arrow

पत्रकारका आँखा जाँच गरेर मनाइयो स्थापना दिवस

logo
राम धामी,
प्रकाशित २०७८ चैत १६ बुधबार
patrakar-aakha.PNG

डडेल्धुरा । पछिल्लो समयमा निकै सृजनशील र लोकप्रिय काम गरेर जिल्लामा क्रियाशील पत्रकारहरूको हक हित प्रवर्द्धनमा सक्रिय नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाले बुधबार सिर्जनात्मक रूपमा नेपाल पत्रकार महासङ्घको स्थापना दिवस मनाएको छ ।

नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा जिल्लामा क्रियाशील पत्रकारहरूको निःशुल्क आँखा जाँच र उपचार समेत गरिएको छ । नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाको आयोजनामा २४ जना क्रियाशील पत्रकारहरूले आँखा जाँच गरिएको छ भने सात जना पत्रकारहरूलाई निःशुल्क चस्मा र अन्य आँखाका बिरामी पत्रकारहरूको आँखाको उपचार गरिएको हो । 

नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाको भवनमा आयोजित आँखा जाँच तथा उपचार कार्यक्रमको ब्यानर पढेर महासङ्घका सुदूरपश्चिम प्रदेश समिति कोषाध्यक्ष राम धामीले उद्घाटन गरेका थिए । स्वास्थ्य कार्यालय डडेल्धुरा र अन्नपूर्ण अप्टिकल आँखा उपचार केन्द्रको सहयोगमा आँखा जाँच तथा उपचार कार्यक्रम सम्पन्न गरिएको नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाका अध्यक्ष हिकमतबहादुर सिंहले जानकारी दिए । 

नेपाल पत्रकार महासङ्घको आह्वानमा देशभर स्थापना दिवस मनाउने कार्यक्रमलाई थप प्रभावकारी बनाउन आँखा जाँच तथा उपचार शिविर सञ्चालन गरिएको उनले बताए । डडेल्धुरा जिल्लामा क्रियाशील पत्रकारहरूले महासङ्घ स्थापना दिवसका अवसरमा निकै सिर्जनात्मक कार्य भएको प्रतिक्रिया दिएका छन् । 

यसअघि कोरोना महामारीको सङ्क्रमण फैलिएका बेला नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाले विभिन्न दातृ निकाय र दाताहरूसँग सहकार्य गरेर जिल्लामा क्रियाशील पत्रकारहरूका लागि आइसोलेसन वार्ड तयार गरेको थियो । पत्रकारहरूको छाता सङ्गठन भएकाले नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको हक हित संरक्षणका साथै नागरिक आन्दोलनको अगुवा संस्थाका रूपमा उभ्याउन सफल भएको स्थानीय अगुवाहरू बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ