arrow

खपटे घुन र गवारोले केरा खेतीमा ठूलो क्षति

logo
रासस
प्रकाशित २०७८ फागुन २६ बिहिबार
banana kheti.jpg
फाइल तस्वीर

म्याग्दी । म्याग्दीका किसानले गरेको व्यावसायिक केरा खेतीमा दुई वर्ष अघिदेखि लागेको गवारो रोगको प्रकोप नियन्त्रणमा आउन नसक्दा केरा खेती गरेका किसानले हैरानी व्यहोर्न बाध्य भएका छन् । गत वर्षको चैत साउनमा पनि केरामा गवारो रोग लागेर कोसा लाग्ने बेलाका केराका बोट सुकेका थिए । 

गत साउनमा पनि खपटे घुन र गवारो रोगले क्षति पुर्‍याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका किसान चिन्तित बनेका बेनी नगरपालिका-२ खबराका किसान शोभित शर्मा सापकोटाले बताए । उनले लगाएका ६०० केराका बिरुवामध्ये ६० भन्दा बढी गवारो रोगका कारण मरेका छन् ।  

पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिका-२ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थाम डाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीमा कीरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका बेनी नगरपालिका-२ बगरफाँटका किसान वेदप्रसाद उपाध्यायले जानकारी दिए ।

केरा गाउँको रूपमा परिचय बनाएको बेनी नगरपालिका-२ बगरफाँट गाउँमा खपटे घुन र गवारो रोगले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन् । उनले सात रोपनी क्षेत्रफलको जग्गामा केरा खेती गरेका छन् । 

खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको किसान कार्कीले बताए । यहाँका किसानले धान फल्ने खेतमा केरा खेती सुरु गरेका हुन् ।

सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवारोले व्यावसायिक केरा खेतीमा ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ । बगरफाँट र  खबरामा मात्रै ४०० रोपनी क्षेत्रफलमा केरा खेती गरिएको छ ।केरा बेचेर खबरामा वार्षिक रु ५० लाख भन्दा बढी भित्रिने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ