- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । रूसको नयाँ आणविक सिद्धान्तले युक्रेनका मित्रराष्ट्रहरूलाई युद्ध रोकिने अनुमानलाई अनिश्चिततातर्फ धकेल्ने प्रतिबिम्बित गरेको विज्ञहरूले बताएका छन्।
युक्रेनले पहिलो पटक आफ्नो भूमिमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि मस्कोले जवाफ दिने चेतावनी दिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको एक हजार दिन पुगेको अवसरमा आणविक हतियारको चेतावनी जारी गरेका छन् ।
विदेशमन्त्री सर्गेई लाभरोभले आक्रमणले पश्चिमा देशहरूले द्वन्द्वलाई ‘बढाउन’ चाहेको देखाएको बताएका छन् ।
राष्ट्रपति पुटिनले आणविक हतियार प्रयोगको सीमा घटाउने आदेशमा मङ्गलबार हस्ताक्षर गरेका थिए भने ह्वाइट हाउस, बेलायत र युरोपेली युनियनले यसलाई ‘गैरजिम्मेवार’ भन्दै निन्दा गरेका थिए ।
वासिङ्टनले यसै साता युक्रेनलाई रूस भित्ररहेका सैन्य लक्ष्यविरुद्ध एटीएसीएमएस प्रयोग गर्न अनुमति दिएको बताएको थियो ।
रूसी सैन्य विश्लेषक भासिली काशिनले भने, “अमेरिकीहरूको प्रत्यक्ष संलग्नता बिना यो क्षेप्यास्त्र आक्रमण असम्भव हुने थियो, साथै फ्रान्सेली वा बेलायतीहरूले आफ्नो ‘स्क्याल्प÷स्टॉर्म स्याडो’ क्षेप्यास्त्रहरू प्रयोग गरेका थिए।
“रूसी परिप्रेक्ष्यमा यो प्रयोग रूसी भूमिमा उनीहरूले गरेको आक्रमण बराबर हो,” उनले एएफपीसँग भने।
काशिनले भने, “क्रिमिया र डोनबास क्षेत्रमा यसअघि नै यस्ता हतियारको प्रयोग भइसकेको थियो, ‘उक्त क्षेत्रलाई क्रेमलिनले रूसी क्षेत्र मानेको छ तर अन्तर्राष्ट्रिय समुदायले यसलाई रूसी क्षेत्रका रूपमा मान्यता दिँदैन ।”
सन् २०२२ मा युक्रेनमा आक्रमण गरेलगत्तै आणविक चेतावनी दिन थालेका पुटिनले बारम्बार दिइएको चेतावनीमा विश्वसनीयता थप्न चाहेको हुन सक्ने कतिपय विश्लेषकहरूको बुझाई छ ।
क्यानडाको क्विन्स युनिभर्सिटीका रूसी आणविक नीतिका विशेषज्ञ म्याक्सिम स्टार्चकले क्रेमलिनको सिद्धान्तले आणविक हतियारको प्रयोगका लागि ‘थ्रेसहोल्ड कम’ गर्ने बताए । तर यसले ‘अस्पष्टता पनि प्रस्तुत गर्ने उनको बुझाई रहेको छ ।
उनले भने, “एकातर्फ, रूसले क्षेत्रीय खतराको अवस्थामा आणविक हतियार प्रयोग गर्ने सम्भावनाको बारेमा बोल्छ, तर अर्कोतर्फ, यस्तो खतराको मात्रा स्पष्ट छैन।”
आणविक प्रश्नलाई पन्छाउँदै स्टार्चकले भने, “रूसतर्फ उत्तर कोरियाली सेनाको हालैको आगमन र युक्रेनी पक्षबाट अमेरिकाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रक्षेपण ‘निश्चित रूपमा द्वन्द्वको वृद्धि’ हो।