arrow

प्रचण्डको गठबन्धन बटमलाइन भरतपुरमा पुत्री रेणुलाई मेयर, अन्यथा जे पनि हुन सक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
prachanda-2078-11-30.jpg
तस्बिर– फाइल

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकालाई गठबन्धनको बटमलाइन बनाएका छन् । छोरी रेणु दाहाललाई मेयर बनाउन र आफ्नो निर्वाचन क्षेत्र रहेकाले भरतपुर महानगरपालिकालाई बटमलाइन बनाएका हुन् । ‘गठबन्धनको बैठकमा माओवादी केन्द्रले निर्वाचन जितेको र एस पार्टीमा रहेका मेयर उपमेयरलाई टिकट दिने वा सहयोग गर्ने गरी प्रस्ताव आएपछि प्रचण्डको त्यो नियत देखिएको हो’, गठबन्धन बैठकमा सहभागी रहेका एक नेताले भने ।  

गठबन्धनमा बनाउन मूख्य भूमिका खेलेका माधवकुमार नेपालले कम्तीमा एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकाको मेयर पदमा दाबी गरिरहेका छन् । माओवादीले भरतपुरसहित कम्तीमा दुई वटा महानगरपालिका दाबी गरिरहेको छ । तर भरतपुर चाहिँ माओवादीले नछाड्ने अवस्थामा पुगेको छ । माओवादीका नेताहरुले पनि त्यसलाई प्रतिष्ठाको विषय बनाएका छन् । 

भरतपुरमा माओवादी केन्द्र, विराटनगरमा नेपाली कांगेस, वीरगञ्जमा जनता समाजवादी पार्टी जसपा, ललितपुर र काठमाडौं महानगरपालिकामा कांग्रेस र पोखरामा नेकपा एस पार्टीको भागबण्डा गर्ने गरी माओवादी केन्द्रको प्रस्ताव पास भएको थियो । 

ती महानगरपालिकामा एमालेको कडा टक्कर हुने भएकाले गठबन्धनलाई संकट पर्नसक्ने अवस्थामा भने मत चुहिन सक्ने संभावना पनि उत्तिकै रहेको छ । भरतपुर महानगरपालिकामा कांग्रेस  स्थानीय नेताहरुले सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएका छन् । पोखरा महानगरपालिकाका नेताहरु पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर गुनासो गरेका छन् । उनीहरुले पोखरा महानगरपालिका गठबन्धनबाट भन्दा एकल उम्मेदवार दिएमा कांग्रेसले चुनाव जित्ने भएकाले पोखरा महानगरपालिका नछोड्न आग्रह गरिसकेका छन् । 

नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकालाई बटमलाइन बनाएको देखिन्छ । जबकि त्यो यसपल्ट कांग्रेसको सबैभन्दा राम्रो मत भएको नगरपालिका हो । त्यहाँ कांग्रेसका जिल्ला नेता उपेन्द्र कार्की लगायतको टिमले नगरपालिका मेयर नछाड्ने जनाएको छ । 

नेकपा एस पार्टीमा रहेका वर्तमान मेयर कृष्णहरि थापालाई गठबन्धनबाट जसरी पनि टिकट दिनुपर्ने भएपछि काठमाडौमा विवाद देखिएको छ । थापासँग कार्की थोरै मतले मात्रै पराजित भएका थिए । थापा र कार्कीबीचको सम्बन्ध पनि राम्रो नभएपछि गठबन्धनमा समस्या देखिएको छ । 

गान्धी स्कूलको विवाददेखि, नगरपालिकामा भएको भ्रष्टाचारको विषयमा गरिएको आन्दोलनसम्मको कार्यक्रमले कांग्रेस नेताहरुसँग मेयर थापाको सम्बन्ध बिग्रेको छ । 

कांग्रेसले एस पार्टीलाई शंकरापुर नगरपालिका लिन सुझाव दिइसकेको छ । यद्यपि माधव नेपाललाई साथ दिएका थापालाई जसरी पनि अर्को पटक मेयर बनाउनुपर्ने अडानमा नेपाल रहेका छन् । 

काठमाडौं महानगरपालिकामा नेकपा एसले उपमेयर पाउनु पर्ने दाबी गरेको छ । जहाँ कांग्रेसले मेयर लिएमा उपमेयरमा दाबी गरेको हो । तर कागेश्वरी मनोहरामा समस्या भए एस पार्टीका लागि घातक हुने अवस्था छ । उता पोखरामा पनि कांग्रेस नेताहरुले डालोबाट मानोमा भोट खसाल्नु पर्ने अवस्था आउँदा धेरैतिर चुहिने भएकाले कांग्रेसले नै पोखराको दाबी नछाड्नु पर्ने दबाब दिएका हुन् ।

काठमाडौंं महानगपालिकामा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा कांग्रेसले कुनै निर्णय गरेको छैन । नेकपा एमाले जितेका स्थानीय तहमध्ये माओवादी र एस पार्टीले मिलेर भागबण्डा गर्दा कांग्रेसका स्थानीय नेताहरु आपत्ति जनाएका छन् । 

तर गठबन्धनका नेताहरुले केन्द्रबाट भागबण्डा तय गरिरहेका छन् । वीरगञ्जमा भने कुनै पनि पार्टीले अहिलेसम्म दाबी गरेका छैनन् । विगतमा जसपाले मेयर र कांग्रेसले उपमेयर जितेको थियो । 

काठमाडौं महानगरपालिकामा एमालेले मेयर र उपमेयर कांग्रेसले जितेको थियो । भरतपुरमा माओवादीले मेयर र कांग्रेसबाट उपमेयर जितेको थियो । यसपटक भरतपुरमा कांग्रेसले मेयरमा दावी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ