वन अधिकृतसहित आधा दर्जनविरुद्ध रकम हिनामिना गरेको आरोपमा अख्तियारको उजुरी
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
688
Shares
तस्बिर– फाइल
सुर्खेत । मुगुको सोरु गाउँपालिका १ जवलधारादेखि काछसम्मको पदमार्ग निर्माण नै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
पदमार्ग निर्माणनै नगरे पनि बिल बनाएर आठ लाख ८७ हजार ६ रुपैयाँ अनियमितता गरेको आरोपमा ६ जनामाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले डिभिजन वन कार्यालय मुगुका अधिकृत भरतबहादुर बुढथापा, सब–इन्जिनियर गोरसिंह बढुवाल, असिस्टेन्ट सब–इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव बिसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीमाथि मुद्दा दायर गरेको हो ।
बढी मुल्यांकन गरी झुठ्ठा बिल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मुगु सोरु गाउँपालिका १ को काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माणको लागि डिभिजन वन कार्यालय, मुगुबाट आर्थिक वर्ष २०७५–०७६ मा विनियोजित रकमबाट उक्त कार्य गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरेअनुसार काम नगरी, भएको कामभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा काम नगरी बढी रकम भुक्तानी लिनेदिने काम गरी रकम हिनामिना गरी सरकारी वा सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी पुर्याइएको हुँदा मुद्दा दायर गरिएको आयोग जनाएको छ ।