arrow

आदर्श गाउँपालिकामा एमालेको गुम्यो विरासत, कांग्रेस उम्मेदवार विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
aadarsa-palika.JPG

डोटी । आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको हो ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गणेश बहादुर खड्का विजयी भएका छन् । खड्का ३ हजार ७ सय ७३ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डम्बर ओलीले ३ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) उम्मेदवार योगेन्द्र बहादुर खड्काले ९ सय ७ मत मात्रै प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तारा प्रसाद ओझा १ सय ३६ मतमा सीमित रहे । 

विजयी खड्का नेपाली कांग्रेसका जिल्ला सचिव र निवर्तमान नेविसंघका अध्यक्ष हुन् ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मी धामी (रोकाया) ३ हजार ६ सय ७४ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार जानकी खड्काले ३ हजार ३ सय ८९ मत प्राप्त गरे ।

नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रमेश विष्टले ३ सय ३३ मत मात्रै प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कविता साउदले एक सय ७२ मत प्राप्त गरे ।

उपाध्यक्षमा विजयी भएकी लक्ष्मी नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वटा वडाहरू रहेको आदर्श गाउँपालिकामा ४ वडामा कांग्रेस र ३ वडामा एमाले विजयी भएको छ । वडा नम्बर १ मा कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन् । वडा नम्बर २ मा एमाले उम्मेदवार रमेश साउद र वडा नम्बर ३ मा एमालेकै वीरेन्द्र प्रसाद पाठक विजयी भएका छन् ।

त्यस्तै वडा नम्बर ४ मा कांग्रेस उम्मेदवार राजेन्द्र ओझा, वडा नं. ५ मा कांग्रेसकै उत्तम बहादुर सिंह विजयी भएका छन् । वडा नं. ६ मा एमाले उम्मेदवार लाल बहादुर खडायत र वडा नम्बर ७ मा कांग्रेस उम्मेदवार लाल बहादुर विष्ट विजयी भएको निर्वाचन अधिकृत दुर्गादत्त विष्टले जानकारी दिए।

२०७४ को निर्वाचनमा आदर्श गाउँपालिकामा ६ वटा वडा सहित नेकपा एमाले विजयी भएको थियो भने कांग्रेसले एउटा वडा मात्रै जितेको थियो । आदर्श गाउँपालिका नेकपा (एमाले)का जिल्ला अध्यक्ष चक्र मल्ल र नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्र सिंहको गृह पालिका हो ।

एमालेको गढका रूपमा चिनिने उक्त गाउँपालिकामा कांग्रेसले ४ वटा वडा सहित अध्यक्ष उपाध्यक्ष जितेपछि एमालेको विरासत गुमेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ