arrow

महिला अधिकार र नेपाल

logo
प्रकाश भुर्तेल, 
प्रकाशित २०७८ फागुन २४ मंगलबार
274832748_507976864036944_612752074667001393_n.jpg

महिला अधिकार भन्नाले हरेक राष्ट्रका महिलाले समाजमा स्वतन्त्रपूर्वक जीवनयापन गर्न पाउने सर्वसिद्ध अधिकार हो । त्यस्ता अधिकारहरु जुन राज्यबाट निर्मित कानूनमा संस्थागत गरिएका हुन्छन् । जसले सम्मानपूर्वक जिउनको लागि महिलाहरूलाई प्रोत्साहन गर्दछ । महिला अधिकार पुरुषमुखी सिद्धान्तमा महिलाविरुद्ध हुने भेदभावमा निकालिएको कानूनी आवाज हो । 

महिला अधिकारले हरेक क्षेत्रका महिलाहरुको समस्या र समाधानका लागि सदैव वकालत गर्दछ । महिलाहरुको सम्पूर्ण अधिकारहरुसँग उनीहरुको सुरक्षा पनि एक अन्तरसम्बन्धित विषयवस्तु हो । महिलाहरू आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारीसँग सही तरिकाबाट चल्न र बाँधिनको लागि सुरक्षाले महत्वपूर्ण भूमिका खेल्दछ । सुरक्षा त्यस्तो चिज हो जसको मद्दतले सबैखाले महिला अधिकारहरु सुनिश्चित भइरहेका हुन्छन् ।
      
उत्कृष्ट खोज, अनुसन्धान, अन्वेषण, नैतिक जिज्ञासा, आधुनिक मानव जातिको विश्वव्यापीकरण, विज्ञान–प्रविधि र चमत्कारसँग परिचित २१ औं शताब्दीको पूर्वार्धमा आइपुग्दा विश्व मानव जातिको सम्पूर्ण खालका आवश्यकता, चाहना र समस्याहरुको मागसँग निकै अगाडि बढिरहेको छ । 

हाल विश्वमा सम्पूर्ण विकसित राष्ट्रहरुको स्थितिलाई नजिकैबाट नियाल्दा महिला र पुरुषबीच कुनै पनि किसिमको विभेद भएको देखिँदैन । विश्वका लैङ्गिक समानतामा उच्चतम सफलता सबै मानवीय कार्य परियोजनाका क्षेत्रहरुमा प्राप्त भएको पाइन्छ । विकसित मुलुकका महिला र पुरुष सम्पूर्ण मानव कार्यका क्षेत्रमा मात्रै नभइ घरपरिवार, समाज र मानवीय व्यवहार लगायत राष्ट्रका सबै नीति नियममा समेटिएका पाइन्छन् । 

आजको वर्तमान परिवेशमा विश्वका विकसित राष्ट्रका महिलाहरुले संसार हाँकेका प्रसस्तै उदाहरणहरु हामीमाझ छन् । मूलतः विकसित मुलुकहरूको नीति–नियम, मानव अधिकार, सु–अवसर, प्राथमिकता, स्वतन्त्रता, सुरक्षा, शिक्षा नीति, मानव आवश्यकता परिपूर्तिको सहज निकासको अति सुविधा र विकासका पूर्वाधारहरुको उच्चतम प्रयोग र सदूपयोगको कारणले गर्दा आम विकसित मुलुकहरूमा कुनै पनि महिलाहरूलाई जात, धर्म, पेशा, वर्ण, लिङ्ग, शिक्षा, अवसर आदि विषयहरुमा बञ्चित गरिएको छैन । त्यसकारण यी मुलुकहरूमा मानव शान्तिको दीप बलिरहेको छ । 

नेपाल जस्तै तेस्रो मुलुकहरूमा विकासको चरम गरिबी, कमजोर शिक्षा नीति, पुरुषवादी समाज, विकासका पूर्वाधारहरुको न्यून स्तर, पैतृक कुरीति तथा असन्तुलित मानवीय व्यवहारको कारणले गर्दा दिनहुँ अधिकांश महिलाहरुमाथि कुटपिट, खराब दृष्टिकोण, हिंसा, हत्या, अत्याचार, शोषण, बेतिथी, देहब्यापार, बेचबिखन, झुटोे आश्वासन तथा प्रलोभन, राज्यको विविध क्षेत्रबाट प्राप्त हुने अवसरबाट बन्चित गराउँदा अधिकार गुम्दै गएको पाइन्छ । 

मानव जातिको बसोबास रहेको विश्वका ६ वटै महादेशमा विभिन्न थरिका महिला कानूनहरुको नीतिनिर्माण गरिएका छ्न । विकसित मुलुकहरूमा त महिलाहरुको जीवनस्तर निकै उच्च र राम्रो रहेको छ । यसर्थ सम्पूर्ण तेस्रो विश्वका मुलुकहरुको अवस्था निकै दयनीय र कारुणिक रहेको छ । त्यसकारण यस्ता खालका चुनौती आम नेपाली समाजका अधिकांश महिलाहरूमा रहेको पाइन्छ । 

नेपाली समाजमा पनि पुरुषवादी नकारात्मक प्रवृत्ति र द्धन्द्ध, हिंसा, अनियमितताको कारणले गर्दा महिलाहरूको अवस्था निकै दयनीय छ । गरिब राष्ट्र, विकासको न्यून स्तर, परम्परागत गुरुकुल शिक्षा पद्धति, घोकन्ते विद्या प्रणाली, अनियमित र अमानवीय व्यवहार, गलत नीति–नियम र राज्यको कानून विपरीतको खराब कार्यप्रर्णालीको प्रभावबाट यस्ता खालका महिलाका घटना र कमजोर स्थिति दिनानुदिन देखा परिरहेको छ । 

मानव जातिको ७ अर्ब ९३ करोड जनसंख्या रहेको वर्तमान विश्वमा आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाहरूले ओगटेका छन् । यो तथ्यांक विश्व परिवेशको मात्रै नभै नेपाली परिवेश पनि यस्तै छ । विविध खालका नकारात्मक बेतिथि, विसंगति, अमानवीय क्रियाकलाप तथा विकृतिहरुबाट पिल्सिएका कुन्ठित महिलाहरूको महिला अधिकार, हक–हित र दायित्वसँगै लैङ्गिक समानता कायम गर्नको निमित्त महिला सशक्तिकरण, न्याय, कानूनी प्रक्रिया नेपाल जस्ता तेस्रो मुलुकका राज्यहरूमा अति आवश्यक छ । 

यसरी विश्वका विकसित राष्ट्रहरुसँग नेपाललाई तुलनात्मक तरिकाले नियालेर हेर्दा महिलाहरुको हक–हित संरक्षण, रोजगार प्रवर्धन, न्याय, सुरक्षा, शान्ति, अवसर, लैंगिक समानता कायम गर्न निकै बिलम्ब भइसकेको छ ।
    
यसैगरी नेपाली समाज हिजो ‘चार वर्ण छत्तीस जातको साझा फूलबारी’ थियो । आजको युगान्तकारी परिस्थितिमा आउँदा नेपाली महिलाको अधिकार नीति नियम, कानूनी दस्तावेज, ऐन–ऐजेन्डाको मापदण्डलाई ऐक्यबद्धताको हिसाबबाट नेपाल सरकारले सबै निकायबाट सार्ने, मुलुकमा परिवर्तन ल्याउन महिला र पुरुषका नाराहरुको बिगुल फुकेर मात्र नभै कानूनी मान्यताका एजेन्डाहरुलाई सही तरिकाले लिखितममा मात्रै आधारित नरही सही र प्रभावकारी ढंगबाट कार्यान्वयन गर्नुपर्दछ । 

महिलाहरूको उद्दार, अधिकार, सुरक्षाको संरक्षण र उनीहरुको संकटकालीन ब्यवस्थापनमा आम नागरिक समाज र सरोकारवाला नागरिकको चासो राख्नुपर्ने देखिन्छ । नेपालमा महिलाहरूको अधिकार र सुरक्षाको निम्ति हामीले उनीहरुको वर्तमान र भविष्य संकटकालीन ब्यवस्थापनको निम्ति सरकारी निकायबाटै विविध खालका समस्याहरुको समाधान न्यायको उज्ज्वलता, शान्ति र स्वतन्त्रतामा आधारित ऐन कानूनहरु बनाइ सही ढङ्गबाट लागू गर्न आम नागरिक समाज र सरोकारवाला अभिप्रेरित हुनुपर्दछ । 

त्यसरी उनीहरुको क्षमता, लैङ्गिक अपहेलना, समस्या, खुबी, महत्वाकांक्षा आदिको गहन अध्ययन गरी परिवारिक र सामाजिक स्तरबाटै मुद्दाहरूको निकास दिलाउने काम गर्नुपर्छ । मानव जीवनमा महिलालाई समाजमा हेरिने कुदृष्टि, गलत सोचाइ, कुरीति तथा अन्य गलत विचारधाराहरु हटाइ उनीहरुका लागि महिला सशक्तिकरणमा जोड दिँदै प्राविधिक ज्ञान, सीप, व्यवहारिक शिक्षाको पहुँचमा जोड दिनुपर्छ ।
                                          
वर्तमान नेपाली समाजमा प्रसस्तै संख्यामा महिलाहरुको अधिकार र सुरक्षाको क्षेत्रमा विभिन्न खालका कारुणिक चुनौतीहरु खडा भएका छन् । दिनदिनै फरक–फरक विषयवस्तुमा आधारित रही महिलाहरुको घटना हुने तथा मृत्युका खबरहरु सुन्ने गरेका छौँ । जो आए पनि उस्तै भनेझैं नेपालमा संवैधानिक निकाय, मानव अधिकार आयोग तथा महिला आयोगले जतिसुकै बर्सेनि ऐन नियम र कानूनहरुको लिखित दस्तावेज ल्याए पनि नेपाली समाजमा लागू भने संतोषजनक तरिकाले भएको छैन । 

समाजभित्र प्रचलित विकृति तथा कुरीतिहरु जस्तैः दाइजो, छाउपडी, देउकी, झुमा, बोक्सीजस्ता सामाजिक कुप्रथाहरु नेपालको पश्चिमी भागमा प्रशस्तै पाइन्छन् । चेलीबेटी बेचबिखन, बलात्कार, घरेलु हिंसा आदि समस्याहरुको लागि अति कडा कानूनको निर्माण र कार्यन्वयन गर्नु जरुरत छ । ‘दुई सन्तान ईश्वरको बरदान’  भन्ने नारालाई सशक्त बनाएर समाजमा जनचेतनाको विस्तार गर्नुपर्दछ ।

महिलाहरूको लागि अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यक्रमलाई लागु गर्नुपर्दछ । सम्पूर्ण नेपाली महिलाहरुको त्यो मनोवैज्ञानिक तथा शारीरिक तबरबाट दुखेको घाउमा मल्हम पट्टी लगाउन हामी जस्ता सरोकारवाला व्यक्तिहरुको चासो बढाउन निकै जरुरत पर्दछ । 

महिलाहरुको सुरक्षा र अधिकारलाई सुनिश्चित पार्नको लागि उनीहरुलाई सही तरिकाबाट संकटकालीन ब्यवस्थापन गरी जोगाउन अति आवश्यक रहेको छ । अधिकांश शिक्षाको घामबाट बञ्चित भएका नेपाली महिलाहरुलाई प्रौढ तथा कानूनी शिक्षा दिने कार्यक्रम राज्यले विभिन्न सरकारी निकायका डिभिजनहरुबाट संचालन गर्नुपर्दछ । 

गरिबीको रेखामुनि रहेका महिलाहरूको निम्ति सीप र रोजगारमुलक तालिम दिलाएर राज्य तथा आम सरोकारवाला नागरिक समाजले प्रदान गरेको तालिम अनुसारको पेशा संचालनमा सहयोग पुर्याउनु पर्दछ । विभिन्न गलत धारणा, कुरीति, परम्परा, घरायसी दबाबको कारणले शिक्षाको उज्यालो ज्योतीसँग बन्चित भएका महिलाका लागि छुट्टै खालको निगरानी राज्यबाट हरेक टोल–टोलमा हुनु जरुरत छ । 

महिलाहरूको नेतृत्व वृत्ति र विकासका लागि ध्यान दिँदै राज्यबाट विभिन्न खालका जनचेतनामुलुक अभियानहरु संचालन गर्नुपर्दछ । हामी सम्पूर्ण आम नागरिकले महिला बर्गको पीडा र समस्या बुझी उनीहरुको समस्या समाधानको निम्ति माथिल्लो निकायसम्म निरन्तर आवाज उठाउनुपर्छ । हामी समाजका आम बुद्धिजीवी, सरोकारवालाहरु सबैको चासो र चेतनाको केन्द्रबिन्दु महिला अधिकार हुनु जरुरत छ । 

महिलाहरुलाई जात, धर्म, वर्ण, लिङ्ग, अपाङ्गता, कमजोर, एकल र लैङ्गिक विभेदका आधारमा कसैले महिलामाथि अन्याय, शोषण, गलत व्यवहार गरेमा निजलाई  तुरुन्तै कारबाहीको प्रक्रियामा लैजानु पर्दछ । समाजमा महिला बर्गलाई अगाडि सार्नको लागि समानुपातिक समावेशी र सहभागीमुलक सिद्धान्तका आधारमा लैङ्गिक र अन्य कार्यपरियोजनको लागि समतामूलक समाज निर्माणमा आम सरोकारवालाहरुको चासो र अभिप्रेरणा हुनुपर्छ । तब आवश्यकता अनुरुप अवसरहरु प्रदान गरेमा महिलाहरुको संकटकालीन व्यवस्थापन गर्न सहज हुन्छ ।

राज्यको सबैभन्दा तल्लो निकायबाट महिलाहरूको लागि श्रेणी चढाउनको निम्ति सामाजिक तथा राजनीतिक क्षेत्रमा पछि परेका महिलाहरूलाई विशेष अधिकार वा अवसर दिएर अगाडि बढाउनु पर्दछ । समाजमा महिलाहरुको हक–हितको रक्षा एवम् प्रवर्धन गर्नमा उनीहरुको घर, परिवार र समाजले महिलाहरूप्रति हेर्ने दृष्टिकोण सकारात्मक बनाउनु पर्दछ ।
                      
यसैगरी हामी आम नागरिक कर्तव्य र जिम्मेवारी भनेको महिलाको निम्ति सुरक्षा, अधिकार र संकटकालीन व्यवस्थापनको संरक्षणमा जोड दिनु हो । असंख्य पीडित तथा परिवार–समाजबाटै अपहेलित महिलाबर्गको शैक्षिक गुणस्तरमा वृद्धि र विकास गर्नको लागि सबै तहका शिक्षालाई निःशुल्क बनाउने, गुणस्तरीय एवम् प्राविधिक क्षेत्रमा जोड दिने, शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम नीतिगत तरिकाले लागू गर्नुपर्दछ । 

विभिन्न खालका विषम परिस्थितिबाट बन्चित रहेका महिलाहरुको लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्दै हिजोआज राज्यले महिलाको लागि प्रसस्तै अधिकार अवसरहरु दिएको छ । त्यसबारे सबै महिलाहरुलाई जानकारी नै छैन र ती विषयमा आम नागरिक समाजले र सरोकारवालाहरुले जनचेतना जगाउने कार्यक्रमको तर्जुमा गर्नुपर्दछ । 

महिला अधिकारको रक्षा र प्रवर्धन गर्नको लागि विभिन्न खालका कानूनी राज्यको स्थापना गर्दै महिला हिंसा, बेचबिखन, देउकी, छाउपडी, घुम्टो जस्ता सामाजिक समस्या नियन्त्रणमा निकै कडाइका साथ कानूनरहित नियमन गराउनु पर्दछ । राज्यमा महिलाहरुको हकहितको सुनिश्चितता र प्रवर्धन गर्नको लागि विभिन्न खालका सबल पक्षहरु र एजेन्डाहरु संवैधानिक ब्यवस्थामा लागू पनि गरेको छ ।

जस्तैः निर्वाचनमा प्रत्येक राजनीतिक दलहरूले उम्मेद्वारी दिँदा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनपर्ने, लैङ्गिक विभेद गर्न  नपाइने, सरकारी जागिरको क्षेत्रमा महिलाको लागि सुरक्षित सिट छुट्टै राखिएको, आर्थिक रुपले विपन्न, अशक्तता, अपाङ्गता र एकल महिलाहरूको लागि सामाजिक सुरक्षा भत्ताको पनि व्यवस्था गरेको छ ।  

विश्व जगतमा महिलाबर्गको भविष्य घरायसी कामकागजमा मात्रै सीमित नभइ कला, साहित्य, संगीत, खेलकुद, प्राविधिक अन्वेषण, नृत्य, राजनीति र समाजसेवा जस्ता कीर्तिमानी काममा विश्व जगतमा उदाएका प्रशस्तै उदाहरण देखिएकोले यस्ता खालका सकारात्मक क्षेत्रमा महिला बर्गलाई अभिप्रेरित गर्न आम सरोकारवालाहरुले पहल गर्नुपर्दछ । जसबाट महिलाहरुको स्तर वृद्धि भइ मुलुकमा सुशासन, समृद्धि र उत्तरोत्तर प्रगति हुने भएकाले समाजमा महिलाहरुलाई ऐक्यबद्धताको लहरबाट अगाडि सार्नुपर्दछ ।
                                                         
यसकारण विश्व परिवेशलाई नजिकैबाट हेर्दा नेपाली महिलाको अवस्था ज्यादै कमजोर र अशक्त रहेको छ । महिलाहरूको सुरक्षा र अधिकारको निम्ति आम नागरिक समाज र सरोकारवालाहरुले उनीहरुको संकट ब्यवस्थापनका निम्ति महिला सशक्तीकरण र सुदृढीकरण गर्दै विश्वजगतका  विकसित राष्ट्रहरुको परिवेशमा बदल्न र बदलिँदो संसारसँग प्रतिस्पर्धामा जुधाउनका निम्ति आम नागरिक समाज, जनस्तर र राज्यकै कानूनी स्तरबाटै चासो राख्नुपर्छ । 

महिला अधिकारमा नयाँ आयाम भर्नको लागि विभिन्न खालका नवप्रवर्धनात्मक  कार्यमा जोड दिनुपर्छ । पहिलो र दोस्रो विश्वका मुलुकहरूका महिलाबर्गको जीवनशैलीसँग एकरुपता ल्याउन र छोटो समयमै अति विशिष्ट खालको प्रतिगामी पाइला ओगट्ने बनाउन आम राष्ट्रको शिक्षा नीति र संवैधानिक कानूनी एजेन्डाहरु सही र प्रभावकारी तरिकाबाट कार्यान्वयन गरेमा सम्पूर्ण नेपाली महिलाहरु ज्ञान, शिक्षा, अधिकार र रक्षाको उज्यालो ज्योतीबाट प्रभावित भइ विश्वजगतमा विविध विधाहरुमा अधिकांश नेपाली महिलाहरू लगायत विश्वजगतका महिलाहरुले अति उच्च कीर्तिमान कायम गर्न विलम्ब हुँदैन । 

हामी सवै सरोकारवालाहरु मिलिजुली जनस्तरबाट नै महिला र पुरुषबीचको लैङ्गिक र नीतिगत विभेद हटाऔं । मिलिजुली नयाँ संसार, शान्ति र उज्यालो भविश्यतर्फ लम्कियौँ । ‘लैङ्गिक विभेदको अन्त्यः समृद्धि समाजको पहिलो गन्तव्य’ भन्ने खालका नाराहरुलाई आत्मसात गर्दै हामी आम नागरिक समाज, जनस्तर, सरोकारवाला ब्यक्तिहरु र सिङ्गो राष्ट्रले नै त्यही र त्यस्तै खालका नाराहरुलाई पछ्याउँदै अगाडि बढ्न सक्यौं भने पक्कै पनि हामीले सफलताको गगन चुम्न सक्छौं । (लेखक राममणी बहुमुखी क्याम्पस मणिग्राम शिक्षा संकायका स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन्)
 



नयाँ