arrow

स्थानीय तह निर्वाचनमा बाजुरा पनि तात्तियो, कसको पल्ला भारी ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
local-level-election-2079.jpg

मार्तडी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी सरगमी बढेको छ । जिल्लाका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । गाउँगाउँ र टोलटोलमा गएर यहाँका राजनीतिक दलले जनतालाई मत माग्न थालेका छन् । 

पाँच वर्षको नेतृत्व लिनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ स्थानीय तहको पहिलो पार्टीका रुपमा रहेको नेपाली कांग्रेसले आठ पालिकासहित जिल्ला समन्वय समितिको नेतृत्व सम्हाल्ने गरी पार्टीको चुनाव प्रचारप्रसार थालेको छ भने २०७४ को स्थानीय निर्वाचनमा तीन पालिकामा हाल दुई पालिकामा नेतृत्व लिएको एमाले पनि आठ पालिकाको नेतृत्व लिने गरी चुनावी रणनीति बनाएर गाउँमा गएको छ । 

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भने पाँच दलीय सरकारमा भएकाले नेपाली कांग्रेससँग गठबन्धन गरेर जाने गरी छलफलमा जुटेका छन् । जिल्लाका नौवटै पालिकाका वडामा वडाध्यक्ष र पालिकासम्ममा उपप्रमुखको मागसहित नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्ने योजना बनाइएको छ । 

छ पालिका जितेको नेपाली कांग्रेस पनि स्वामीकार्तिक गाउँपालिका, गौमूल गाउँपालिका र जगन्नाथ गाउँपालिकामा कमजोर देखिएको छ । स्वामीकार्तिकमा तत्कालीन एमाले र हाल एकीकृत समाजवादीको सरकार रहेको छ भने अन्य दुई पालिकामा एमालेको सरकार छ । 

चार नगरपालिका र दुई गाउँपालिकासहित जिल्ला समन्वय समितिमा समेत नेपाली कांग्रेसको सरकार रहेको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा बूढीगङ्गा नगरपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा कांग्रेसको सरकार छ । 

गएको स्थानीय तहको निर्वाचनमा छ पालिका जितेको नेपाली कांग्रेसले सहमति र सहकार्य गर्दै वडा तथा पालिकामा सहमतिमा उम्मेदवार बनाउने गरी छलफलमा जुटेको नेपाली कांग्रेस बाजुराका पार्टी प्रवक्ता रमाकुमारी रावलले बताए । 

नौवटै पालिकाका वडामा वडाध्यक्षसहित दलित महिला गरी पाँच जनाको नाम सिफारिस गर्न र नगर तथा गाउँपालिकाबाट नगर प्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन पालिका सभापतिलाई दिइएको पार्टी प्रवक्ता रावलले जानकारी दिए । 

वडाध्यक्षदेखि नगर प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका आकांक्षी धेरै भए पनि उनीहरुलाई सहमति गराएर आसन्न स्थानीय तहको निर्वाचनमा जाने गरी पार्टी तयारीमा लागेको प्रवक्ता रावलको भनाइ छ । 

यसैगरी एमालेले पनि वडादेखि पालिकासम्म सहमतिमा सर्वसम्मत नगर वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष छनोट गर्न तयारी थालेको एमालेले जनाएको छ । 

वडादेखि पालिकासम्म उम्मेदवारका आकांक्षी धेरै देखिए पनि उनीहरुबीचको आपसी समझदारीमा सर्वसम्मत वडाध्यक्ष र पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष छनोट गरी चुनावी मैदानमा जाने एमालेले तयारी थालेको हो । एमालेले कतिपय स्थानीय तहका वडामा सर्वसम्मत वडाध्यक्षका उम्मेदवार छनोट गरिसकेको एमालेका उपाध्यक्ष भरत बुढाले बताए । 

कांग्रेसमा दुई महिलाको प्रमुखमा दाबी
निर्वाचनमा नेपाली कांग्रेसमा दुई जना महिलाले नगर प्रमुखमा दाबी गरेका छन् । सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाको प्रमुखका लागि हालकी नगर उपप्रमुख तथा नेपाली कांग्रेस महाधिवेश प्रतिनिधि कविताकुमारी बुढा (विष्ट)  र महासमिति सदस्य तथा महिला सङ्घ केन्द्रीय सदस्य जुना दानीले नगर प्रमुखका लागि उम्मेदवारी दाबी गरेको नेपाली कांग्रेस बडीमालिका नगर कार्यसमितिका सचिव नन्दलाल खड्काले बताए । 

नगर प्रमुखका लागि सात जनाको उम्मेदवारी दाबी परेको छ । तीमध्ये दुई महिलाले प्रमुुख पदका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए। उनका अनुसार नगरपालिकाको उप प्रमुखका  लागि छ महिलाले उम्मेदवारी दर्ता गराएको सचिव खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ