arrow

नेपालको कम्युनिष्ट आन्दोलन र अबको यात्रा 

logo
 लोकनाथ पन्थी,
प्रकाशित २०७८ चैत १२ शनिबार
loknath-panthi-article1.jpg

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७२ वर्ष भयो । यसले यो अवधिमा थुप्रै आन्दोलनका आरोह र अवरोह पार गरेको छ । देशमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र प्राप्तिका लागि स्थापित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्षमा अहिले आउँदा कम्युनिष्ट टुक्रिएर साना साना विभाजन हुनु राम्रो होइन ।

केही दलले नामको अगाडि कम्युनिष्ट मात्र थप्ने तर कम्युनिष्टको सिद्धान्त नै देखिएको छैन । कम्युनिष्ट आन्दोलन जति वर्ष पुरानो हुँदै गयो प्रजातन्त्र वा लोकतन्त्र बलियो हुँदै जाला भन्दा झन् कमजोर हुँदै गएको छ । कम्युनिष्ट भनिनेहरूमा नै स्वार्थ, पदलोलुपता, अहंकारले जरो गाडेको देखिन्छ । यस्तो परिस्थितिमा पनि कम्युनिष्ट आन्दोलनबाट विचलित नभई दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र व्यक्तिवादविरुद्ध जुट्नु नै सर्वोपयुक्त विकल्प हो । वर्तमान परिस्थितिमा निराशालाई आशामा परिणत गरी देश र राष्ट्रियताको लागि जुट्न र संगठित हुने पार्टी एकीकृत समाजवादी बनेको छ । नेकपा एकीकृत समाजवादी अहिलेको नेपालको कम्युनिष्ट आन्दोलनको नीति र नेतृत्वको मूलधार हो । 

नेकपाको इतिहासलाई हेर्दा नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते (२२ अप्रिल १९४९) भारतको कोलकातास्थित श्याम बजारमा एक बङ्गालीको घरमा भएको हो । पुष्पलाल, नरबहादुर, निरन्जन, नारायण विलास र मोतीदेवी पाँच जनाले स्थापना गरेको पार्टी हो । राणाशासन, राजतन्त्र र पञ्चायती शासनविरुद्ध लड्दै आएको कम्युनिष्टको इतिहास रच्न धेरै नेपालीको योगदान रहेको छ । लामो सङ्घर्षको अथक परिणामस्वरुप २०७४ को स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा हाम्रै पुरानो दल नेकपा एमालेको नेतृत्वमा करिब दुई तिहाईको नेकपाको कम्युनिष्ट सरकार पनि बन्यो तर नेतृत्वको अहंकार र स्वेच्छाचारीले पार्टी मिलाउन नसक्दा नेतृत्वको असक्षमताले आफ्ना खुट्टामा आफै बन्चरो हानियो । 

अन्ततः तत्कालीन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई नै दुई–दुई पटकसम्म भङ्ग गरी संसदीय व्यवस्थालाई नै खतरामा पार्ने सम्मको खेल भयो । नेपाली जनताका आशा र सपनालाई तिलाञ्जली दिइ सत्ता र शक्तिको उन्मादमा लोकतान्त्रिक गणतन्त्रमाथि नै धावा बोल्नेसम्मको प्रयत्न गरियो । संविधानमै समाजवाद उन्मुख राज्यनिर्माण गर्ने सपना बोकी जनतालाई सुख, शान्ति र सुव्यवस्था दिनुको सट्टा व्यवस्था नै अन्त्य गर्ने परिस्थितिमा देश र लोकतन्त्रको रक्षार्थ पार्टीभित्रबाट नै विद्रोह गर्नु परेको यथार्थ हो । 

एमालेभित्र नै बसी पार्टीलाई जोगाउन धेरै प्रयत्न पनि नगरिएको होइन । तर अध्यक्षलाई देवत्वकरण गरी ‘बा’ को दर्जामा पुर्याइयो र विभाजनको विकल्प देखिएन । त्यसको परिणामस्वरुप नेकपा (एकीकृत समाजवादी ) बन्न पुगेको हो । अबको एमालेको विकल्प भनेको नेकपा एकीकृत समाजवादी नै हो । कानूनी रुपले एकीकृत समाजवादी नाम बनाइए तापनि यो दल पूर्व एमालेमा रहेका निष्ठावान कार्यकर्ताको संगठन हो । 

एमालेमा बढ्दै गएको व्यक्तिवादी अहंकारवाद, निरङ्कुश एवं स्वेच्छाचारी प्रवृति र चरम गुटबन्दीका विरुद्ध २०७८ भदौ २ गते एकीकृत समाजवादी पार्टी गठन गरिएको थियोे । यो पार्टी २०७८ भदौ ९ गते  निर्वाचन आयोगमा दर्ता भई प्रमाणपत्र पाइएको थियोे । अहिले कम्युनिष्टको सिद्धान्तलाई नेतृत्व गर्न एक मात्र दल यही समाजवादी पुनर्निर्माण गरिएको हो । 

अब ओलीको नेतृत्वमा रहेको एमालेमा कुनै किसिमको सैद्धान्तिक विचार नै छैन । केही क्षण हुल हुज्जत हुन सक्छ । वास्तवमा विचारभन्दा महान् केही हुन सक्दैन । हामी जस्ता सिद्धान्त र निष्ठाको राजनीति गर्ने कार्यकर्ताले हुल वा जमात भन्दा पनि विचारलाई अगाल्नु पर्छ । अहिलेको ओली कम्पनीको एमालेमा कुनै किसिमको विचार र सिद्धान्त नै छैन । पार्टीभित्र आन्तरिक लोकतन्त्रको अन्त्यका कारण झोले र टीके प्रणाली भित्रिएको छ । एमाले कम्युनिष्ट नबनी ओली एण्ड कम्पनी नै बनेको छ । 

केपी ओलीले आफ्नो गलत विचार र व्यवहारका कारण नेपाली जनता र  हामी जस्ता कम्युनिष्ट कार्यकर्ताको आशा र सपनालाई तुषारापात पारिदिए । ओलीले पार्टीलाई सही तरिकाले चलाउन नसकी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान र अग्रगामी उपलब्धिलाईसमेत उल्टाउने प्रयत्न गरे । ७२ वर्षको इतिहास बोकेको हाम्रो रगत र पसिना सिञ्चित पार्टीबाट अलग भइ बस्न नचाहँदा नचाहँदै पनि हामी पार्टीबाट अलग हुनु परेको हो । हामी एमालेमा रहेका सच्चा कार्यकर्ताबाट पुनर्निर्माण गरिएको पार्टीको नयाँ नामकरणमात्र गरिएको हो ।

हामीलाई आशा थियो नेकपा एमाले गरिब र दुःखी जनताको पार्टी बन्ला । फराकिलो सोचाइ बनाउला भन्दा झन् सामन्ती शैलीले निरङ्कुश ओली कम्पनीमा परिणत भयो । यस्तो किसिमको ओलीको कार्यशैलीलाई टुलुटुलु हेरेर बस्ने अवस्था नभएको हुँदा नयाँ दल खोल्नु परेको थियो । मदन भण्डारीले राजनीतिमा थकाइ भन्ने शब्दावली हुन्न भने झैं कम्युनिष्ट आन्दोलनलाई बचाउनको लागि फेरि एकपटक सशक्त रुपमा जुट्नु पर्ने बेला आएको छ । 

हाम्रो अहिलेको प्रमुख एजेन्डा भनेकै कम्युनिष्ट नामधारी दक्षिणपन्थी अवसरवादीलाई परास्त गर्नु  हो । सङ्घर्ष र आन्दोलनमा कहिलेकाहिँ थुप्रै चुनौती आउँछन् । इतिहासमा यस्ता थुप्रै पार्टीभित्र देखिने विखण्डनकारीलाई भोग्दै र झेल्दै आइएको पनि हो । शक्ति र सत्ताको चुरिफुरी एकछिन देखिएला । तर जित जहिले पनि विचारको नै हुन्छ । हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) ओली र ओली कम्पनीको स्वेच्छाचारी र अहंकारविरुद्ध स्थापित भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने पार्टी हो । अहिलेको परिस्थितिमा भन्दा ओलीको एमाले नामधारीको विकल्पमा अथवा ओली कम्पनीमा बस्न नसक्ने परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई निरन्तरता र अझै सशक्त बनाउन वैकल्पिक प्रमुख शक्तिको रुपमा एकीकृत समाजवादीलाई बनाउनु हाम्रो प्रमुख दायित्व हो ।

हामी अहिले संगठन विस्तारको अभियानमा छौँ । अहिले स्थानीय तहदेखि केन्द्रका विभिन्न भ्रातृ संस्थाको निर्माण गरिसकिएको छ । हाम्रो संगठन मजबुत हुँदैछ । आगामी आवधिक निर्वाचन नजिकै आउन लागेको सन्दर्भमा हाम्रो पार्टीले पनि  नेपालका हरेक वडादेखि सङ्घसम्म उम्मेदवार उठाउनको लागि तयारी गरिरहेको छ । यो निर्वाचन हाम्रो पार्टी जीवनको लागि एउटा महत्वपूर्ण परिघटना भएको हुनाले यसलाई अवसर र चुनौतीका रुपमा लिनुपर्छ ।

हामी कम्युनिष्टको लामो इतिहासमा जोडिएका र लोकप्रिय बनेको भए तापनि नेतृत्वको अहंकारले एउटै पार्टीमा रहने परिस्थिति रहेन र विद्रोह गरी नयाँ पार्टी खोल्नु परेकोले जनतासामु तत्काल भिजिन सकिएको छैन । यस निर्वाचनलाई  जनतामा भिजिनको लागि  अवसरको रुपमा लिनुपर्छ । यसको लागि जनताको घरघरमा पुगी ओली प्रवृत्तिको विरोध र खण्डन गरी पार्टी निर्माणको औचित्य स्थापित गर्नुछ । हाम्रो संगठन निर्माण हुँदै गरेको सवालमा हाम्रो प्रतिनिधित्व राम्रै हुने संकेत देखिएको पनि छ । हामी कत्ति पनि निराश हुनुपर्दैन । हामीले महान् विचार बोकेका छौँ । एकदिन जित अवश्य हुनेछ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा म पनि प्रत्यक्ष अप्रत्यक्ष जोडिएको करिब चार दशक हुन लाग्दा धेरै पटक यस्ता आरोह र  अवरोह, टुक्रिने र छुट्टिने, हट्ने र हटाउने भए । तर पनि नीति, सिद्धान्त र विचारको पक्षमा लागि नै रहेँ । बहुदलीय प्रजातन्त्र आउनुपूर्व अत्यन्तै जटिल परिस्थितिमा पनि आफ्नो घरपरिवार र पढाई नभनी पार्टीलाई बलियो र जीवन्तता दिने काममा आफ्नो बलबुँताले भ्याएसम्म लागेको थिएँ । आफूले आफैलाई प्रशंसा गर्न खोजेको होइन त्यो इतिहासमा  मूल्यांकन गरिने कुरा हो ।

कुरा यत्ति हो कसैले कम्युनिष्टको नाममा पदलोलुप र स्वार्थी बनी दक्षिणपन्थी र अवसरवादी बाटो अवलम्बन गर्न पुगे । गलत नेतृत्वलाई विश्वास गर्दा कम्युनिष्ट आन्दोलन धराशायी हुने अवस्थामा पुग्यो र आन्दोलनलाई जोगाउनको लागि अहिलेको विकल्पको रुपमा नेकपा (एकीकृत समाजवादी) गठन गर्नु परेको हो । अब कम्युनिष्टभित्र ओझेलमा परेका निष्ठावान र त्यागी कार्यकर्ता जोडिने एउटा माध्यम एकीकृत समाजवादी नै हुँदैछ । 

अब नयाँ अभियानसहित कम्युनिष्ट आन्दोलन शुरु गर्नुपर्छ तबमात्र नेपालमा कम्युनिष्ट जोगिन सक्छ । कम्युनिष्ट आन्दोलनलाई  इतिहासका पानामा मात्र  सीमित नगराउनको लागि यतिबेला हामी देशभक्त कम्युनिष्टहरू प्रतिबद्ध र कटिबद्ध भई जुट्ने बेला आएको छ । यो अप्ठेरो परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई जोगाउने र अगाडि बढाउने अभिभारा हाम्रै हो । त्यसको नेतृत्व नेकपा एकीकृत समाजवादीले गरेको छ ।

समाजवादी राज्य व्यवस्था निर्माण गर्ने दायित्व यस पार्टीको मूल नीति र सिद्धान्त रहेको छ । केही कम्युनिष्ट नामधारीले समाजमा थुप्रै भ्रमका खेतीहरू गरेकाले तिनीहरूको गलत क्रियाकलापलाई चिर्नु र नेपाल देश र नेपाली जनतालाई सुख, शान्ति र अमन चयन कायम गर्नु हाम्रो उद्देश्य हो । यसको लागि सम्पूर्ण प्रगतिशील देशभक्त नेपाली जुटौँ । (लेखक पन्थी नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी रुपन्देहीका सदस्य तथा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य हुन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ