बढी तिरिरहेका छन्।
यस्तै जर्मन रक्षा खर्चको वृद्धिले त्यहाँको अर्थतन्त्रमा तलमाथि हुने ठानिएको छ। रुसी आक्रमणको प्रतिक्रियामा जर्मन चान्सलर ओलाफ स्कोल्जले सरकारले आफ्नो सशस्त्र बलका लागि विशेष कोषमा १०० बिलियन युरो (१११ बिलियन डलर) को प्रतिबद्ध गरेका छन्। उनले रक्षा खर्च जीडीपीको २ प्रतिशत भन्दा बढी बढाउने भएका छन्।
बेरेनबर्ग बैंकका प्रमुख अर्थशास्त्री होल्गर स्मिडिङले उच्च मूल्य र नकारात्मक विश्वासले असर गर्दा २०२२ को लागि यूरोजोनको वास्तविक जीडीपी वृद्धि ४.३ प्रतिशतदेखि ३.७ प्रतिशतसम्म घट्न सक्ने बताएका छन्।
आपूर्ति श्रृंखलाको जटिलता
महामारीको मन्दीबाट अप्रत्याशित रूपमा विश्वभर भइरहेको उग्र रिकभरीले कम्पनीहरूलाई बढ्दो ग्राहकको माग पूरा गर्न र उत्पादन बढाउन आवश्यक कच्चा पदार्थ पाउन समस्या सिर्जना भएको छ।
कच्चा पदार्थको अभाव, ढुवानीमा ढिलाइ र उच्च मूल्यलगायतका कारण यसरी ओझेलमा परेका कारखाना एवं उद्योगहरू सामान्य अवस्थामा फकिर्न रुस युक्रेन युद्धले झनै ढिलो पार्न सक्छ। मुडिज एनालिटिक्सका प्रमुख अर्थशास्त्री मार्क जान्डीका अनुसार रसिया र युक्रेन मिलेर विश्वको ७० प्रतिशत नियोन उत्पादन गर्छन्। नियोन सेमिकन्डक्टरको उत्पादनका लागि महत्वपूर्ण तत्व हो। विश्वभर गाडी उत्पादन र अन्य प्रविधिजन्य उत्पादनका क्षेत्रमा कम्प्युटर चिप्सको अभाव भइरहेका बेला यो विशेष गरी चिन्ताको विषय बनेको छ।
करिब ८ वर्षअघि रुसले युक्रेनबाट क्रिमियालाई कब्जा गर्दा नियोनको मूल्य करिब ६०० प्रतिशत बढेको थियो। यद्यपि अहिले चिप निर्माताहरूसँग नियोन भण्डारण रहेको र रुसी आपूर्तिको विकल्प खोजेको अर्थशास्त्री जान्डीको भनाइ छ।
रुस र युक्रेन दुवै मिलेर जेट विमानमा प्रयोग हुने टाइटेनियम विश्वभर खपत हुनेमध्ये १३ प्रतिशत आपूर्ति गर्छन्। कार, सेलफोनमा र दात भर्न विश्वभर प्रयोग हुने प्यालेडियमको ३० प्रतिशत उत्पादनसमेत यी दुवै देशहरुले गर्छन्। यस बाहेक इलेक्ट्रिक कार, ब्याट्री र स्टिल उत्पादनमा प्रयोग हुने निकलको समेत प्रमुख उत्पादक रुस हो।
छिमेकमा समस्या
द्वन्द्व र प्रतिबन्धले मध्य एशियामा रुसका छिमेकीहरूलाई समेत ठूलो हानि पुर्याउने देखिएको छ। रुस उज्वेकिस्तान र ताजिकिस्तान जस्ता देशहरूका युवा आप्रवासी कामदारहरूमा बढी जसो निर्भर छ। ती कामदारहरूको परिवार रुसबाटै भित्रिने रेमिट्यान्सको भरमा छन्।
रुसी केन्द्रीय बैंकका अनुसार कोभिड महामारी चरम बिन्दुमा रहेका बेला सन् २०२० मासमेत रुसबाट उज्वेकिस्तानमा ३.९ अर्ब अमेरिकी डलर रेमिट्यान्स गएको थियो भने, कीर्गिस्तानमा २ अर्ब अमेरिकी डलर रेमिट्यान्स गएको थियो।
‘विदेशीहरूमाथि बैंकिङ प्रतिबन्ध, रुबल (रुसी मुद्रा) मा दबाब र लामो समयसम्म रूसको श्रम बजारको पतनले मध्य एशियामा तत्काल गहिरो आर्थिक प्रभाव पार्ने’ अमेरिकी इन्स्टिच्युट अफ पिसका लागि मध्य एसियाका विशेषज्ञ गेभिन हेल्फको भनाइ छ।
खाद्य आपूर्तिमा तनाव
विश्वको कुल गहुँ निर्यातको ३० प्रतिशत, मकैको १९ प्रतिशत र सनफ्लावर (सूर्यमुखी) तेलको ८० प्रतिशत निर्यात रुस र युक्रेनले गर्छन्। पूर्वी युक्रेनमा कृषकहरूलाई खतरा हुँदा र ब्ल्याक सी बन्दरगाहमार्फत निर्यातको कटौतीले खाद्यान्न आपूर्ति घटाउन सक्छ। युनिभर्सिटी अफ म्यासाचुसेट्स एमहर्स्टकी व्यवस्थापन प्राध्यापक अन्ना नागर्नीले यसबाट उत्पन्न हुने नतिजाहरू ‘अत्यन्तै कष्टप्रद’ रहने टिप्पणी गरेकी छिन्। विशेष गरी विश्वका गरिब भागहरू खाद्य सुरक्षाका लागि गहुँ, मकै, तेल, जौ र पीठो अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
‘बन्दरगाह, एयरपोर्ट र रेल लाइन बन्द हुँदा र युक्रेनी युवाहरू रुसी आक्रमणविरूद्ध लडिरहँदा कसले फसल काट्छ, कसले ढुवानी गर्छ ?’ उनले प्रश्न गरिन्।
मूल्यवृद्धि
संघीय रिजर्भ र अन्य केन्द्रीय बैंकहरूका लागि युक्रेन युद्ध जोखिमपूर्ण स्थिति बनेको छ। सन् २०२२को जनवरीमा अमेरिकी उपभोक्ता मूल्य एक वर्ष अघिको तुलनामा ७.५ प्रतिशत बढेको थियो। जुन् सन् १९८२ यताकै बढी हो। युरोपमा बुधबारको तथ्याङ्कले युरो मुद्रा प्रयोग गर्ने १९ देशहरूको लागि एक वर्ष अघिको तुलनामा गत महिना मुद्रास्फीति कीर्तिमानी ५.८ प्रतिशतले बढेको छ।
युद्ध र प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रसँग रुसको व्यापारलाई बाधा पुर्याएसँगै मूल्यवृद्धि बढ्ने निश्चित प्रायः देखिन्छ। रुस र युक्रेनले विश्वको १२ प्रतिशत तेल र १७ प्रतिशत प्राकृतिक ग्यास उत्पादन गर्छन्।
यसरी उत्पादन क्षेत्र, आपूर्ति श्रृंखला र वैश्विक बजारको तालमेल बिग्रिदा रुस र युक्रेनबीचको युद्धले सबैजसो मुलुकहरुसम्म सानोदेखि ठूलो आर्थिक झड्का पुर्याउन सक्ने देखिएको छ। भारत हुँदै नेपालकै स्थितिलाई समेत हेर्ने हो भने पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। बजारमा सूर्यमुखी खाने तेलको अभावका कुराहरुसमेत आउन थालेका छन्। (यो सामग्री एसोसिएट प्रेसका लागि पल वाइजम्यान र डेभिड म्याकहगले तयार पारेका हुन्)