arrow

प्रचण्ड आउने भएपछि प्रदेशसभा स्थगित, नारायणकाजी पनि साथमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
prachanda-narayankaji.jpg
तस्बिर– फाइल

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकर्ता प्रशिक्षणका लागि आज पोखरा आउँदैछन् । प्रचण्ड पोखरा आउने भएपछि सत्ता गठबन्धनको गण्डकी प्रदेशसभा स्थगित गरिएको छ । 

गण्डकीमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । उनी आउने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद् बैठक सोमबारका लागि सारिएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरूसहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ’, कानून मन्त्री विन्दुकुमार थापाले भने, ‘सहमतिमै १ दिनका लागि बैठक स्थगित गर्ने निर्णय भयो ।’

सोमबारको बैठकमा विशेष र शून्य समयको कार्यसूची राखिएको छ भने बालबालिकाको अधिकार सम्बन्धी विधेयक छलफल गरेर पास हुनेछ । यसबाहेक २ वटा विधेयक संसद्मा टेबुल हुने थापाले बताए । 

माओवादीले सभागृहमा प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण आयोजना गरेको छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि आउँदैछन् । एमसीसीको विषयलाई लिएर प्रचण्ड र नारायणकाजीबीच तिक्तता भए पनि अब भने त्यो विषय मिलिसकेको दाबी माओवादीले गरेको छ । 

एमससी संसदबाट पारित भएपछि नारायणकाजीले पार्टी छाड्नेसम्मको निर्णय लिन सक्ने अनुमान गरिएको थियो । तर माओवादी छाडेर गएका नेताहरु लाइमलाइटमा कमै देखिएकाले पनि नारायणकाजीले पार्टी छाडेर नयाँ संगठन बनाउन वा अन्य कसैसँग सहकार्य गर्न सक्ने जनाधार नभेटेको बताइन्छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्न देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायतका नेताहरू पनि आउँदैछन् । 

केही दिनअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा आएर आफ्नो शाख बढाएर गएका थिए । अब प्रचण्डले माओवादीको चुनावी रणनीति वैचारिक प्रशिक्षणमा दिएर जानेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ