arrow

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री देउवाको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
nepal-t20-cricket-winner-2022-0404.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला जितेपछि नेपाली पक्रकेट टीमलाई बधाई दिएका छन् । सामाजिक संजालमार्फत देउवाले नेपाली टिमलाई बधाई दिएका हुन् । 

नेपालले सोमबार फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै उपाधि जितेको हो । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न फाइनलमा पपुवा न्यूगिनीलाई ५० रनले हराउँदै मलेसियासमेत सम्मिलित रहेको प्रतियोगिताको उपाधि नेपालले जितेको हो । 

ऐरीले यो खेलमा ३८ बलमा अविजित रहँदै ५४ रन बनाए भने १८ रन खर्चेर ४ विकेट लिए । विरलै हुने यो अलराउण्ड प्रदर्शनले उनले नेपाललाई सजिलै उपाधि दिलाएका हुन् । 

त्यसैगरी ऐरीले टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका छन् । सोमबार २१ रन थपेपछि उनले एक हजार रन पूरा गरेका थिए । एक हजार रन पूरा गर्ने उनी पहिलो नेपाली हुन् । 

त्यस्तै उनले ३८ खेलको ३४ इनिङ्सबाट एक हजार रन पूरा गरेसँगै चर्चित टी–२० का हस्तीहरु वेष्ट इन्डिजका क्रिस गेल, न्यूजिल्याण्डका केन विलियमसन र श्रीलंकाका कुशल परेराकोसमेत बराबरी गर्दै विश्वको दशौं स्थानमा रहन सफल भएका छन् । 

फाइनल खेलको नेपालको इनिङ्स

टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ६ विकेटको क्षतिमा १६८ रन बनायो । दिपेन्द्र सिंह ऐरीले ३८ बलमा अविजित रहँदै ५४ रन बनाए । 

त्यस्तै करण केसीले १२ बलमा अविजित रहँदै ३३ रन बनाए । आसिफ शेखले २९ बलमा २९ तथा कुशल भुर्तेलले २२ बलमा २५ रन बनाए । मोहम्मद आदिल आलमले १५ बलमा १५ रन बनाए । 
सेमो कामेअले ३ विकेट लिए । 

पीएनजीको इनिङ्स 
१६९ रनको चुनौती पछ्याएको पीएनजीले १६।१ ओभर क्रिजमा रहेर ११८ रन बनाएर अलआउट भयो । 

सेसे बाउले सर्वाधिक ५९ रन बनाए । उनले ३८ बलको सामना गरेका थिए । त्यस्तै चार्लस एमिनीले १५ रन बनाए । 

त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । तीन खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । 

नेपालका लागि अलराउण्ड प्रदर्शन गर्ने क्रममा दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । 

करण केसीले पनि अलराउण्ड खेल्दै ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले २५ रन खर्चेर २ विकेट लिए । एक खेलाडी रन आउट भए । 

समग्रमा श्रृंखला

योसँगै नेपालले सहजै उपाधि जितेको हो । नेपालले श्रृंखलामा खेलेका सबै पाँच खेल जितेर अपराजित यात्रा कायम राखेको छ । 

नेपालले फाइनलअघिको खेलमा चारै खेल जितेको थियो । सो क्रममा मलेसिय र पीएनजीलाई दुवै खेलमा हरायो । मलेसिया र पीएनजीले एक एक खेल जितेकामा रन रेटका आधारमा पीएनजीले उपाधिका लागि फाइनल खेल्ने अवसर पाएको थियो । 

यसअघि भएको एक दिवसीय श्रृंखलाका दुवै खेलमा पराजित भएर घरेलु मैदानमै आईसीसी वरीयतासमेत घटाएको नेपालले टी–२० श्रृंखला जित्दै पीएनजीमाथि बदला लिनसमेत सफल भएको छ । 

दिपेन्द्र प्लेयर अफ द सिरिज घोषित भएका छन् । दिपेन्द्रले ५ खेल खेल्दै एक शतकसहित कुल २ सय ५५ रन जोड्दा ७ विकेट लिएका थिए ।

करण केसी उत्कृष्ट बलर चुनिएका छन् । करणले ५ खेलमा १३ विकेट लिए ।

पीएनजी टोनी उरा उत्कृष्ट ब्याट्सम्यान चुनिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ