arrow

अयोग्य भन्दै प्रश्न उठेका ३ सरकारी डाक्टर मन्त्रालय तानिए, एकको जागिर चैट

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
doctor-banner.jpg.jpeg
काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरी सरकारी डाक्टर बनेका तीन जनालाई स्वास्थ्य मन्त्रालयले केन्द्रमा तानेको छ । 
 
नक्कली शैक्षिक प्रमाण–प्रत्रका आधारमा सरकारी सेवामा प्रवेश गरेको भनि प्रश्न उठेका लुम्बिनी अंचल अस्पताल बुटवलका डाक्टर सुनिल आचार्य, नारायणीका सरोज कुमार सिँह र पन्नालाल पटेल मन्त्रालय तानिएको स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले जानकारी दिए । 
 
आचार्य र सिँह लोकसेवा आयोगको परिक्षा पास गर्दै स्थायी भएका हुन् भने पटेल विकास समितिबाट स्थायी भएका थिए । यस्तै, करारमा रहेका नारायणीकै कुश कुमार गिरीको भने जागिर गएको छ । उनलाई सेवाबाट हटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी विकास समिति अन्तर्गत करार सेवामा थिए ।
 
केही दिन अघि नक्कली डाक्टरले फेरि सेवा दिन थाले भन्दै खबर सार्वजनिक भएपछि मन्त्रालयले बाध्य भएर उनीहरुलाई मन्त्रालय तानेको हो । प्रहरीले नक्कली प्रमाणपत्र भेट्टाएका चार जना मध्ये तीन स्थायी भएकाले मन्त्रालय तानिए पनि करारमा रहेका एक जना सेवाबाट हटाइए । 
 
सचिव उप्रेतीले हाम्राकुरासंग भने, ‘जो जसमाथि प्रश्न उठेको थियो उहाँहरुलाई मन्त्रालय बोलाइएको हो । यो प्रधानमन्त्रीले निर्देशन दिएपछि बोलाइएको भन्ने कुरा होइन । हामीले आफ्नो काम गरेका हौं ।’ 
 
यस्तै, निजी स्वास्थ्य संस्थामा रहेका नक्कली प्रमाणपत्र धारी डाक्टरहरुको लागि भने नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरी लाइसेन्स निलम्बन गर्न निर्देशन दिइएको छ । 
 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल मेडिकल काउन्सिलको सहयोग लिई  संचालन गरेको ‘क्वाक’ अपरेशनका क्रममा नक्कली प्रमाणपत्रधारी ३७ जना चिकित्सक एकै पटक पक्राउ परेका थिए । 
 
प्रहरीले उनीहरुविरुद्ध सम्बन्धित जिल्ला अदालतमा मुद्दा चलाएको छ । उनीहरुलाई कार्वाही प्रकृया अगाडी बढाउन नेपाल मेडिकल काउन्सिलले पहल नगरेपछि मुद्दा चलिरहेकै बेला उनीहरु काममा फर्किएका थिए । नक्कली भनिएका डाक्टरहरु काममा फर्किएको चर्चा आएपछि प्रधानमन्त्री पुष्प कमल दाहालले समेत अयोग्य चिकित्सकलाई सेवामा जान नदिन निर्देशन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ